८ वैशाख २०८१ शनिबार
राजनीति

स्थापित व्यवसायी पनि चुनावी प्रतिस्पर्धामा

राजनीतिप्रति आम जनतामा आक्रोश बढ्दै गएको भनिएका बेला मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्ति प्रतिस्पर्धामा उत्रिएका छन्। आआफ्नो क्षेत्रमा स्थापित भइसकेका व्यवसायीसमेत संसद्मा प्रवेश गर्ने आकांक्षासहित निर्वाचनमा होमिएका हुन्।

व्यापारी, व्यवसायी, संस्थागत विद्यालयका लगानीकर्ता, स्वास्थ्यकर्मीदेखि हिमाल आरोही, कलाकारलगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनमा विनोद चौधरीदेखि, कोमल वली, रेखा थापा, विश्व पौडेल, रवि लामिछाने, उमेश श्रेष्ठ, बहादुरसिंह लामासहितका व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

पहिलोपटक एमाले र दोस्रोपटक कांग्रेसबाट समानुपातिकमा सांसद बनिसकेका व्यवसायी चौधरी यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। आर्थिक चलखेल गरेर सांसद बनेको आरोप खेप्दै आएका व्यवसायी चौधरीले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। हाल मतदातासँग घरदैलो तथा साक्षात्कार अभियानमा दौडधुप गरिरहेका चौधरीले मतदातालाई निर्वाचन जितेको वर्ष दिनसम्म केही गर्न नसके अर्को पटक निर्वाचनमा मत नदिन आग्रह गरिरहेका छन्। उनले माटाको गुण तिर्ने अवसर पाएको बताउँदै नवलपरासी र त्यस क्षेत्रका मतदाताको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्दै घरदैलो तथा साक्षात्कार अभियानमा मतदातालाई मत दिन अपिल गरिरहेका छन्। उनले नवलपरासीमा विकासको गति तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई सही उम्मेदवार चुन्न आग्रहसमेत गरेका छन्। विश्वका धनाढ्यहरूको सूचीमा १९२९औं नम्बरमा रहेका चौधरीका विभिन्न लोकप्रिय कम्पनी छन्। १.५ अर्ब डलरभन्दा बढीका मालिक चौधरीले सुखी, खुसी, समुन्नत, सुदृढ र समृद्ध समुदाय, समाज र राष्ट्र निर्माणका लागि आफ्नो उम्मेदवारी दिएको बताउँदै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी निर्वाचन चिह्नबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की पेसागत हिसाबले मेडिकल डाक्टर हुन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर–३ बाट उम्मेदवार छिन्। उम्मेदवारी घोषणापश्चात् वैकल्पिक र सत्तारूढ दलहरूले आआफ्नो पार्टीबाट निर्वाचन लड्न प्रस्ताव गरे पनि कुनै पनि पुराना तथा स्थापित दलहरूलाई विश्वास गर्न नसकेकाले युवा तथा परिवर्तनकारी व्यक्ति मात्रै नभएर समूह नबनिसकेको स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिएको उनले बताइन्। ‘स्वास्थ्य, शिक्षा र रोजगारीमा सहजीकरण र परिवर्तन ल्याउनका लागि उम्मेदवार भएकी हुँ,’ उनले भनिन्, ‘मुलुकमा दक्ष, युवा, पढेलेखेको स्पष्ट तथा इमानदार नेतृत्वले मात्र अबको परिवर्तन र विकास सम्भव छ। मुलुकमा स्वास्थ्यजस्तो संवेदनशील विषयलाई सरकारले सधैं नजरअन्दाज गरेको हुँदा जनतामुखी व्यवस्था र विकासका लागि मैले उम्मेदवारी दिएकी हुँ।’

वर्षौंदेखि एउटै घोषणपत्र भएका दल र उम्मेदवारलाई मतदाताले पटक–पटक निर्वाचन जिताएर पठाउँदासमेत मुलुकमा विकास तथा सकारात्मक परिवर्तन आउन नसकेको आरोप उनले लगाइन्। जनताले देशमा परिवर्तन तथा विकास चाहेकोमा मूलधारका दलहरूले स्थापित गरेको स्वन्तन्त्रता, स्वाधीनता र व्यवस्था जनतालाई पुगिसकेको दाबी उनले गरिन्। ‘विगतमा जेल गइसकेका तथा ढुंगामुढा गरेका व्यक्ति, जो बाजे उमेरका छन्, उनीहरूले अहिलेको युवा जनशक्तिको भावना कसरी समेट्न सक्छन् ?’ उनले प्रश्न गरिन्, ‘मुलुकलाई युवा तथा दक्ष जनशक्ति आवश्यक छ।’ नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यसमेत भइसकेकी डा. कार्कीले सरल तथा सहज स्वास्थ्य व्यवस्था, महिला तथा बालबालिका, रोजगारी तथा उद्यमशीलता, प्राविधिक शिक्षा र बजेटको सही कार्यान्वयनलगायत विषयलाई प्राथमिकतामा राखेकी छन्।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेकी नेपालको पहिलो महिला सेभेन समिट आरोहण टोलीको सदस्य माया गुरुङ सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार छिन्। आफ्नो जिल्लामा सामाजिक अभियन्ताको रूपमा निरन्तर कार्य गरिरहेकी उनी व्यक्ति र संस्थागत रूपमा भन्दा नीतिनिर्माण तहमा उपस्थित हुन सकेको खण्डमा प्रभावकारी परिवर्तन ल्याउन सकिने महसुस गरेर आफूले उम्मेदवारी दिएको तर्क गर्छिन्। उनले राजधानीसँग जोडिएको जिल्ला भए पनि मुलुकको पिछडिएको जिल्लाको रूपमा रहेको सिन्धुपाल्चोक जिल्लामा कुनै पनि नेता तथा राजनीतिक दलहरूले जिल्ला तथा जिल्लावासीको समस्यालाई जहिल्यै गम्भीर भएर लाग्ने जनाइन्। ‘सिन्धुपाल्चोकले कहिल्यै यस क्षेत्रको समस्या र भावना बुझ्ने नेता पाएन,’ उनले गुनासो गरिन्, ‘यहाँका मतदातालाई सपना देखाएर मत जितेर कहिल्यै यस क्षेत्रमा नफर्कने नेताले यहाँ विकास निर्माण गर्ने कुरा गफै मात्र भएको हुँदा मैले यस क्षेत्रको विकासका लागि उम्मेदवारी दिएकी हुँ।’

अहिले जिल्लावासीसँग घरदैलो तथा साक्षात्कार कार्यक्रम गरिहेको उनले महिला तथा बालबालिका, शिक्षा, युवा तथा रोजगार र भ्रष्टाचार उन्मूलनलगायत विषयलाई प्राथमिकतामा राखेकी छन्। हिमाल प्रवद्र्धनलाई प्राथमिकतामा राखेकी उनले नेपालमा पर्यटन उद्योगको सम्भावनाका लागि पूर्वाधार निर्माण गर्न सरकारले अध्ययन गर्नुपर्ने तर्क गरेकी छन्। नेपालको आर्थिक विकासका लागि सम्भावना बोकेको पर्यटन उद्योग रहेको बताउँदै उनले भनिन्, ‘नेपाल हिमालैहिमालको मुलुक हो। यहाँ साहसिक, धार्मिक, पर्यटनदेखि मिश्रित सबै प्रकारका पर्यटनको सम्भावना छ। हिमाललाई न बनाउनु पर्ने न मिलाउनु पर्ने यसलाई विश्वजगत्मा प्रचारप्रसार गर्न र उचित नीति तथा व्यवस्था ल्याउन सके राष्ट्रले फाइदैफाइदा पाउँछ। त्यसैले प्राथमिकताका साथ मैले पर्यटन उद्योगलाई विस्तार गर्न खोजिरहेको छु।’

अभिनेत्री रेखा थापाले मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन्। घरदैलो तथा साक्षात्कारमार्फत मतदातामाझ मत मागिरहेकी उनी पहिलो पटक प्रतिनिधिसभामा पुग्ने सपनासहित आफूले उम्मेदवारी दिएको बताउँछिन्। ‘परम्परागत पार्टी र राजनीतिक शैलीभन्दा नयाँ तथा युवा उम्मेदवारलाई निर्वाचनमा विजयी गराएर परिवर्तन गर्नुपर्छ भनेर निर्वाचनमा उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्, ‘मतदाताले विकास निर्माणसहित परिवर्तनको अपेक्षा गरिरहेका छन्। ‘मतदाताको भविष्य निर्माण गर्न यस पटकको निर्वाचनमा ठूला दल र उनीहरूका उम्मेदवारलाई पटक–पटक विश्वास गर्दासमेत परिवर्तन र विकास नभएकाले मैले उम्मेदवारी दिएकी हुँ।’

प्रकाशित: २९ कार्तिक २०७९ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App