८ वैशाख २०८१ शनिबार
राजनीति

चासो र चर्चाका ३० क्षेत्र

मंसिर ४ गते हुने निर्वाचन परिणामबारे प्रमुख राजनीतिक दलले आआफ्नै दाबीसहित प्रचारप्रसार गर्दै आएका छन्। जनमत आफ्नो पक्षमा देखाउन नेताहरूले भूगोलको वास्तविक यथार्थभन्दा बाहिर गएर प्रचारप्रसार गरिरहेका छन्। निर्वाचन परिणामबारे सबैतिर चासो बढ्न थालेको छ। प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ। तर प्रमुख राजनीतिक दलका शीर्ष नेता प्रतिस्पर्धामा रहेकासहित ३० वटा क्षेत्रको चुनावी परिणाम र प्रतिस्पर्धा भने आमचासोको विषय बनेको छ। त्यसमध्ये एउटा हो, प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरा जिल्ला।

२०४८ सालको निर्वाचनपछि निरन्तर जित निकाल्दै आएका देउवा आगामी चुनावमा पनि सहज परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएका छन्। तर उनीसँग पार्टीकै पूर्वसहकर्मी कर्ण मल्ल प्रतिस्पर्धामा छन्। कांग्रेसबाट अलग्गिएका कर्ण बिपी कांग्रेसबाट प्रतिस्पर्धामा छन्। उनलाई एमाले अध्यक्ष केपी ओलीले समर्थन गरे पनि पार्टीका स्थानीय कमिटीले सहयोग गर्न नसक्ने जनाएका छन्। कर्णसँगै त्यहाँ सागर ढकालसहित विभिन्न दलका र स्वतन्त्र उम्मेदवार छन्।  

त्यस्तै झापा ५ बाट चुनावी प्रतिस्पर्धामा छन्, एमाले अध्यक्ष केपी ओली। कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीविरुद्ध प्रतिस्पर्धा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना दललाई उनले साथ लिएका छन्। राप्रपासँगको चुनावी तालमेलले उनलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज हुने आकलन गरिएको छ। राप्रपाको भोट ओलीलाई गएन भने निर्वाचन परिणाम उलटफेर हुनसक्ने स्थानीयको दाबी छ। त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी ओलीसँगको प्रतिस्पर्धामा छन्। युग पाठकसहित अन्य उम्मेदवार पनि मैदानमा छन्।  

झापा ३ कै निर्वाचन परिणाम र प्रतिस्पर्धा रोचक मात्र छैन, सबैका लागि चासोको विषय पनि बनेको छ। त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र विपक्षी गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन्। लामो समयदेखि एकअर्काविरुद्ध खडा हुँदै आएका यी दुई नेताले फरक दुई धारको नेतृत्व गरेका छन्। सिटौला मुलुकमा गणतन्त्र स्थापना गर्ने सूत्रधारमध्ये एक हुन् भने लिङ्देन अहिले पनि राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। लिङ्देनलाई एमालेको समर्थन रहे पनि स्थानीय नेताहरूले असहमति जनाउँदै विद्रोही उम्मेदवारी दिएका छन्। त्यसको प्रभाव झापाका अन्य क्षेत्रको परिणाममा पनि पर्नेछ।  

झापा १ पनि चासो र चर्चामा छ। त्यहाँ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेल प्रतिस्र्धामा छन्। पार्टीभित्रका दुई जबरजस्त समूहबाहेक अलग समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित शर्मा सोही क्षेत्रबाट तेस्रो पटक प्रतिस्पर्धामा छन्। दुई पटक असफल शर्मा यस पटक त्यसलाई तोड्न चाहन्छन्। चुनावी मैदानमा नयाँ उम्मेदवार खरेल पनि पार्टीको पुरानो विरासत कायम राख्न परिणाम आफ्नो पक्षमा पार्न तल्लीन छन्।  

इलाम १ बाट नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिस्पर्धामा छन्। जीवनभर काम गरेको पार्टी एमाले छाडेर नयाँ दल नेकपा एसबाट चुनावी मैदानमा होमिएका खनालविरुद्ध कांग्रेस नेता विक्रम पाण्डे मैदानमा छन्। कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गरे पनि पाण्डेको विद्रोही उम्मेदवारीले खनाललाई चुनौती थपेको छ। यसले निर्वाचन परिणामप्रति चासो बढाएको छ। त्यहाँ एमालेका जिल्लाअध्यक्ष महेश बस्नेत प्रतिस्पर्धामा छन्।  

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट प्रतिस्पर्धामा छन्। दुई दशक एमाले नेतृत्व सम्हालेका नेपालले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट बनी नयाँ पार्टी खोलेका हुन्। नेपालसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धामा छन्। उनले २०७० सालको निर्वाचनमा नेपालसँगै हार व्यहोरेका थिए। त्यतिबेला गुप्ता लोकतान्त्रिक फोरमबाट मैदानमा थिए भने अहिले एमालेबाट।

मोरङ ६ बाट कांग्रेस नेता शेखर कोइराला प्रतिस्पर्धामा छन्। उनले १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेसँगै पार्टीभित्र संस्थापन इतर (प्रतिपक्षी) नेताको छवि बनाएका छन्। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले एमालेका लालबाबु पण्डितसँग पराजित शेखर अहिले पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापन गर्दै परिणाम सहज निकाल्ने तयारीमा छन्। कांग्रेसभित्रको आन्तरिक राजनीतिक किचलोका कारण मोरङ ६ को निर्वाचन पनि चासोको विषय बनेको छ।

सुनसरी १ मा एमालेसँग तालमेल गर्दै जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राई उम्मेदवार छन्। त्यसप्रति असन्तुष्ट एमालेका मनोज मेन्याङ्बो बागी उम्मेदवार छन्। धरानका पूर्वमेयर मनोजले दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। सत्ता गठबन्धनले त्यहाँ माओवादीका मुक्सामहाङ्गो सुब्बालाई उम्मेदवार बनाएको छ। त्यहाँ एमालेका विद्रोही उम्मेदवारका कारण चुनावी प्रतिस्पर्धा चाखपूर्ण बनेको छ।  

त्यस्तै सर्लाही ४ पनि पार्टीका आधिकारिक उम्मेदवारभन्दा विरासतको लडाइँमा होमिएका अमरेश सिंह र मधुमालादेवी यादवको स्वतन्त्र उम्मेदवारी चर्चामा छ। सत्ता गठबन्धले कांग्रेसका नागेन्द्रकुमार राय र विपक्षी गठबन्धनले जसपाका राकेश मिश्रलाई प्रतिस्पर्धामा उतारेका छन्। कांग्रेसका बागी सिंहलाई सत्ता गठबन्धनका नागेन्द्रकुमार तथा विपक्षी गठबन्धनका राकेशलाई भर्खरै बिएससी नर्सिङ सकाएर स्वतन्त्र उम्मेदवार बनेकी मधुमालादेवी यादव चुनौती बनेका छन्। मधुमाला माओवादी नेता शिवपूजन रायकी छोरी हुन्।  

सर्लाही २ मा सत्ता गठबन्धनमै नेताहरूबीचको प्रतिस्पर्धाले रोचक बनेको छ। माओवादीबाट महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो त्यहाँ प्रतिस्पर्धामा छन्। विपक्षी गठबन्धनबाट एमालेका राजनारायण साह प्रतिस्पर्धामा छन्। त्यहाँ सत्ता गठबन्धनले यादवलाई समर्थन गरेको छ भने लोसपा नेता महतो मित्रवत् प्रतिस्पर्धामा छन्। रूपन्देही ३ मा २०७४ सालको चुनावमा कांग्रेस नेता बालकृष्ण खाण राप्रपा नेता दीपक बोहोराका सहयोगी थिए। खाण तिनै बोहोराको सामना गर्दै अहिले चुनावी प्रतिस्पर्धामा छन्। एमालेसँग चुनावी तालमेल गर्दै बोहोरा मैदानमा उत्रिएका हुन्। गृहमन्त्रीसमेत रहेका खाण र बोहोराबीचको प्रतिस्पर्धा सबैलाई चासोको विषय बनेको छ।  

रूपन्देही १ पनि यसपटक चर्चाको क्षेत्र बन्न पुगेको छ। एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाललाई पार्टीले टिकट दिएन। त्यसप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिए। उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ। त्यहाँ एमालेबाट छविलाल विक उम्मेदवार छन्।

मकवानपुरमा चार दशकसम्म कमल थापा र दीपक सिंह एउटै पार्टीमा बसेर काम गरे। तर अहिले मकवानपुर १ बाट थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का नेता सिंह आमनेसामने भएका छन्। राप्रपा नेपाललाई ब्युँताएका थापा एमालेको चुनाव चिह्न लिएका छन् भने सिंह राप्रपाबाट प्रतिस्पर्धामा छन्। उनीहरू दुवैसँग कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय प्रतिस्पर्धामा छिन्।

त्यस्तै, नेपालका एक मात्र अर्बपति विनोद चौधरी पनि चुनावी प्रतिस्पर्धामा उत्रिँदा नवलपरासी पश्चिम १ पनि यसपटक चासो र चर्चाको क्षेत्र बन्न पुगेको छ। सत्ता गठबन्धनको सहयोगमा अर्बपति चौधरी संसदीय राजनीतिका पाका र अनुभवी नेता हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धामा छन्।  

सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर उम्मेदवार छन्। राउतको सप्तरी २ मा प्रवेशले त्यस क्षेत्रको प्रतिस्पर्धा रोचक बन्न पुगेको हो।  

त्यस्तै काठमाडौं १ मा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण योगदान दिएका गणेशमान सिंहका छोरा प्रकाशमान प्रतिस्पर्धामा छन्। प्रकाशमानसँग त्यसको ठिक उल्टो राजनीतिक हुर्काइमा बढेका कलाकार मनोजबाबु मिश्रका छोरा रवीन्द्र मिश्र प्रतिस्पर्धामा छन्। प्रकाशमान र मिश्रसँगै यो क्षेत्रमा एमालेका किरण पाैडेलसहित रमेश खरेल, पुकार बम प्रतिस्पर्धामा छन्।  

काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ तेस्रोपटक जित निकाल्दै मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्ने बताउँदै आएका थापालाई एमाले नेता राजन भट्टराई चुनौती बनेका छन्। एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्रका रूपमा परिचय बनाएका भट्टराई र कांग्रेसमा देउवा विरोधी खेमाको नेतृत्व गर्ने थापाबीचको चुनावी प्रतिस्पर्धा सबैका लागि चासोको विषय बनेको छ।  

काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका युवा नेता प्रदीप पौडेलबीचको प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ। काठमाडौं ७ मा सत्ता गठबन्धनबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषी प्रतिस्पर्धामा छिन्। मानुषीको प्रवेशले चर्चामा आएको सो क्षेत्र एमाले नेता एवं निवर्तमान सांसद रामवीर मानन्धरको विद्रोहले अझ चर्चित बनेको छ। यो क्षेत्रमा रामवीर, मानुषीसँगै एमालेबाट श्यामप्रसाद घिमिरे तथा बुद्धिमान लामा, किरण केसी, आकर्षण पोखरेलसहित चुनावी प्रतिस्र्धामा छन्।  

कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीचको चुनावी प्रतिस्पर्धाले तनहुँ १ पनि चर्चामा छ। लामो समय दुवै नेताले एउटै पार्टीमा काम गरे। तर एकअर्काबीच सधैं प्रतिस्पर्धी पौडेल र जोशीसँग एमालेका एकबहादुर राना प्रतिस्पर्धामा छन्।  

दाङ २ मा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन्। त्यहाँ सत्ता गठबन्धनबाट माओवादीकी रेखा शर्मा प्रतिस्पर्धामा छिन्।  

लम्जुङबाट माओवादी केन्द्र र एमालेका दोस्रो तहका प्रभावशाली नेताद्वय देवप्रसाद गुरुङ र पृथ्वी सुब्बा गुरुङ प्रतिस्पर्धामा छन्। त्यहाँ माओवादी केन्द्रका महासचिव गुरुङ र एमाले उपमहासचिव सुब्बाबीचको प्रतिस्पर्धा रोचक छ। नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट चुनावी प्रतिस्पर्धामा छिन्। झाँक्रीसँग एमालेका गोकर्णराज विष्ट प्रतिस्पर्धामा छन्। पूर्वसहकर्मीबीचको यो प्रतिस्पर्धा रोचक बनेको छ। चितवन ३ मा प्रतिनिधिसभा सदस्यका लागि २० जना उम्मेदवार छन्। जसमध्ये आठजना दलीय उम्मेदवार छन् भने १२ जना स्वतन्त्र। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको बागी उम्मेदवारीले पनि यो क्षेत्र चर्चामा छ। त्यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राप्रपाका विक्रम पाण्डे, कांग्रेसकै अर्का बागी जगन्नाथ पौडेल छन्। एमालेले कांग्रेसका बागी कोइरालालाई सहयोग गर्ने जनाएको छ।  

त्यस्तै चितवन २ पनि चर्चा र चासोको विषय बनेको छ। चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलबीच रोचक प्रतिस्पर्धा छ। बाग्लुङ १ मा पनि सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकबीच टक्कर छ। यसैगरी महत्तोरी ३ मा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, विपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टीका हरिनारायण यादव र जनमत पार्टीका मिर्गेन्द्र यादव उम्मेदवार छन्। उनीहरूबीचको प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्ने विषय पनि रोचक नै बनेको छ।

चितवन ३ छाडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ उक्लेसँगै उक्त क्षेत्र राष्ट्रिय राजनीतिमा चर्चाको शिखरमा छ। दाहालसँग एमालेले युवा अब्दुस मियाँलाई प्रतिस्पर्धामा उतारेको छ।  बाँके २ मा राप्रपाका धवलशमशेर राणा एमालेको सहयोगमा उम्मेदवार बनेका छन्। त्यहाँ विपक्षी गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका इस्तियाक राई र सत्ता गठबन्धनबाट कांग्रेसका सुदीप नरसिंह राणा उम्मेदवार छन्।  

कैलाली १ मा टीकापुर घटनाका आरोपित रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले दुवै गठबन्धनलाई चुनौती दिँदै आएको छ। थारुको बाहुल्य रहेको त्यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाएको छ। त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार रामजनम चौधरी उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट एमालेका उम्मेदवार तपेन्द्र रावल मैदानमा छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ००:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App