coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कपिलवस्तु २ः आचार्य र गुप्ता दाश्रो पटक आमने सामने, गुप्ता बन्लान् त पाँचौं पटक सांसद?

कपिलवस्तु नगरपालिकाको सदरमुकाम तौलिहवासहितको क्षेत्र पर्ने जिल्लाको क्षेत्र नम्बर २ लाई चासोको रुपमा हेरिएको छ। चुनाव आउन एक साता भन्दा कम समय बाँकी रहँदा मतदातालाई आकर्षित गर्न उम्मेदवारहरुले अनेक बाचा र आश्वासन बाड्दै हिडेका छन्।

उम्मेदवारहरु मतदातालाई आफू तर्फ तान्न अन्तिम कसरतमा जुटेका छन्। मंसिर ४ मा हुने निर्वाचनमा एक पटक फेरी पूर्वमन्त्री तथा लगातार चार पटक जितेर रेकर्ड बनाएर एमाले नेता बुजेशकुमार गुप्ता र काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य आमनेसामने भएका छन्।

दुवै जना २०७४ सालमा पनि मुख्य प्रतिस्पर्धी थिए। ती द्वयसहित पूर्वमन्त्री तथा लोसपाको तर्फमा ईकबाल अहमद शाह पनि यसै क्षेत्रबाट चुनाव लडेका छन्। प्रतिनिधिसभाका लागि तीन र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा विशेष गरी प्रतिनिधिसभाको क्षेत्र नं. २ यतिबेला निकै रोचक र चर्चामा छ।

नेकपा एमाले र गठबन्धन दुवैबाट ‘हेभी’ उम्मेदवार मात्र हैन, कपिलवस्तु–२ मा दोस्रो पटक पूर्वमन्त्रीद्वय भइसकेका नेता दोस्रो पटक चुनावी मैदानमा छन्। साथसाथै निर्वाचनको समिपमा यहाँका दल र उम्मेदवार आन्तरिक जोड घटाउ र प्रचारप्रसारमा व्यस्त देखिन्छन्। चुनावी माहौल तातिएसँगै चोकचोक र चिया पसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको विषयमा छलफल र चर्चा भइरहेको छ।

यहाँ सत्ता गठबन्धनबाट काँग्रेसका सुरेन्द्रराज आचार्य र नेकपा एमालेबाट बृजेशकुमार गुप्ता प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य यसपटक सत्ता गठबन्धनको सहयोगका कारण बलिया उम्मेदवार मानिन्छन्। आचार्य पूर्वसिंचाइ राज्यमन्त्री, गुप्ता पूर्वकानुन तथा न्यायमन्त्री हुन्।

दुई कार्यकालसम्म काँग्रेसको जिल्ला सभापति सम्हालेका आचार्य हाल काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री हुन्। २०७० सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित आचार्य सिंचाइ राज्यमन्त्री भएका थिए। २०७३ श्रावण २० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीमण्डलमा आचार्य सिंचाइ राज्यमन्त्री भएका थिए। २०७४ सालका निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका आचार्य वाम गठबन्धन (गुप्ता)सँग तीन हजार ५८१ मतले पराजित भएका थिए।

आचार्यको निर्वाचन क्षेत्रमा रहेका दुई वटा पालिका नेपाली काँग्रेसले जितेको हुँदा जित्ने सम्भावना रहेको काँग्रेस नेताहरु बताउँछन्। बुद्धभूमि नगरपालिका र महाराजगन्ज नगरपालिकामा आचार्य निकटका व्यक्तिले जितेकाले थप प्रभाव रहेको छ। आचार्यले २०७४ को निर्वाचनमा ३१ हजार ५६६ मत ल्याएका थिए। २०७४ सालमा स्वतन्त्र भन्दै सूर्य चिह्नबाट लडेका वृजेश गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन्।

२०५६ सालमा राप्रपाबाट राजनीति सुरु गरेका गुप्ता चार पटक सांसद निर्वाचित भइसकेका छन्। गुप्ता तत्कालीन राजा ज्ञानेन्द्र शाहको अध्यक्षतामा २०६१ माघ २० मा गठन भएको मन्त्रिपरिषद्को राज्यमन्त्री समेत बनेका थिए। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ कार्तिकदेखि २०६९ वैशाखसम्म कानुन तथा न्याय मन्त्रीमा चयन भए।

२०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जिते। एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए। हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता यो पटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन्।

२०७४ को निर्वाचनमा गुप्ताले ३५ हजार १४७ मत ल्याई निर्वाचित भएका थिए। आचार्य र गुप्ताबीच यो दोस्रो चुनावी लडाइँ हो। २०७४ को आमनिर्वाचनमा गुप्ताले जीत हासिल गरे भने आचार्य पराजीत हुन पुगे। गुप्ता यो निर्वाचन जितेर पाँचौ पटक संसद प्रवेशको कसरतमा देखिन्छन्।

आचार्य दोस्रो पटक संसद प्रवेशलाई ग्यारेन्टी दिँदै चुनावी अभियानमा छन्। तत्कालीन संविधान सभा निर्वाचन क्षेत्र नं. ३ रहेको यो क्षेत्र हाल संघीय संरचना अनुसार क्षेत्र नं. २ पर्दछ। संविधानसभा निर्वाचनका बखत कपिलवस्तुमा ५ वटा निर्वाचन क्षेत्र रहेका थिए। काँग्रेस उम्मेदवार आचार्य २०७० को संविधान सभामा निर्वाचित भए पनि त्यसअघि र यता कुनै चुनाव जितेका छैनन्।

२०५६ मा काँग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका आचार्यले २०७० सालमा संविधान सभा निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए। गुप्ताले २०६४ र २०७० मा काँग्रेस नेता सुधाकर पाण्डेयलाई हराउँदै चुनाव जितेका थिए। आचार्यले २०७० मा एमालेका नेता नेत्रराज अधिकारीलाई हराएर विजयी भएका थिए।

कपिलवस्तु–२ बुद्धभूमि नगरपालिकाका १० वटै वडा, कपिलवस्तु नगरपालिकाका ७ वटा वडा, यशोधरा गाउँपालिकाका ८ वटै वडा र महाराजगन्ज नगरपालिकाका ७ वटा वडा मिलेर बनेको छ। स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम अनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख काँग्रेसले जित्दा वडा नं. १, वडा नं. २, वडा नं. ६, वडा नं. ८ र वडा नं. ९ गरी पाँच वडामा काँग्रेस विजयी भएको छ। एमालेले वडा नं. ३, वडा नं. ४, वडा नं. ५ र वडा नं. ७ मा जित हात पारेको छ।

वडा नं. १० मात्र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले जितेको छ। बुद्धभूमिको स्थानीय तहको निर्वाचनमा वडागत मतका आधारमा बाम–लोकतान्त्रिक गठबन्धन अर्थात सत्ता गठबन्धन अगाडि रहेको छ। सत्ता गठबन्धनले वडा गत रुपमा १५ हजार २८३ मत पाएको छ भने एमालेले १२ हजार ९१० मत पाएको छ। जहाँ जसपाको एकहजार २२८, राप्रपाको एक हजार १५ मत छ।

यस्तै, यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ। ८ वडा मध्ये वडा नं. १, वडा नं. २ र वडा नं. ८ एमाले उम्मेदवारले जितेका छन्। वडा नंं. ३ र वडा नं. ७ कांग्रेसले जितेको छ। वडा नं. ६ जनमत पार्टीले जित्दा वडा नं. ४ जसपाले जितेको छ भने वडा नं. ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

यशोधराको स्थानीय तहको निर्वाचनको प्राप्त मतका आधारमा सत्ता गठबन्धन नै अगाडि देखिन्छ। गठबन्धनले वडागत रुपमा पाएको मत अनुसार ५ हजार ४२६ मत छ। एमालेको ३ हजार ८५० मत रहेको देखिन्छ। प्रतिनिधिसभा क्षेत्र नम्बर २ भित्रै जिल्ला सदरमुकाम समेत रहेको कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ।

१२ वडा मध्ये वडा नं. ७, वडा नं. ८, वडा नं. ९, वडा नं. १० र वडा नं. ११ प्रतिनिधिसभा १ मा पर्दछन्। दुईमा पर्ने वडाहरु मध्ये काँग्रेस र एमालेले तीन/तीन वटा वडामा जीत हासिल गरेको छ। एमालेले वडा नं. २, वडा नं. ४, वडा नं. ६ मा जित हात पारेको छ। काँग्रेसले वडा नं. ३, वडा नं. ५ र वडा नं. १२ जितेको छ। जसपाले वडा नं. १ मात्र जितेको छ।

वडागत रुपमा क्षेत्र नम्बर २ मा पर्ने कपिलवस्तु नगरपालिकामा ७ हजार ३२४ मत सत्ता गठबन्धन (काँग्रेस, माओवादी केन्द्र र नेकपा एस)को छ। एमालेको ५ हजार ९३७ मत रहेको छ। कपिलवस्तु नगरपालिकामा पनि सत्ता गठबन्धन फराकिलो मतका साथ अगाडि देखिन्छ।

यस्तै महाराजगन्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ। ११ वडा रहेको यो नगरका वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. ४, वडा नं. ८, वडा नं. ९, वडा नं. १० र वडा नं. ११ यो निर्वाचन क्षेत्रमा पर्दछन्। जसमध्ये वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. ८, वडा नं. १० र वडा नं. ११ कांग्रेसले जितेको छ। वडा नं. ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जित्दा वडा नं. ९ मात्र एमालेले जितेको छ।

महाराजगंज नगरपालिका अन्तरगतका क्षेत्र नं. २ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतको वडागत रुपमा सत्ता गठबन्धनले ८ हजार ५५ मत प्राप्त गर्दा एमालेले मात्र ४ हजार ६०१ मत प्राप्त गरेको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरु पाएको मतको आधारमा नेपाली काँग्रेस अगाडि देखिन्छ। काँग्रेससहितको सत्ता गठबन्धन सहयात्री माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को ३८ हजार ४८४, एमालेको ३५ हजार ५०८ मत रहेको छ।

काँग्रेस उम्मेदवार आचार्यलाई माओवादी केन्द्र, एकीकृत समाजवादीको दरिलो साथ छ भने गुप्तासँग एमाले मात्र रहेको छ। यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्वमन्त्री अकवल अहमद शाह चुनावी मैदानमा उतारेको छ। उनको पार्टीको उपस्थिति कमजोर भएपनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन्। स्थानीय तहको निर्वाचनमा लोसपाले महाराजगंज वडा नं. ४ मा मात्रै जीत हासिल गरेको थियो।

पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका अकवल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट कपिलवस्तु–२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन्। शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन्। नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समूह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन्।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि तथा सहकारीमन्त्री बनेर छोटो कार्यकाल (२५ दिन) पूरा गरेका शाह गत निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए। प्रदेश सभा ‘क’ तर्फ सत्तागठबन्धनबाट नेपाली काँग्रेसका विक्रम सिंह थापा चुनावी मैदानमा छन्।

नेपाल प्रहरीका पूर्व एसएसपी समेत रहेका थापा यो क्षेत्रको नयाँ अनुहार हुन्। एमालेबाट नवराज लामिछाने उम्मेदवार छन्। २०७४ को चुनावमा समेत यो प्रदेश सभा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो।  प्रदेश सभाभित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिए पछि चुनाव रोचक बन्ने अनुमान छ।

यस्तै, कपिलवस्तु–२ (ख) मा प्रदेशसभा सदस्यमा एमालेका धर्मबहादुर लाल श्रीवास्तवको उम्मेदवारी छ। उनी लुम्बिनी प्रदेशमा शंकर पोख्रेलको सरकारमा तेस्रो मन्त्रिपरिषद् विस्तारमा श्रीवास्तव मन्त्री बनेका थिए। नेकपा विभाजनपछि माओवादीले समर्थन फिर्ता लिएपछि पुर्नगठित मन्त्रीमण्डलमा उनी शिक्षा तथा सामाजिक विकास मन्त्री भएका थिए। मधेसवादी दलमा आवद्ध रहेर राजनीति सुरु गरेका श्रीवास्तव ०७४ सालमा बृजेश गुप्तासँगै सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए।

श्रीवास्तवले तत्कालिन बाम गठबन्धनको तर्फबाट १० हजार ४३६ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुधाकर पाण्डेयले १० हजार ५० मत प्राप्त गरेका थिए। सत्तागठबन्धनले यहाँ नेपाली काँग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ। संविधान सभाका दुई चुनाव र प्रदेश सभाको एक चुनाव हारेका पाण्डेय कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुन्।

पाण्डेयलाई नेकपा एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिएका छन्। ०७९ को आम निर्वाचनमा पनि श्रीवास्तव र पाण्डेयबीच प्रतिस्पर्धा हुने देखिएको छ। अहिले सत्ता गठबन्धनका कारण पाण्डेयलाई जीत हासिल गर्न सहज देखिन्छ। यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तव बीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन। जसपाका अब्दुल रसिद खाँ पनि बलिया प्रतिस्पर्धी देखिएका छन्।

कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयरमा जसपाबाटै जीत हासिल भएकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। जसपाले स्थानीय तह निर्वाचन २०७९ मा कपिलवस्तु नगरपालिका वडा नं। १, बुद्धभूमि नगरपालिका वडा नं. १० र यशोधरा वडा नं. ४ गरी तीनवटा वडामा जीत हासिल गरेको थियो।

मतका आधारमा गठबन्धन अगाडि

२०७९ को स्थानीय तह निर्वाचनको ३३ वटा वडागत मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धन कपिलबस्तु–२ मा अगाडि देखिन्छ। सत्ता साझेदार दलले १६ वटा वडामा जित हासिल गर्दा एमालेले ११ वटा वडामा जीत आफ्नो पक्षमा पारेको छ।

जनताको अभिमतमा चारपटक परीक्षण भइसकेका बृजेश कुमार गुप्त र बाम–लोकतान्त्रिक गठबन्धनका सुरेन्द्रराज आचार्य र अकवल अहमद शाह मध्ये कसलाई मतदाताले जिम्मेवारी सुम्पिने हुन् त्यसको परिणाम भने मंसिर ४ पछि नै थाहा हुनेछ।

उता कपिलवसतु नगरपालिकाका पूर्वउप मेयर बासुदेव कसौधन र तौहिलवा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सन्तोष कसौधन एमाले त्यागेर काँग्रेसमा प्रवेश गरेका छन। यस्तै यशोधरा गाउँपालिकाका नेता राकेश पाठक, महाराजगंज नगरपाकिला नेता शिवप्रसाद चौधरीसहितका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन्।

सांसद गुप्ताका निकटका मान्छेहरु काँग्रेसमा प्रवेश गरेपछि आचार्य बलियो भएको काँग्रेस जिल्ला सभापति अब्दुल कलामले बताए। क्षेत्र नम्बर २ मा काँग्रेस एकबद्ध हुनु, सत्तागठबन्धनका कारण काँग्रेस बलियो रहेको उले बताए। उता तेश्रो पटक पार्टी फर्दै फेरी दीर्घ नारायण पाण्डेय एमालेमा प्रवेश गरेपछि एमाले बलियो भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए।

उनले जिल्लाभर एमाले बलियो रहेको दाबी गरे। जसपा नेपालले प्रतिनिधिसभाका उम्मेदवार नउठाएकाले उनीहरुको मत कता जाने त्यसले पनि जितहारको निर्णय गर्ने मतदाताहरु बताउँछन्। जसपको मत प्रतिनिधिसभा तर्फ आचार्यलाई जाने बढी सम्भावना रहेको देखिन्छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App