नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको आमनिर्वाचन देशको जित र हारसँग जोडिएको बताएका छन। कैलाली क्षेत्र नं. २ ले आज लम्कीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनले देश हार्ने कि जित्ने कुरा तय गर्ने बताए।
‘मंसिर ४ को निर्वाचन एउटा दलले जित्ने र हार्ने निर्वाचन मात्रै होइन, यो देशले जित्ने कि हार्ने कुरा हो’ उनले भने –‘देशलाई बर्बाद पार्ने तत्वहरुले विभिन्न चलखेलका माध्यमबाट चुनाब बिथोल्न खोजिरहेका छन्, यस निर्वाचनलाई देशका पक्षमा, कानुनी राज्यका पक्षमा र विकासका पक्षमा पार्नका लागि सबै देशभक्त एक हुन जरुरी छ।’
काँग्रेस नेतृत्वमा बनेको गठबन्धनलाई ओलीले जनता र देशलाई ठग्ने जाली, फटाहाहरु मिलेर बाँडीचुडी खानका लागि बनाएको ठगबन्धन भएको आरोप लगाए। उनले गठबन्धनसँग देश विकासका लागि साझा एजेण्डा नभएको दावी गरे।
उनले गठबन्धनसँग आगामी प्रधानमन्त्री को हुने भन्ने कुरा स्पष्ट नभएको बताए। ‘काँगे्रसको छुट्टै, माओवादीको छुट्टै, समाजवादीको छुट्टै घोषणा पत्रहरु छन्’ उनले भने –‘उनीहरुसँग प्रधानमन्त्री को बन्ने भन्ने सम्म स्पष्ट छैन ? मलाई लाग्छ उनीहरुसँग प्रधानमन्त्री बन्न योग्य व्यक्ति नै छैन।’
मुक्त कमैया, सुकुम्बासी, हलियालगायतका समस्या समाधान गर्न एमालेले तयारी गरेका बेला सरकार ढालेको आरोप ओलीले लगाए। उनले गठबन्धनसँग सरकार बनाउने विश्वास नभएको समेत जिकिर गरे। ‘उहाँहरुले एमालेलाई अगाडि देखेपछि साँतो जाने गरेको छ’ उनले भने ‘फुटेका हाँडीका टुक्राहरु जोडेर बनाएको सरकारले केही गर्न सक्दैन।’
उनले मंसिर ४ गतेको निर्वाचन पछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दावी गरे। उनले एमालेले मात्रै देशलाई अग्रगमनको बाटोमा लैजान सक्ने बताए।
प्रकाशित: २६ कार्तिक २०७९ १३:१७ शनिबार