निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ। आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए। उनका अनुसार कारागारमा अस्थायी मतदान केन्द्र राखिने भएको छ।
गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो। यसपटक स्थानीय तहकोे तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाएको जनाएको छ। आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ। यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ। यसवटक शिक्षकहरूलाई समेत निर्वाचनमा खटाइएको सूचना अधिकारी अर्यालले बताए। निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिएको छ।
आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ देखि ९ कर्मचारी खटाइएका थिए। तर यसपटक एउटा मतदान केन्द्रमा ९ देखि ११ जनासम्म कर्मचारी रहने भएका छन्। आयोगका अनुसार २ सय ५० मतदाता भएको मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृतसहित ९जना, २सय ५० देखि ५सय सम्म मतदाता भएको मतदान केन्द्रमा १ जना अधिकृत, एकजना सहायक अधिकृत सहित ११ जना कर्मचारी खटाउने व्यवस्था गरिएको छ। यसैगरी २ सय ५० मतदात भएको अस्थायी मतदान केन्द्रमा १जना अधिकृतसहित ४ जना, २ सय ५० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा १ जना अधिकृतसहित ५ जना कर्मचारी खटाउने व्यवस्था गरिएको छ।
कर्मचारीहरूको तलब भत्ता कति हुन्छ ?
निर्वाचन आयोगमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूको तलबभत्ता, सेवा सुविधाको सम्बन्धमा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७९ पास गरेको छ। जस अनुसार मतदान अधिकृतको प्रतिदिन भत्ता २ हजार ५ सय, सहायक मतदान अधिकृतको प्रतिदिन २ हजार, सहायक कर्मचारीको प्रतिदिन १ हजार ६सय, सहयोगी कर्मचारीको प्रतिदिन एक हजार ६सय, सहयोगी कर्मचारीको एक हजार २सय भत्ता दिने व्यवस्था गरिएको छ। भवन उपलब्ध भएको ठाउँमा मतदान केन्द्र निर्माण खर्चमा ७ हजार तथा भवन उपलब्ध नभएको ठाउमा मतदान केन्द्र १५ हजारको व्यवस्था गरिएको छ।
यसैगरी मतपेटिका निर्वाचन सामग्री ढुवानी खर्चमा १५ किमिमा ३ हजार, विविध तथा भैपरी आउने खर्च (पानी, बिजुली, सञ्चारसमेत) ५ हजार तोकिएको छ। यो खर्च मतदान अधिकृतलाई भरपाइ गरी बुझाउनेपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, सुरक्षा अनुगमन घुम्ती टोलीतर्फ सुरक्षा टोली प्रमुख (अधिकृत स्तरतको नवौं वा दसांै) प्रतिदिन २ हजार ५ सय, घुम्ती टोली सवारीचालक प्रतिदिन १ हजार ६ सय, घुम्ती टोलीको सवारीसाधानको इन्धन प्रतिदिन ३ हजार, घुम्तीटोलीको खाजा खर्च प्रतिदिन २ हजारको व्यवस्था गरिएको छ।
यसैगरी प्रमुख मतगणना अधिकारी टोलीको भत्ता दैनिक २ हजार ५ सय तथा मतगणनाका लागि एकै समयमा एकभन्दा बढी टोली परिचालन गरिएकोमा प्रमुख मतदान अधिकारीले प्रत्येक टोलीका लागि पाउने थप रकम १ हजार पाउने व्यवस्था गरिएको छ। यसैगरी मतगणनाका लागि मतगणना सहायक तथा कम्प्युटर अपरेटरका लागि प्रतिदिन १ हजार ६ सय तथा कार्यालय सहयोगीको लागि प्रतिदिन १ हजार २ सय रूपैयाँ भत्ता व्यवस्था गरिएको छ।
यसैगरी, मसलन्द तथा कार्यालय सामग्रीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १ लाख तथा निर्वाचन अधिकृतको कार्यालयमा ८० हजार, पानी तथा बिजुलीको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ६०/६० हजार, सञ्चार खर्चमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतकोलागि ३०/३० हजार, मर्मत तथा सम्भारमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ३०/३० हजार, इन्धन तथा अन्य सुविधाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि ६०/६० हजार रूपैयाँ व्यवस्था गरिएको छ। मतगणना व्यवस्थापनका लागि २० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३० हजार, निर्वाचन अधिकृतको कार्यालयमा २५ हजार खर्च गर्न व्यवस्था गरिएको छ।
यसैगरी ५० हजार मतदाता भएमा ४० हजार, ८० हजारभन्दा बढी मतदाता भएमा ५० हजार, ८० हजारभन्दा बढी मतदाता भएमा ६० हजार रूपैयाँ मतगणना व्यवस्थापनका लागि खर्च गर्न सकिने व्यवस्था गरिएको छ। मतगणनामा चिया खाजा खर्चमा ५ हजार तथा विधिका लागि मुख्य निर्वाचन अधिकृतमा ५० हजार र निर्वाचन अधिकृतको कार्यालयमा ३५ हजार उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्रकाशित: २७ कार्तिक २०७९ ०२:३१ आइतबार