coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रभावकारी भएन मतदाता शिक्षा

नाम मात्रको मतदाता शिक्षा

बिहीबार मध्य रातिदेखि मौन अवधि लागु हुँदै छ। मध्यरात १२ बजे देखि प्रचारप्रसारका कुनै कार्यक्रम गर्न रोक लगाइएको छ। तर अहिले सम्म आफ्नो घरमा मतदाता शिक्षाका लागि कोही नआएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का स्थानीय सरोज अर्यालले गुनासो गरे। कार्तिक १८ गतेदेखि महिला स्वयमसेविकाहरु मतदाता शिक्षाका लागि वडाहरुमा खटेको सुने पनि अझै सम्म आफ्नो घरमा कोही नआएको उनले बताए। ‘सदरमुकाम तौलिहवामा त मतदाता शिक्षाको यस्तो अवस्था छ, ग्रामीण बस्ती र भेगका कसरी पुगे होलान्? अर्याल प्रश्न गर्छन्। अर्याल जस्तै कपिलबस्तुका नागरिकले मतदाता शिक्षा प्रभावकारी रुपमा नपाएको गुनासो गरेका छन्। निर्वाचन आउन ३ दिन मात्र बाँकी छँदा मतदाता शिक्षा दिन गाउँघरमा कोही पनि नआएको जिल्लाका अधिकांश मतदाताको गुनासो छ।

जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन्। निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बाणगंगा नगरपालिका– ८ का स्थानीय दामोदर बन्जाडेले गुनासो गरे।, ‘जिल्लाकै कम मत बदर हुने स्थानीय तहको रुपमा रहेको बाणगंगामा अधिकांशलाई मत हाल्ने तरिका थाहा छैन, स्वास्थ्य स्वयंसेविकाहरू मतदाता शिक्षा दिन आउने कुरा थियो, तर अहिलेसम्म कोही पनि मेरो घरमा आएका छैनन्।’  उनले भने। निर्वाचन हुनुपूर्व मतदान गर्न नसिकी सीधै मतदान गर्न जाँदा मत बदर हुने सम्भावना धेरै हुने गरेको उनी बताउछँन्।  

मतदाता शिक्षाको उद्देश्य नै मतदान गर्ने तरिका र बदर मत काम होस् भन्ने रहेको जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख राजीब पन्थीले बताए। जिल्लाभरका ९६ वडामा प्रत्येक वडाअनुसार एक वडा एक मतदाता शिक्षा स्वयंसेविकाका तवरले कर्मचारी खटाइएको पन्थीले बताए। स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्व र वडातहमा वडा सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई मतदाता शिक्षा संचालन गर्ने व्यवस्था रहेको छ। मतदाता शिक्षा प्रभावकारी नभएकै कारण यहाँ प्रत्येक निर्वाचनमा धेरै मत बदर हुने गरेको छ। जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफैँ हाल्न नपाउने र सामान्य व्यक्तिले समेत ‘वारेस मत’ हाल्न लगाउने गरिएको छ। निर्वाचन कार्यालयले सम्पूर्ण तयारी सकिएको बताए पनि धेरै मतदातामा यसपालि मतदान कसरी गर्ने अन्योल भने कायमै छ। गठबन्धनका उम्मेदवार उठेका क्षेत्रमा झनै अन्योल छ। राजनीतिक दल र उम्मेदवारहरू चुनावी प्रचार प्रसार हिँडे पनि मतदातालाई कसरी भोट दिने भनेर प्रभावकारी रुपमा सिकाउन सकेका छैनन्।

यता निर्वाचन आयोगले भने विभिन्न सञ्चार माध्यमबाट मतदाता शिक्षालाई प्रभावकारी बनाएको दाबी गरेको छ। यसपाली घरदैलो कार्यक्रम स्थगित गरेको आयोगले सञ्चार माध्यम, विभिन्न सामाजिक सञ्जाल, अनलाइन र मोबाइल रिङ टोन मार्फत मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको दाबी छ।

यता मतपत्रको आकार र उम्मेदवारको संख्याका कारण यसपालिको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मत बदर हुने प्रतिशत बढ्ने अनुमान छ। कपिलबस्तुमा स्थानीय तहको निवार्चन २०७९ मा करिब ५ प्रतिशत रहेको छ। कुल मतदाता (स्थानीय तह) तीनलाख ११ हजार ७६० मध्ये १३ हजार ७९३ मदर बदर भएको थियो।

यस्तै समानुपातिकतर्फ सबैभन्दा धेरै मत भएको देखिएको छ। तीन निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा एकतर्फ १५ हजार ८४८ मत, दुईतर्फ १५ हजार ११५ मत र तीनतर्फ १७ हजार ५९२ मत बदर रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

मत बदर भएको अवस्थामा अहिले मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने प्रतिशत झन् बढ्ने आशंका समेत शुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका अनुसार पहिलो मतपत्रमा प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गरिन्छ। त्यसपछि अर्काे मतपत्र लिएर प्रतिनिधि सभाकै समानुपातिकतर्फका उम्मेदवारका लागि मतदान गर्नुपर्छ।

त्यसपछि तेस्रो मतपत्र लिएर प्रदेश सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेश सभाका समानुपातिकतर्फका उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ। तर यो प्रक्रियाबारे कपिलबस्तुका धेरै मतदातालाई थाहा छैन।

मतको महत्व, मतदान प्रक्रिया र सही तरिकाले मतदान गर्ने विधिबारे जान्न यहाँका मतदाता आतुर छन्। कपिलबस्तुका १० वटै पालिकामा नमुना मतदान कार्यक्रम सञ्चालन गरेर मतदान प्रक्रियाका बारेमा मतदातालाई सुसूचित गरेको जिल्ला निर्वाचन अधिकारी पन्थीले जनाएका छन्।

मंसिर १ सम्म प्रत्येक वडामा टोलटोलमा गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी आयोगले गरेको जनाएको छ। घर–घरमा गएर मतदाता शिक्षा दिँदा बढी प्रभावकारी हुने स्थानीय अगुवाहरु बताउँछन। मत बदर हुनु भनेको मताधिकारबाट वञ्चित हुनु हो, त्यसैले मतदाताको मत बदर हुन नदिने व्यवस्था गर्नु राज्यको दायित्व हो।

मतदान केन्द्र निर्धारण

कपिलबस्तुमा ४ सय ७२ मतदान केन्द्र निर्धारण गरिएको छ। यस्तै २ सय ३४ मतदान स्थल कायम गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ७९ मतदानस्थलमा १ सय ७१ केन्द्र तोकिएका छन्। सो क्षेत्रको प्रदेशसभा (क) मा ४० स्थल र ९५ केन्द्र तथा (ख) मा ३९ स्थल र ७६ केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै कारागारमा एउटा अस्थायी केन्द्र समेत रहेको छ। यस पटक ५७ जना कैदी बन्दीले प्रतिनिधि सभाको समानुपातिमा मतदान गर्नेछन्।  

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का लागि ८३ स्थलमा १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ। सो क्षेत्रको प्रदेशसभा (क) मा ४४ स्थलमा ८१ केन्द्र र (ख) मा ३९ स्थलमा ७४ केन्द्र निर्धारण गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ का लागी ७२ स्थलमा १ सय ४६ मतदान केन्द्र कायम गरिएको छ। सो क्षेत्रको प्रदेशसभा (क) मा ३६ स्थलमा ७६ केन्द्र र (ख) मा ३६ स्थलमा ७० केन्द्र निर्धारण गरिएको छ।

६६ हजार मतदाता थपिए

स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा कुल मतदाता तीनलाख ११ हजार ७६० रहेका थिए। मंसिर ४ मा हुने आमनिर्वाचन २०७९ मा कपिलबस्तुमा तीनलाख ७८ हजार २३२ मतदाता रहेका छन्। स्थानीय तहको मतदाताको संख्या भन्दा अहिले ६६ हजार ४७२ मतदाता थपिएका छन्।  

३ हजार ५७५ कर्मचारी खटिए  

निर्वाचनका लागि तीन हजार पाँचसय ७५ जना कर्मचारी परिचालन गरिएको निवार्चन कार्यालय कपिलबस्तुले जनाएको छ। मतदान अधिकृतलाई निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझे पश्चात् मतपेटिका बुझाउने सम्मको प्रक्रिया लगायत विषयमा अभिमुखीकरण समेत दिएको जनाइएको छ।

प्रकाशित: १ मंसिर २०७९ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App