२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ।

कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेलगायत शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि आगामी जेठ २८ गतेसम्मको समयलाई अन्तिम म्याद (डेडलाइन) तोकेको छ। बैठकले १५औँ महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म सात लाख ८२ हजार २०९ जना योग्य क्रियाशील सदस्यमध्ये चार लाख १७ हजार ७५३ जना आबद्ध भइसकेको र ९८ हजार १४३ जना अद्यावधिक प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ।

कांग्रेसले पार्टी अनुशासनविपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ। पार्टीको कारबाहीमा परेका, अन्य दलमा प्रवेश गरेका, बागी उम्मेदवारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाटै हटाइने निर्णय बैठकले गरेको हो।

यस्तै, कसैले अनधिकृत रूपमा अरूको सदस्यता अद्यावधिक गरेको पाइएमा छानबिन गरी त्यस्तो सदस्यता बदर गरिने बताइएको छ। पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेश कार्यसमिति, जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका पदाधिकारीका साथै सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई जेठ २७ गतेभित्रै अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्न निर्देशनसमेत बैठकले दिइएको छ।

साथै, इन्टरनेटको पहुँच कम भएका हिमाली तथा उच्च पहाडी जिल्लाको हकमा भने जिल्लाबाट तहगत सिफारिसका आधारमा विवरण मगाइ अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जनाएको छ। बैठकले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई पनि विधानबमोजिम निर्वाध रूपमा अघि बढाउन पार्टीका सबै तहलाई निर्देशन दिएको छ।

नयाँ सदस्यताका लागि अनलाइन फाराम भरी वडा र क्षेत्रबाट सिफारिस भएर आउनुपर्ने प्रक्रिया तोकिएको कांग्रेसले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८३ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App