८ वैशाख २०८१ शनिबार
राजनीति

गोरखाका धुलाे बाटो पाँच वर्षभित्र पिच हुन्छ: अध्यक्ष दाहाल

गोरखाको अजिरकोट भच्चेकमा चुनावी सभामा संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल।

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखाका धुले सडकहरु पाँच वर्षभित्र कालोपत्रे हुने बताएका छन्। बिहीबार गोरखाको भच्चेकमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले भने, ‘म अहिले धुलो, हिलो र असजिलो बाटोहरु हिँडिराख्याछु, पाँच वर्षभित्र यी सबै बाटोलाई पिच बनाउने र यहाँको जनताको जिवनमा परिर्वतन ल्याउने छु।’

बाटो राम्रो भयो भने, चिल्लाे भयो भने गाडी सलल कुद्ने बताउँदै उनले जति गाडी छिटो दौडिन्छ विकासको गति त्यति छिटो हुने बताए। आर्थिक विकासको पूर्वाधारकालागि सडक प्रमुख रहेकाले पहिलो प्राथमिकता पालिका, वार्ड, मुख्य सडक कालोपत्रे गर्नेमा दिने उनले बताए।  

देशमा राजनीतिक परिर्वतन सँगैआर्थिक बिकास भने हुन नसकेको उनले बताए। ‘अब आर्थिक क्रान्ती गर्न सकिएन भने राजनीतिक क्रान्ती पनि खतरामा पर्ने भयो’ दाहालले भने, ‘जनताको घर आगनमा उज्यालो पुर्‍याउन सकिएन, आर्थिक क्रान्ती र समृद्धी जोड्न सकिएन।’ अहिले गठबन्धन दलबिच संविधानको रक्षाका साथै राजनीतिक स्थायीत्व र आर्थिक समृद्धीलाई तीब्र गतिमा अघि बढाउने निर्णय भएको उनले बताए।  

‘मेरो बाँकी जिबन अब आर्थिक क्रान्तिमका निम्ती हुनेछ’ उनले भने, ‘देशमा आर्थिक क्रान्ती गर्न गोरखाले त्यसको नेतृत्व गर्छ, गोरखाबाट सुरु गर्ने गरी म यहाँ आएको हुँ।’ गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकलाई राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय रुपमा परिचित गन्तब्यको रुपमा बिकास गर्ने र पर्यटकीय केन्द्र बनाउने दाहालले बचन दिए। त्यहाँ उत्पादन भएको चिया, अलैँची देशभर बिक्री गर्ने, शिक्षा स्वास्थ्य, रोजगारीको सिर्जना गर्ने उनले बताए।  

संविधान सभा बिघटन मात्र नभई राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणिकरण नगर्नुपनि संविधानको उलंघनको नमुना भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए। ‘संविधान र लोकतन्त्र विरोधी प्रवृत्तीले टाउको उठाउने खतरा छ’ उनले भने, ‘मंसिर ४ गते प्रतिगमनलाई परास्त गर्नुपर्छ।’

गठबन्धन भित्रैकै नेपाली कांग्रेसका नेता कार्यकर्तालाई लक्षित गर्दै उनले १२ बुँदे समझदारी नै जय नेपाल र लाल सलाम सँगै रहेको स्मरण गराए। मनमा कतै द्वविधा छ भने कसैले त्यो राख्न जरुरी नभएको बताउँदै उनले भने, ‘सम्झौता हुने नै दुई युद्धरत पक्षबीच हो, ठूला परिर्वतन ल्याउन भुमिका तिनैको हुन्छ, यो गठबन्धन चुनावका लागि मात्र हैन आर्थिक विकासकाे लागि हाे।'

प्रकाशित: २४ कार्तिक २०७९ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App