८ वैशाख २०८१ शनिबार
राजनीति

कैलाली–४: चासोका रुपमा हेरिँदै बलायर र भट्टको प्रतिस्पर्धा

वीरबहादुर बलायर र लेखराज भट्ट।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ लाई अहिले चासोका रुपमा हेरिन थालिएको छ। प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका लेखराज भट्टबीचको चुनावी प्रतिस्पर्धालाई सुदूरपश्चिममै चासोका साथ हेरिन थालिएको हो।  

अहिले सबैको ध्यान कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा छ। ‘अहिले कैलाली ४ को निर्वाचन नै बडो रोचक छ,’ लालपुरका लोकराज पाठकले भने,‘डोटी जाने म यहीँको राजनीतिक प्रतिस्पर्धा हेर्नमै व्यस्त छु।’ दुवै उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्नका लागि घरदैलो अभियान बढाएको बताउँदै उनले भने,‘भट्ट पनि गाउँटोलमै छन् भने बलायर वडास्तरिय सभा सकाएर घरदैलो अभियानमा दौडिएका छन्।’  

दुवै उच्च तहका नेता र सुदूरपश्चिमका ‘लिडर’ नै भएकाले पनि यहाँको निर्वाचनलाई उत्सुकताका साथ आम मतदाताले लिएका छन्। द्वन्द्वकालीन अवस्थामै तत्कालीन समयमा नेकपा माओवादीका राजनीतिबाट उठेका भट्ट र नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट उदाएका बलायरबीचको प्रतिस्पर्धालाई बढी महत्वका साथ हेरिएको विद्यार्थी नेता दिनेश कलेल बताउँछन्। ‘विद्यार्थी राजनीतिबाट उदाएका चर्चित नेता बलायर र माओवादीको जनयुद्धबाट चर्चित भएका भट्टबीचको प्रतिस्पर्धा गज्जको छ,’ उनले भने,‘तर, भट्टले भने अहिले नेकपा एमालेका तर्फबाट उम्मेदवार भएकाले उनलाई केही गाह्रो भने पक्कै छ।’ माओवादीका अध्यक्ष प्रचण्डका विश्वासशिला मध्येका एक भट्ट तत्कालीन नेकपा फुट्दा माओवादीतिर नगएर एमालेमै रहेका थिए। जसका कारण सत्ता गठबन्धनका साझेदार नेकपा माओवादी भने उनीसँग रिसाएको छ। भट्ट एमालेमा जाँदा माओवादी कार्यकर्ता रुष्ट छन् भने अर्कोतर्फ एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई टिकट नदिँदा एमाले भित्रका रावल समर्थकहरु पनि रुष्ट छन्। जसले गर्दा रावल ‘फ्याक्टर’ले निर्वाचनमा भट्टलाई केही अफ्ठ्यारो पार्न सक्ने राजनीतिक विश्लेषकज्ञहरु बताउँछन्।

वीरबहादुर भने कैलाली ४  का लागि नयाँ अनुहार हुन्। उनी यहाँ ‘न्यू टेष्टेड’ का रुपमा रहेकाले पनि उनलाई भने केही सहज छ। दुई–दुई पटक यही निर्वाचन क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेका भट्टले आफ्नो निर्वाचन क्षेत्रमा खासै केही नगरेको आरोप लागिरहेको छ। उनको यही कमजोरीका मौका छोप्दै बलायर भने भट्टले जितेपछि गरेका कामको कमजोरी खोतल्दै गइरहेको छन्। बलायरको जवाफ भट्टले चिर्न सकेका छैनन्।  

अर्को कोणबाट हेर्ने हो भने क्षेत्र नम्बर ४ सत्ता गठबन्धनकै पक्षमा बढी मत रहेको छ। मतदाताले गत स्थानीय तहमा देखाएको इमान्दारितालाई कायम गर्ने हो भने पनि भट्ट भन्दा बलायर नै बलिया देखिन्छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ जोडिएको छ। जसमा १ लाख १० हजार ४ सय ५३ मतदाता रहेका छन्। गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक–बाम गठबन्धन बलियो देखिन्छ।

स्थानीय तहको निर्वाचनका मतपरिणाम अनुसार कैलाली क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक–बाम गठबन्धनको ३४ हजार ७ सय ९४ मत पाएको थियो भने नेकपा एमालेले २० हजार ८१ मत प्राप्त गरेको थियो। जसअनुसार पनि गठबन्धनको मत एमालेको भन्दा बढी देखिन्छ।  

 

१ मतदातामाझ भोट भाग्दै वीरबहादुर बलायर।

२ मतदातामाझ मत माग्दै लेखराज भट्ट। 

प्रकाशित: २९ कार्तिक २०७९ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App