२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

महाधिवेशन प्रतिनिधि छान्ने विषयले एमालेमा विवाद

फाइल तस्बिर

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा बाँके जिल्लामा प्रतिनिधि छनोट प्रक्रियाका कारण आन्तरिक विवाद चुलिएको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रक्रियाबिनै मनलाग्दी आफूखुसी प्रतिनिधि चयन भएपछि नेकपा एमाले बाँकेमा विवाद चुलिएको हो ।

यहाँका तीनवटै निर्वाचन क्षेत्रबाट १५ जना प्रतिनिधि सर्वसम्मतको नाममा चयन भएका छन् । बाँके क्षेत्र नम्बर १ बाट वसन्ती अधिकारी, सुधा थारु, बलराम भट्टराई, कुस्माखर बस्याल र खेमराज शर्मा प्रतिनिधि बनेका छन् । क्षेत्र नम्बर २ बाट निरक गुरुङ, हलिम शाह, हिरा खरेल र मोहित शाह तथा क्षेत्र नम्बर ३ बाट मानबहादुर रुचाल, रत्न खत्री, एकमाया बिक, भूमिसरा धिताल र बिमल मल्ल चयन भएका छन् ।  

यी सबै प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको लाइनका मानिन्छन् भने विद्यादेवी भण्डारी–इश्वर पोखरेल समूहमा पर्ने नेताहरू यसपटक पूर्णतः बाहिरिएको असन्तुष्ट समूहको आरोप छ । बाँकेमा एमालेभित्र लामो समयदेखि चल्दै आएको दुई धारको प्रतिस्पर्धा महाधिवेशन प्रतिनिधि छनोटसँगै फेरि सतहमा आएको देखिन्छ ।

प्रतिनिधि छनोटलाई पूर्णरूपमा मनोमानी भएको आरोप नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान अध्यक्ष दत्तप्रसाद आचार्यले लगाएका छन् । उनको निर्वाचन क्षेत्र नम्बर २ हो ।  

‘प्रक्रिया पूरा नगरि आफूले चाहेको व्यक्तिलाई चयन गरिएको छ,’ उनले भने, ‘यो त संगठित सदस्यको अधिकार हनन हो ।’ पार्टीको सर्कुलर अनुसार महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्नेमा त्यसो नगरि एकलौटी ढंगले चयन भएको उनी बताउँछन् । उनका अनुसार यस विषयमा पार्टीमा निवेदनसमेत परिसकेको छ । अहिले बाँके विवादको सूचीमा छ ।

असन्तुष्ट केवल आचार्य मात्र छैनन् । अर्का नेता अशोक कर्माचार्यले पनि ‘संगठित सदस्यहरूको सार्वभौम अधिकार खोसिएको’ भन्दै सार्वजनिकरूपमा आपत्ति जनाएका छन् । उनका अनुसार प्रतिनिधि छनोट प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण चरण सदस्यहरूले मतदान गर्न पाउने अधिकार निषेध गरियो ।  

‘निर्वाचन प्रक्रिया प्रारम्भ नै नगरी सार्वभौम सदस्यहरूको अधिकारलाई जबर्जस्ती खोस्यौँ भने त्यो महाधिवेशन प्रतिनिधि कसरी वैधानिक हुन्छ ?,’ उनले प्रश्न उठाए ।

कर्माचार्यले केन्द्रले जारी गरेको निर्देशिका ‘सर्कुलर’ मा नै स्पष्टरूपमा निर्वाचनको समय, विधि र पूर्वतयारी उल्लेख भए पनि बाँकेमा नेतृत्वले मनलाग्दी ढंगले प्रतिनिधि छानेको आरोप दोहोर्‍याए । ‘प्रक्रिया सुरु गर्ने भनिएरै केन्द्रबाट सर्कुलर आयो, तर यहाँ प्रक्रिया सुरु नै भएन । तर एक दिनमै सूची टाँसियो । यसरी कसरी हुन्छ प्रतिनिधि छनोट ?,’ उनले भने ।

यस्तो आरोपसँगै बाँकेमा एउटा तथ्य अझै चर्चामा छ, प्रतिनिधि सूचीमा परेका धेरै नाम नेतृत्वको एउटै लाइनबाट आएको । जिल्ला अध्यक्ष निरक गुरुङ र डिल्ली विसीबीच यसअघि नेतृत्व चयनमा ठूलो प्रतिस्पर्धा भए पनि प्रतिनिधि छान्ने बेला भने ‘एकै धार’ भएर सूची बनाएको आरोप असन्तुष्ट पक्षले लगाइरहेको छ ।  

विसी अध्यक्षमा गुरुङसँग पराजित भएकैले यो नयाँ समीकरण दुवै पक्षका कार्यकर्तालाई आश्चर्यजनक लागेको बताइन्छ । त्यस्तै यहाँका केन्द्रीय सदस्यले समेत चलखेल गरेको आरोप लागेको छ ।

यता जिल्ला सचिव रत्न खत्रीले इच्छुक सदस्यहरुको अनुरुपनै विधि, प्रक्रियाअनुसार महाधिवेशन प्रतिनिधि छनोट भएको बताए । ‘हामी  विधिभन्दा बाहिर छैनौं,’ उनले भने, ‘निर्वाचन समन्वय समिति थियो । उसले गरेको निर्णय मान्ने पार्टी सदस्यको कुरा थियो । यो समितिले निर्णय गर्‍यो । कुरा यतिनै हो ।’ महाधिवेशन प्रतिनिधिमा म भए ठीक अरु भए बेठिन भन्ने सोचले गर्दा गुनासो आएको बताउँदै उनले भने, ‘यस्तो भावना बोक्न हुँदैन ।’  

जिल्लाबाट सबै महाधिवेशन प्रतिनिधिले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई त मत हाल्ने घोषित कुरा भएको दाबी गरे । ‘बाँकेमा जति पार्टी सदस्य हुनुहुन्छ । उहाँहरु सबैले अध्यक्ष ओलीलाई भोट हाल्नुहुन्छ,’ उनले भने, ‘छानिएकाले नहाल्ने भन्ने हुँदैन ।’

यता केन्द्रीय प्रतिनिधि जीवन गौतम, केन्द्रीय सदस्य सूर्य ढकाल, जिल्ला अध्यक्ष निरक गुरुङ सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । आलोचनाबाट बच्नलाई उनीहरु सम्पर्कमा नआएको हुन सक्ने आँकलन गरिएको छ ।

 

प्रकाशित: १४ मंसिर २०८२ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App