१६ चैत्र २०८० शुक्रबार
राजनीति

विरासत जोगाउन र भत्काउन होड

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा गण्डकीमा कांग्रेस नेतृत्वको गठबन्धन ११ क्षेत्रसहित अघि देखिएको छ। एमाले नेतृत्वको विपक्षी गठबन्धन ७ क्षेत्रमा अगाडि छ।

गण्डकी प्रदेशका ११ जिल्लामा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। त्यहाँबाट कांग्रेस नेता रामचन्द्र पौडेलदेखि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालासहितका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय समाजवादी फोरमले पाएको समानुपातिक मतलाई लिँदा विपक्षी गठबन्धन सात र सत्ता गठबन्धन ११ क्षेत्रमा अगाडि छन्।

तीमध्ये पर्वत र बागलुङ १ मा सत्ता गठबन्धन झिनो मतले मात्र अघि छन्। अन्य क्षेत्रमा भने दुवै गठबन्धनले पाएको मतान्तर केही हजारमा छ। पर्वतमा सत्ता गठबन्धनबाट कांग्रेसका अर्जुनप्रसाद जोशी उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट एमालेका पदम गिरी प्रतिस्पर्धामा छन्। बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्। केसीसँग एमालेका सूर्यप्रसाद पाठक भड्किँदैछन्।

उक्त मतमा सत्ता गठबन्धनको साझेदार राष्ट्रिय जनमोर्चाले पाएको मतलाई समावेश गरिएको छैन भने सत्ता गठबन्धनमा राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने त्यस प्रदेशबाट १५ क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। उसले मुस्ताङ, मनाङ र बागलुङ २ मा उम्मेदवारी दिएको छैन। त्यसलाई समेत आधार बनाउने हो भने विपक्षी गठबन्धन थप कमजोर देखिन्छ। एमाले नेतृत्वको सत्ता गठबन्धन अघि रहेका क्षेत्रमा कास्कीका तीन क्षेत्र, नवलपरासी पूर्व १, मुस्ताङ, लम्जुङ र स्याङ्जा १ छन्।

कास्की १ मा एमालेबाट मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ बाट विद्या भट्टराई र क्षेत्र नम्बर ३ मा दामोदर पौडेल उम्मेदवार छन् भने सत्ता गठबन्धनमा कांग्रेसका किशोरदत्त बराल, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट श्रीनाथ बराल र माओवादीबाट रामजीप्रसाद बराल क्रमशः प्रतिस्पर्धामा छन्। कास्की २ मा पनि श्रीनाथविरुद्ध कांग्रेसका महादेव गुरुङले विद्रोही उम्मेदवारी दिएका छन्। त्यसले एकीकृत समाजवादीका उम्मेदवारमाथि चुनौती बढाइदिएको छ। बाँकी ११ क्षेत्रमा सत्ता गठबन्धनको मत अघि छ।  

उक्त निर्वाचनमा एमालेले १२ निर्वाचन क्षेत्रमा पहिलो मत पाएको देखिन्छ भने बाँकीमा कांग्रेस अघि छ। कांग्रेसले गोरखा १, नवलपरासी १, मनाङ, स्याङ्जा २ मा समानुपातिकतर्फ बढी मत पाएका छन्। समानुपातिकतर्फको निर्वाचनमा दलहरूले पाएको मतलाई आधार बनाउँदा कांग्रेस अघि रहेको गोरखा १ बाट सत्ता गठबन्धनबाट राजेन्द्र बजगाईं उम्मेदवार छन्। बजगाईंसँग एमालेका रामशरण बस्नेत प्रतिस्पर्धा गर्दैछन्।

नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला उम्मेदवार छन्। निरन्तर त्यस क्षेत्रबाट तीनपटक जित निकालेका कोइरालासँग एमालेका कृष्णप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा हुँदैछ। स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेत्री पद्मा अर्याल चुनावी मैदानमा छन्।

स्थानीय तहको निर्वाचनको मतलाई आधार बनाउँदा त्यस प्रदेशका आठ क्षेत्रमा विपक्षी गठबन्धन अघि छ। नौ क्षेत्रमा मात्र सत्ता गठबन्धन अघि देखिन्छ। कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कास्की २ मा बाहेक १ र ३, गोरखाका दुवै, तनहुँ १, बागलुङका दुवै, म्याग्दी र स्याङ्जाका दुवै क्षेत्रमा अघि देखिन्छ। स्थानीय तहको मतलाई हेर्ने हो भने एमाले अघिल्लो निर्वाचनमा भन्दा केही कमजोर भएको देखिन्छ। उसले अघिल्लो निर्वाचनमा १२ क्षेत्रमा एकल अग्रता कायम गरेकोमा यो निर्वाचनमा १० क्षेत्रमै सीमित हुन पुगेको छ।

त्यसको कारण पार्टीबाट माधवकुमार नेपालसहितका नेताहरू अलग भएर गठन भएको नेकपा एस हुन सक्छ। अघिल्लो निर्वाचनमा एमाले एक थियो। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रको आन्तरिक कलह प्रमुख दलका लागि टाउकोदुखाइको विषय बन्दै आएको छ। कास्की ३ मा माओवादीकै अनिता भुर्तेल पार्टीका आधिकारिक उम्मेदवार रामजी बरालविरुद्ध उठेकी छन्। बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेलविरुद्ध उक्त पार्टीकै तुलसी अर्यालले उम्मेदवारी दिएका छन्। त्यहाँ विपक्षी गठबन्धनबाट मन्जु शर्मा प्रतिस्पर्धामा छिन्।

तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको उम्मेदवारी छ भने एमालेबाट एकबहादुर राना उम्मेदवार छन्। जोशीको उम्मेदवारी २०७४ को निर्वाचनमा अप्ठेरो पर्ने बुझाइमा रहेका पौडेलले उम्मेदवारी खारेजीका लागि निवेदन दिएका थिए। उम्मेदवारी खारेजी भए पनि तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पौडेल झन्डै ७ हजार मतान्तरले पराजित भएका थिए।

अहिले श्रेष्ठ पौडेललाई सहयोग गर्दै बारा ४ बाट उम्मेदवार बनेका छन्। त्यसले पनि पौडेलका लागि आगामी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज हुने आकलन गरिएको छ। तनहुँ २ मा कांग्रेसबाट शंकर भण्डारी र एमालेका किरण गुरुङबीच प्रतिस्पर्धा छ। कांग्रेस आगामी निर्वाचनबाट गण्डकी प्रदेशमा आफ्नो पुरानो विरासत फिर्ता गर्ने रणनीतिसहित चुनावी अभियानमा जुटेको छ।

२०७४ को निर्वाचनमा कांग्रेसबाट नवलपरासी बर्दघाट सुस्तापूर्व १ बाट पूर्वमहामन्त्री शशांक कोइरालाले मात्र जितेका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसले अवस्था त्यस प्रदेशमा मजबुत थियो। कांग्रेस आफ्नो पुरानो विरासत फर्काउने पक्षमा देखिएको छ भने एमाले २०७४ को निर्वाचन नतिजालाई नरिन्तरता दिने रणनीतिसहित सक्रिय छ। तर दुवै गठबन्धनका लागि पार्टीभित्रको आन्तरिक किचलो तथा नयाँनयाँ पार्टी र स्वतन्त्र उम्मेदवार थप चुनौती बन्ने देखिन्छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App