coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिले सहकर्मी, अहिले मुख्य प्रतिस्पर्धी

२०७४ सालको निर्वाचनमा कपिलवस्तु १ मा तत्कालीन नेकपाबाट चक्रपाणि खनाल (बलदेव) उठेका थिए। उनका सहकर्मी र पार्टीको साझेदारका रूपमा बलराम अधिकारीले सघाएका थिए। तर अहिले पहिले ती सहकर्मीका रूपमा रहेका तिनैजना कपिलस्तु १ मा मुख्य प्रतिस्पर्धी छन्। 

मंसिर ४ को आम निर्वाचनमा आमनेसामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मी थिए। सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ। माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणि खनाल (बलदेव) र एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्य महाभिडन्त हुने देखिएको हो। तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तु १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन्।

कपिलवस्तु १ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रूपमा समेत परिचित छन्। २०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए। उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए। २०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले वाम–लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रूपमा छन्। 

गत वैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु १ मा ३० वडाध्यक्षहरूको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ। कांग्रेसका वडाध्यक्षहरूले २८ हजार २७१ ल्याएका थिए। एमालेका वडाध्यक्षको मत २६ हजार ८२३ छ। त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० मत रहेको छ। हाल कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जित सुनिश्चित देखिन्छ।

कपिलवस्तु १ मा कुल मतदाता १ लाख ४१ हजार १३ रहेका छन्। स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलदेव जितको नजिक देखिन्छन्। २०७० मा पहिलोपटक कपिलवस्तु १ मा एमालेको झन्डा गाडेका अधिकारीलाई यसपटक सत्ता गठबन्धन तगरो बनेको छ। २०७४ को चुनावी मैदान उत्रने तीव्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी बलदेवलाई सहयोग गरेका थिए।

पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसकेका बलदेव २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित भई कृषिमन्त्री भए। उनको कार्यकाल छोटो भए पनि मुख्यगरी जमिन र कृषिमा नीति निर्माणमा काम गरी जमिनको व्यवस्थापन चार प्रकारबाट गर्ने कार्य आरम्भ गरेका थिए। उनले व्यावसायिक, कृषि, उद्योग र सुकुम्बासीका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाइन प्रणालीमा ल्याउने कामसमेत गरे। 

जमिनको चक्लाबन्दीको विषय र ‘कृषिमा युवा’ भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो। तत्कालीन अवस्थामा भारतीय खसीबोका आयातमा कडाइ गर्ने र धुलो दूध आयातमा कटौती गरी स्वदेशी उत्पादनलाई बढावा दिने कार्य उनले गरेका थिए। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लागु गर्न नदिएपछि बलदेवले पदबाट राजीनामा दिए। कृषिजन्य वस्तु आयातमा खसीबोका प्रतिबन्ध, सातओटै प्रदेश र कपिलवस्तु गरी आठओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना अघिल्याए पनि उनले पूरा गर्न सकेनन्। अहिले सोही जनमुखी योजनालाई प्रमुख एजेन्डा बनाएर जनताका अन्तिम कसरतमा घरदैलोमा पुगेका छन्।

कपिलवस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन्। प्रमुख प्रतिपक्षी एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्। २०७० मा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेका अधिकारीको तत्कालीन योजनाहरुको कार्यान्वयनको प्रभावकारिता त्यति आशलाग्दो भने नदेखिएको जनगुनासा छन्। लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी २०७४ सालको निर्वाचनपछि लामो समय गुमनामजस्तै रहे। तत्कालीन निर्वाचित हुँदाका बखत कपिलवस्तुको निर्वाचन क्षेत्र मात्रै दुई क्षेत्रमा विभाजित रहेको थियो। जिल्लाको उत्तरी क्षेत्रहरू महेन्द्रकोट, दुबिया, बुड्डीलगायत क्षेत्रहरू तत्कालीन निर्वाचन क्षेत्र १ मा पर्ने गर्थे।

हाल क्षेत्र नम्बर १ मा जिल्लाको मायादेवी, शुद्धोधन र कपिलवस्तु नगरपालिकाका आंशिक क्षेत्रहरू समेटिएका कारण दक्षिणी सीमावर्ती क्षेत्रमा बलरामको उपस्थिति कम देखिन्छ, यद्यपि एमाले पार्टीको प्रभाव भने हाल आएर फैलिएको छ। भौतिक निर्माण तथा पूर्वाधारहरूको विकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालिन सांसद विश्राम प्रसाद थारूले अग्रणि भूमिका खेलेका थिए।

तत्कालीन योजनाहरूको सुरुवातकर्ता थारूलाई जाने थारू अगुवाहरू बताउँछन्। एमालेभित्रका प्रभावशाली नेताको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको खण्डमा एमालेको जित आफ्नो पोल्टामा पर्ने एमाले नेताहरू बताउँछन्। बलरामको विकल्पमा विश्राम थारू अथवा विष्णु पन्थीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी खडा गरिएको भए राम्रो थियो भन्ने अधिकांश एमाले नेताहरूको भनाइ छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले बलरामको निर्वाचन क्षेत्रमा एमालेको जनमत राम्रो आएको प्रति आंशिक मतदाता उत्साहित देखिन्छन्। उता कांग्रेसले क्षेत्र नम्बर १ को प्रदेश १ मा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ मा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लीन नेताका रूपमा परिचित छन्। उता एमालेले क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेता विष्णु पन्थी र १ को २ मा मधुसूदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थी २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए। कांग्रेस नेता ललित गुरुङ यो क्षेत्रबाट बागी उम्मेदवार बनेपछि गठबन्धनलाई भने केही असर पुग्ने मतदाताहरू बताउँछन्। उनलाई पार्टीले निष्कासन गरिसकेको छ।

प्रकाशित: १ मंसिर २०७९ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App