पार्टी सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुर्नस्थापनाका लागि अदालत गएका समय कांग्रेस कपिलवस्तु भने उम्मेदवार छनौटमा व्यस्त देखिएको छ ।
पार्टीको जिल्ला कार्यसमितिले मंसिर २३ भित्र क्षेत्रीय समितिले जिल्ला समितिमा र जिल्ला कार्य समितिले मंसिर २६ भित्र पार्टीको प्रदेश कार्य समितिमा नामावली पठाउने निर्णय गरेको छ । सोही अनुसार कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिको तौलिहवास्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, विक्रमसिंह थापा, गोपीकृष्ण शर्मा र रविन्द्र नाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरेको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए । समानुपातिकतर्फ मीना केसी, रिना नेपाल, माया ज्ञवाली र फागुप्रसाद धोबीको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यतर्फ जवाहरलाल थारु, रेश्मिराज अधिकारी र दीपेन्द्र नाथ शुक्लाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रेष्ठले बताए ।
क्षेत्रीय समितिले सिफारिस गरिएको नाम जिल्ला र प्रदेश समितिलाई पठाइने क्षेत्रीय सभापति श्रेष्ठले बताए । उता निर्वाचन क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले प्रत्यक्षतर्फ वीरेन्द्र कुमार कनौडिया तथा समानुपातिकतर्फ मधेसी कोटामा ब्रह्मानन्द उपाध्याय, मुस्लिम कोटामा अखिल मिया तथा जनजाति कोटामा तारा चौधरीको नाम जिल्ला कार्यसमितिमा पठाउने निर्णय भएको क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले बताए ।
गत निर्वाचनमा झिनो मतले पराजित भएका कांग्रेस नेता अभिषेक प्रताप शाहको नाम क्षेत्रीय समितिले सिफारिस नगरे पछि तरंग फैलिएको छ । सो निर्णयपछि नेता शाहले सामाजिक सञ्जालमार्फत् असनतुष्टी जनाएका छन् । क्षेत्र नम्बर १ मा भने अझैसम्म नामको टुंगो नलागेको क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले बताए । नामका लागि छलफल कार्य जारी रहेको र बुधवारसम्म जिल्ला कार्य समितिमा नामावली पठाईने उनले बताए ।
सो क्षेत्रमा प्रत्यक्ष तर्फ कांग्रेस नेता अतहर कमाल र शाषिष शर्माको नामा चर्चामा छ । क्षेत्रीय समितिबाट आएको नामलाई प्रदेशमा पठाईने पार्टी जिल्ला सभापति सभापति अब्दुल कलामले बताए । सिफारिस गरिएका नाममध्ये ८० प्रतिशतभन्दा बढी पाका उमेरका छन् ।
प्रकाशित: २३ मंसिर २०८२ १८:२८ मंगलबार





