राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता रवि किरण हमालले नयाँ पुस्ता (जेनजी) ले गरेको आन्दोलनलाई मुख्य राजनीतिक दलहरूले अपराधीकरण गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा राप्रपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै हमालले भदौ २३ र २४ गते युवाहरूले गरेको स्वतः स्फूर्त विद्रोहलाई दबाउन राज्य र ठूला दलहरू षड्यन्त्रपूर्वक लागेको बताए।
उनले उक्त आन्दोलन र युवाहरूको भावनाको स्वामित्व अब राप्रपाले लिने घोषणा समेत गरे।
सम्बोधनका क्रममा भने, ‘नयाँ संविधान र राजनीतिक व्यवस्थाले मुलुकमा स्थिरता र सुशासन दिन्छ भन्ने संकल्प धर्मराउँदै गएको छ। देश कठिन मोडमा पुगेका बेला सुशासनको माग गर्दै सडकमा आएका युवाहरूको विद्रोहलाई अपराधीकरण गर्ने दुस्साहस गरिँदैछ।’
उनले मुख्य राजनीतिक दल र सिंगो समाजको भाष्य नै युवा विद्रोहलाई अपराध करार गर्नेतर्फ केन्द्रित भएको भन्दै आपत्ति जनाए।
‘परिवर्तनको पक्षमा लडेका युवालाई अपराधीकरण गर्ने दिशामा दलहरू गएको बेला राप्रपाले यो विद्रोहको अपनत्व लिन्छ,’ हमालले भने।
नेता हमालले नेपालको अहिलेको राजनीतिक परिवेशमा नयाँ पुस्ताको मुद्दा र भावनालाई सम्बोधन गर्न सक्ने एकमात्र शक्ति राप्रपा भएको दाबी गरे।
उनले विद्रोही पुस्ताले उठाएका मुद्दाहरूलाई संस्थागत गर्न र देशलाई निकास दिनका लागि राप्रपामा गोलबद्ध हुन सम्पूर्ण नयाँ पुस्तालाई अपिल समेत गरे।
प्रकाशित: २३ मंसिर २०८२ १६:१५ मंगलबार





-600x400.jpg)