८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई पटक प्रतिस्पर्धा गरेका उम्मेदवार नै अहिले एकार्काको सारथी

पहिलेका प्रतिस्पर्धी अहिलेका सहयात्री काँग्रेसका खड्का र माओवादीका किराती तस्विरः महेश्वर

‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन’ भन्ने नेपाली उखान आसन्न चुनावमा उदयपुरमा चरितार्थ भएको छ। यसअघि २ पटक एउटै निर्वाचन क्षेत्रमा फरकफरक दलबाट प्रतिनिधिसभामा पौंठेजोरी खेलेका दुई नेताहरु अहिले एकार्काको सहयात्री र सारथी बनेर उक्त उखान चरितार्थ गरेका हुन्।  

आसन्न मंसिर ४ गते हुने चुनावमा उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका नेपाली काँग्रेसका डा. नारायण खड्कासँग कुम जोडेर सोही क्षेत्रको प्रदेश (क) मा उम्मेदवार बनेका छन् नेकपा (माओबादी केन्द्र)का राजन किराती (बासु)। खड्का पार्टीको केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री हुन् भने किराती माओवादीका प्रदेश १ कमिटी सदस्य। दुवै उम्मेदवार अहिले एकल र सामूहिक चुनावी प्रचार अभियानमा गाउँ, बस्ती र घरदैलोसम्म पुगेर संयुक्त मत माग्न व्यस्त छन्।

खड्का र किराती गएको ०६४ को संविधानसभा चुनावमा परस्पर प्रतिस्पर्धी थिए। त्यसबेला ३ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरको १ मा खड्काद्वारा किराती पराजित भए भने २ र ३ मा क्रमशः माओबादीकै मणि खम्बु (रिवासी) र मोहन खत्री (दिपक) विजयी भएका थिए। ०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा पनि खड्का र किराती आमने–सामने भए। र, त्यसबेला पनि खड्काले किरातीलाई पराजित गरे। २ मा एमालेकी मञ्जुकुमारी चौधरी र ३ मा काँग्रेसकै नारायण कार्की जिते।  

स्थानीय पुर्नसंरचनापछि ०७४ मा भएको संघीय चुनावमा डा. खड्का पुनः उम्मेदवार भएर विजयी भए। तत्कालीन एमाले र माओवादीबीच भएको गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीलाई पराजित गर्दै डा. खड्काले त्यो बेला तेस्रो जित अर्थात ‘ह्याट्रिक’ गरेका थिए।  

अहिले परिस्थिति बद्लिएको छ। ०७४ को चुनावमा गठबन्धन गरेर बनेको नेकपाले ल्याएको दुईतिहाई नजिकको बहुमत सरकारमा शक्तिशाली प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओलीले २/२ पटक संसद विघटन भएपछि माओबादी र काँग्रेस नजिकिन पुगे। ओलीको तानाशाहीपन र संविधानविरोधी घमण्ड चुर गर्न भन्दै दाहालले काँग्रेस नेतृत्वको सरकार स्वीकार्ने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पुगे। त्यो बेलादेखि उनलाई सहयोग गर्दै आएको गठबन्धनले अहिलेको प्रदेश तथा प्रतिनिधिसभा चुनावसम्म ल्याइपुर्‍याएको छ।  

जस अनुसार देशव्यापी काँग्रेस माओवादी गठबन्धनकै कारण यसअघि २ पटकको चुनावमा चर्का प्रतिस्पर्धी खड्का र किरातीको सहयात्रा संभव भएको हो। ‘सहयात्रा मात्र होइन, दुवैजना चुनाव जित्ने गरी प्रचार अभियानमा लाग्नु भएको छ’ नेपाली काँग्रेस १ नं. संघीय कार्यसमिति सभापति खगेन्द्र राई (काजी) भन्छन् ‘दुवैजनाले चुनाव जित्नैपर्छ, यो पटक गठबन्धनलाई हार्ने छुट छैन।’  

काँग्रेस प्रदेश १ (ख) का सभापति सरोज बस्नेतले चुनावी मैदानमा एकाकार भएर होमिएका खड्का र किरातीको मतदाता रिझाउने अभियानलाई सार्थक बनाउन गठबन्धनको तर्फबाट सक्दो सहयोग भइरहेको बताए। उनका अनुसार गठबन्धनबाट संघमा खड्कासँगै (क) मा किराती तथा (ख) मा काँग्रेसकै जिल्ला सभापतिसमेत हिमाल कार्की तीनै जनाको जित सुनिश्चित भइसकेको छ। ‘गठबन्धनको मत एमालेभन्दा झण्डै १८ हजार बढी हुनुले पनि जित सुनिश्चित भइसकेको छ’ उनले भने ‘तै पनि आफ्ना उम्मेदवारलाई फराकिलो मतान्तरले विजयी गराउन हामी भएको मतको रक्षा गर्दै थप मत प्राप्तीका लागि अहोरात्र खटिरहेका छौँ।’  

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका गरी ३ नगरपालिका समेटिएको उदयपुर १ मा १ लाख ३५ हजार ३ सय १५ मतदाता छन्। जसमध्ये आउँदो चुनावमा ७५ हजार हाराहारी मत खस्ने आँकलन गरिएको छ। स्थानीय तह चुनावमा त्रियुगा र बेलका नगरपालिकामा मेयरसहित बहुमत वडाध्यक्ष काँग्रेसले जितेको छ र चौदण्डीगढीमा ९ सय मतान्तरले पराजित भएकाले पनि एमालेभन्दा गठबन्धन धेरै मजबुत छ।

स्थानीय तह चुनावमा गठबन्धन दलहरुबीच कुरा नमिलेपछि त्रियुगा र चौदण्डीगढीमा काँग्रेस एक्लै लडेको थियो। बेलकामा भने माओवादी र एकीकृत समाजबादीसँग गठबन्धन भएको थियो। यसअघि ३ पटक जितिसकेको र बहालवाला मन्त्रीसमेत रहेकाले पनि डा. खड्कालाई चुनाव जित्न सहज भएको संघीय क्षेत्र सभापति राई बताउँछन्। उता प्रदेशसभा उम्मेदवारहरु किराती पहिला दुईपटक पराजित भईसकेकाले सहानुभूतिको मतसमेत पर्ने अनुमान गठबन्धनले गरेको छ। ख का उम्मेदवार कार्की प्रदेश १ का बहालवाला मन्त्रीसमेत रहेकाले चुनाव जित्न थप सहज छ। यता एमालेबाट डा. खड्कासँग संघमा पहिलेकै उम्मेदवार मञ्जुकुमारी चौधरी तथा प्रदेशमा किराती र कार्कीसँग क्रमशः कुशलबाबु बस्नेत र इश्वरमणि राउतले पौँठेजोरी खेल्दैछन्।  

प्रकाशित: १ मंसिर २०७९ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App