coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रभावशाली नेता आफ्नै क्षेत्रमा सीमित

प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको दौरानमा यसपटक अन्य जिल्ला र क्षेत्रका कार्यक्रममा सहभागी भएका छैनन्। निर्वाचन आयोगले चुनाव प्रचारका लागि दिएको समय सकिन लाग्दा प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभामा निस्के पनि पार्टीका प्रभावशाली र दोस्रो तहका नेताहरू भने आफ्नै क्षेत्रमा सीमित बनेका हुन्।

पार्टी र मुलुकको आगामी नेतृत्व लिने बताउँदै आएका र पुग्ने सम्भावनामा रहेको भनिएका नेताहरू आफ्नै क्षेत्रमा असुरक्षित देखिएपछि अन्यत्र भइरहेका चुनावी कार्यक्रममा सहभागी भएका छैनन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित दलका दोस्रो तहका नेताले बाँकी दिनमा पनि आफ्नो निर्वाचन क्षेत्र छाड्ने संकेत देखिएको छैन। पार्टीभित्र र बाहिरबाट नेतृत्व हस्तान्तरण नगरेको भन्दै आलोचना खेप्दै आएका शीर्ष नेताहरू मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्न चुनावी अभियानमा सक्रिय छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी अभियानमा छन्।

तर कांग्रेस नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङका साथै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रममा सक्रिय छन्।  

मोरङ ६ बाट चुनावी प्रतिस्पर्धामा रहेका शेखर कोइराला कांग्रेसभित्र संस्थापन इतरको गुटको नेतृत्व गर्ने नेता हुन्। नेता पौडेल, सिंह, सिटौला, शशांक, उपभापति खड्का मात्र होइन, महामन्त्री थापाले समेत आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्। पार्टी मात्र होइन, देश नै सफा गर्न आफू ‘ड्राइभिङ सिट’मा बस्न चाहेको र त्यसका लागि चुनाव जित्नैपर्ने महामन्त्री थापाले बताउँदै आएका छन्। अर्का महामन्त्री शर्माले युवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न पनि आफू झापा १ बाट चुनाव जित्नुपर्ने बताउँदै आएका छन्। राष्ट्रिय नेताका छवि बनाएका उनीहरूसहित कांग्रेसका सहमहामन्त्रीहरूले आफ्नो क्षेत्र छाडेका छैनन्।

नयाँनयाँ राजनीतिक दलका साथै स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले काठमाडौंसहितका ठाउँमा पाएको मतले परिणामको आकलन गर्न नसक्दा उनीहरू आफ्नै क्षेत्रमा सीमित भएका हुन्। २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन हुँदासमेत चुनावी अभियानमा निस्केका कांग्रेसका नेताहरू अहिले माओवादी केन्द्र, नेकपा एससहितका दलसँग चुनावी तालमेल गर्दा पनि परिणामबारे ढुक्क बन्न सकिरहेका छैनन्। उम्मेदवारी मनोनयनका लागि आआफ्ना क्षेत्रमा पुगेका कांग्रेसका मात्र नभएर अधिकांश दलका नेता काठमाडौं फर्केका छैनन्। काठमाडौं नै चुनावी क्षेत्र भएका कांग्रेस महामन्त्री थापा, पूर्वमहामन्त्री सिंह, नेता प्रदीप पौडेलसहितका नेता आफ्ना क्षेत्रबाहेक अर्काे क्षेत्रको चुनावी अभियानमा पनि देखिएका छैनन्।

महामन्त्री शर्माले तीन दिनअघि झापा १ र ३ को चन्द्रगढीमा आयोजना गरिएको संयुक्त सभालाई सम्बोधन गरेका थिए। शर्मा झापा १ बाट र सिटौला झापा ३ बाट उम्मेदवार छन्। उपसभापति खड्का माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कर्णाली प्रदेशमा आयोजना गरिएको एक चुनावी सभामा सहभागी भए। कांग्रेस नेता पौडेल सोमबार तनहुँ र गोरखाको संयुक्त सभालाई सम्बोधन गर्न पालुङटार पुगेका थिए। सभापति देउवा पार्टी र गठबन्धनको चुनावी सभामा पुगिरहेका छन्। त्यसका अतिरिक्त समानुपातिक सूचीमा रहेका पूर्वउपसभापति विमलेन्द्र निधि, कांग्रेस प्रवक्ता प्रकाशशरणसहित नेता चुनावी सभामा देखिएका छन्। यो अवस्था कांग्रेसमा मात्र होइन, विपक्षी गठबन्धनको नेतृत्व गर्दै आएको एमालेमा पनि उस्तै छ।  

एमाले अध्यक्ष ओली आफ्नो पार्टीले प्रत्यक्षतर्फ सय सिट जित्ने दाबी गर्दै हिँडेका छन्। तर सत्ता गठबन्धनका कारण पार्टीका दोस्रो तहका नेताहरू आफ्नो निर्वाचन क्षेत्रबाहिरका कार्यक्रममा हिँडेका छैनन्। ओलीले विभिन्न क्षेत्रमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरिरहँदा एमालेका शक्तिशाली नेता तथा महासचिव शंकर पोखरेल दाङ २ बाट बाहिर निस्कन सकेका छैनन्। आफ्नो जितको सुनिश्चित नहुँदा आफ्नै क्षेत्रका चुनावी कार्यक्रममै सक्रिय छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं ५ मै सीमित बनेका छन्। सत्ता गठबन्धनबाट कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेललाई मैदानमा उतारेसँगै पोखरेल दबाबमा छन्।  

उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पनि आफ्नै क्षेत्रबाट बाहिर निस्कन सकेका छैनन्। उपमहासचिव प्रदीप ज्ञवालीका साथै सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले पनि आफ्नो क्षेत्र छाड्न सकेका छैनन्। उनीहरूलाई एमाले नेता तथा कार्यकर्ताले पार्टीको आगामी नेतृत्वका रूपमा हेर्ने गरेका छन्।  

माओवादी पदाधिकारीहरू पम्फा भुसाल, देवप्रसाद गुरुङ, वर्षमान पुन, जनार्दन शर्मासहित नेताको अवस्था पनि उस्तै छ। अध्यक्ष पुष्पकमल दाहाल नै आफ्नो मात्र नभएर अन्य चुनावी सभामा पुगिरहेका छन्। चुनावी प्रतिस्पर्धामा नरहेका र राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाहाललाई केही चुनावी सभामा साथ दिइरहेका छन्। प्रतिनिधिसभातर्फ १९ स्थानमा प्रतिस्पर्धामा रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल चुनावी सभाहरूमा हिँडिरहेका छन्। तर सम्मानित नेता झलनाथ खनालसहितका अन्य नेता भने आफ्नै क्षेत्रमा सीमित छन्।

मधेसलाई आफ्नो आधार बनाउँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाका त शीर्ष नेता नै चुनावी अभियानमा निस्कन सकेका छैनन्। लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव मंसिर ४ गते हुने चुनावी परिणाम आफ्नो पक्षमा पार्न नै पहिलो चुनौती बनेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App