६ वैशाख २०८१ बिहीबार
राजनीति

‘चुनावपछि पनि नेता मतदाताकहाँ आउनुपर्‍यो’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा भाग लिने दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्।

पाँच वर्षमा एकपटक आउने निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन दलहरू मतदातामाझ विभिन्न प्रतिबद्धता जनाउनेदेखि प्रलोभन देखाउने प्रतिस्पर्धा गरिरहेका छन्। मतदातामा भने दलहरूले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न र चुनावी एजेन्डा कार्यान्वयन गर्न असफल भएको भन्दै दलका उम्मेदवारप्रति निराशा र आक्रोश व्यक्त गरिरहेका छन्।

‘कसैलाई भोट दिएर हुनेवाला केही छैन। २०७४ को निर्वाचनमा विजयी बनाएर पठाएका उम्मेदवारले निर्वाचित भएर गएपछि फर्किएर हेरेनन्। स्थानीय तह निर्वाचनमा पनि आफ्ना उम्मेदवारका लागि रातदिन नभनी खट्यौं तर निर्वाचित भएपछि कसैले हेरेनन्’, निर्वाचन क्षेत्र नं २ लामाटारका स्थानीय रघुनाथ श्रेष्ठले भने। दलहरूले निर्वाचनका बेला ठूला आश्वासन दिए पनि निर्वाचित भएपछि भने बेवास्ता गर्ने गरेको उनी बताउँछन्। श्रेष्ठ विगतमा ठूला दलका उम्मेदवारलाई भोट दिएर विजयी गराउँदा पनि जनतालाई कुनै उपलब्धि नभएकाले यसपटक पुराना दलप्रतिको मोह भंग भएको बताउँछन्। ‘पुराना दलहरूसँग आशा मरिसक्यो। नयाँ दलका उम्मेदवार र युवा संसद्मा गए भने केही गर्छन् कि भन्ने झीनो आशा छ’, उनले भने। श्रेष्ठ आगामी निर्वाचनमा निर्वाचित उम्मेदवारले बेरोजगारलाई रोजगारको व्यवस्था गर्नुपर्ने बताउँछन्। आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने र जनताका सुखदुःखमा साथ दिने जनप्रतिनिधि आफूहरूले खोजिरहेको बताउँछन्। महँगीको तुलनामा आम्दानीका स्रोत सीमित भएकाले आम जनताको दैनिक जीवन जर्जर बन्दै गइरहेको उनी बताउँछन्। ‘पहिले एक दिन काम गरेमा ५ दिन खान पुग्ने थियो तर अहिले ५ दिन काम गरेको १ दिन पनि खान पुग्दैन’, उनले भने।

लामाटारकै उत्तमकुमारी श्रेष्ठ आउने निर्वाचनमा पुराना दलको विकल्प खोज्नुपर्ने बताउँछिन्। ‘नयाँ र सक्षम युवालाई भोट दिने हो’, उनले भनिन्, ‘भोट पाएपछि पनि गाउँ आउने नेता छान्नुपर्छ। हामी त्यही पक्षमा छौं।’ त्यस क्षेत्रमा रहेको खानेपानीलगायतका समस्या समाधानका लागि जनप्रतिनिधिले चासो नदिँदा स्थानीयले व्यक्तिगत लगानीमा बोरिङको पानी प्रयोग गर्नुपरेको बताउँदै उनले आर्थिक रूपमा कमजोर नागरिकले पानी खानै नपाउने अवस्था रहेको बताउँछिन्। ‘जोसँग पैसा हुन्छ त्यसैले मात्रै पानी खान पाउने अवस्था छ। खानेपानी समस्या समाधान गर्छौं भनेर विजयी भएका सांसदले मुखसमेत देखाएनन्’, उनले भनिन्।

क्षेत्र नं २ की मतदाता मनमाया श्रेष्ठ निर्वाचनका बेला दलका उम्मेदवार जनतासामु दुई हात जोड्दै भोट माग्न आउने गरेको तर जितेर गएपछि जनताका समस्याप्रति कहिल्यै चासो नदिएको बताउँछिन्। उनी पनि अब पुराना दल र उम्मेदवारको विकल्प खोज्ने बेला आएको बताउँछिन्। उनी नयाँ दलप्रति भने केही आशावादी देखिन्छिन्। ‘पुराना दलका उम्मेदवारलाई जिताएर पठाए पनि केही उपलब्धि भएन। नयाँ पार्टीका उम्मेदवारहरूले केही गर्छन् कि भन्ने आशा छ’, उनले भनिन्।

श्रेष्ठ आर्थिक रूपमा कमजोरसँग आर्थिक उपार्जनका कुनै बाटा नरहेको र रोजगारको ग्यारेन्टी गर्छाैं भन्ने दल र उम्मेदवारबाट प्रतिबद्धताअनुसार कुनै काम नभएको बताउँछिन्। लामाटारका स्थानीय पहिले–पहिले निर्वाचन आउँदा उत्सवजस्तै हुने र मतदाता निर्वाचनमा उत्साहका साथ लाग्ने गरे पनि पछिल्लो समय दल र उम्मेदवारप्रतिको विश्वास कमजोर हुँदै गएकाले निर्वाचनप्रति जनताको मोहभंग हुँदै गएको बताउँछन्। स्थानीयहरू पछिल्लो समय ठूला भनिएका दलहरू निर्वाचनका बेला पैसा बाँडेर मतदाता आकर्षण गर्नेतर्फ केन्द्रित हुन थालेको बताउँछन्।

लुभु घाफलका बालकृष्ण श्रेष्ठ पनि पुरानो दलका उम्मेदवारलाई अब भोट नदिने बताउँछन्। मतदातालाई मिठोमसिनो खान पनि दशपटक सोच्नुपर्ने अवस्था हुँदा नेताहरू भने हेलिकोप्टर चढेर मत माग्न हिँडिरहेकोमा लक्षित गर्दै उनले अझै पनि जनता नसच्चिने हो भने त्यसमा जनता पनि दोषी हुने बताउँछन्। श्रेष्ठ त ठूला र पुराना दलका उम्मेदवारले हार्ने निश्चित भएपछि दलहरूले नै स्वतन्त्र उम्मेदवारका रूपमा पनि आफ्नै नेताहरूलाई उठाइरहेको दाबी गर्छन्।

उनी नयाँ जोसजाँगर भएको युवाले जितेमा गाउँ समाजको विकास हुने दाबी गर्छन्। पाटनका कोसिस देशार अबको निर्वाचनमा नयाँ दलका उम्मेदवारले जित्नुपर्ने बताउँछन्। ‘नयाँ र युवालाई निर्वाचित गराउँदा उनीहरूले समाजमा केही न केही योगदान गर्न सक्छन्। पटकपटक परीक्षण भएका दल र उम्मेदवारलाई नै निर्वाचित बनाएर पठाउँदाको नतिजा हामीले पटकपटक हेर्दै आएका छौं’, उनले भने। उनी युवा र सकारात्मक सोच भएका उम्मेदवारले जितेमा समाजमा सकारात्मक परिवर्तन हुने विश्वास गर्छन्।

ललितपुर क्षेत्र नं २ मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हाल गठबन्धनका तर्फबाट उम्मेदवार कृष्णलाल महर्जन वाम गठबन्धनका तर्फबाट नेकपा एमालेबाट विजयी भएका थिए। उनले नेपाली कांग्रेसका चन्द्र महर्जनलाई पराजित गरेका थिए। कृष्णलालले २७ हजार सात सय १३ मत प्राप्त गर्दा कांग्रेसका चन्दले १६ हजार नौ सय ४५ मत ल्याएका थिए।

ललितपुर क्षेत्र नं २ मा सत्तारुढ दल, प्रमुख प्रतिपक्षी एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेसनलिस्ट पिपल्स पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत शक्ति नेपाल, नेपाल सुशासन पार्टी, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य नौजना स्वतन्त्र उम्मेदवार रहेका छन्।

प्रकाशित: १ मंसिर २०७९ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App