coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पर्वतमा खानेपानी र विद्युत् चुनावी मुद्दा

अधिकांश जिल्लाका गाउँ र सहरमा अझै पनि खानेपानीको उचित प्रबन्ध छैन।  धेरैजसो जिल्लामा यी विषय उम्मेदावरका चुनावी अजेन्डा बनिरहेका छन्।  कतिपय जिल्लाका गाउँ अझ पनि अन्धकारमै छन्।  राजनीतिक र पूर्वाधारका अजेन्डाकै साथमै विद्युत् र खानेपानीका अजेन्डाले ठाउँ पाइरहेको छ।  पर्वतमा भने यो विषयलाई यसपालिको निर्वाचनमा कुनै दलले चुनावी अजेन्डा नै बनाएका छैनन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा दशकयता खानेपानी र विद्युत् समस्या छैन।  बरु विद्युत् उत्पादन गरेर अरू जिल्लालाई दिइरहेको छ पर्वत।  यसअगाडिका जनप्रतिनिधिले यी अजेन्डामा काम गरेकाले यस्तो भएको हो।  ‘यसमा हामीले पर्याप्त काम ग¥यौं।  गाउँगाउँमा बाटो पुगेको छ’, यस क्षेत्रमा तीनपटक सांसद र अहिले पाँचौंपटक उम्मेदवार बनेका अर्जुन जोशीले भने।  जिल्ला सदरमुकाममा मात्रै स्वच्छ खानेपानीको प्रबन्ध भए पनि अन्य क्षेत्रमा पनि समस्या टरेको छ।  विगतमा कुश्मा बजारमै खानेपानी समस्या निकै थियो तर आठ वर्षअगाडि एडिबीको परियोजनाबाट १८ किमी टाढाबाट पानी ल्याएर सहरबासीलाई वितरण गरिएको छ।  यो निकै महँगो परियोजना हो।  

कुश्माको गुप्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख सुवास पन्त पर्वत जिल्लामा खानेपानी र बिजुली वितरण गर्ने विषय विगतमा उम्मेदवारको चुनावी मुद्दा बने पनि अहिले नबनेको सुनाए।  उनले भने, ‘जिल्लामा जनताले यी सुविधा पाएकाले नै मुद्दा बन्न छाड्यो। ’

पर्वतले जनआन्दोलन ०६२÷०६३ मा पहिलो सहिद बनाएर देशलाई योगदान ग¥यो।  लोकतन्त्र र यति लामो समयपछि पर्वत जिल्लाले बिजुली र पानी पाएको छ।  लोकतन्त्र आए पनि यहाँका जनताको जीवनस्तरमा भने केही सुधार देखिएको छ तर जिल्लाको समग्र विकासको गति भने मन्द देखिन्छ।  अरू समस्यामा उस्तै छन्।  

पञ्जायतकालदेखि नै शैक्षिक विकास तथा सरकारी सेवामा नागरिकको पहुँचले आर्थिक हैसियत र चेतना माथि छ तर युवा बेरोजगार तथा स्थानीय समस्या समाधान गर्ने विषय चुनावी अजेन्डा नबनेको र अजेन्डा परिवर्तन नै नभएको प्राध्यापक सुवास पन्त बताउँछन्।  ‘बाटोघाटो अझ पनि अजेन्डा बनिरहेको छ तर सबै वडामा बाटो पुगिसक्दा पनि अजेन्डा बन्नु बेथिति हो।  वित्तीय साधन र स्रोतको दोहन गर्न यी अजेन्डा बनिरहेका छन्’, उनले भने।  

धेरै ठाउँमा बाटो पुगेकाले बर्खामा विनाश निम्त्याएको छ भने पानीका मूलसमेत सुक्न थालेका छन्।  दिगो विकासका कुरामा ध्यानै नदिईकन गरिने पूर्वाधार विकासले विनाश ल्याउने उनले बताए।  विकास नै बाटो हो भन्ने अहिले जनतामा पारिएको छ।  हिजो र आजका चुनावी नारा परिवर्तन नभएको र पूर्वाधार निर्माणलाई मात्रै विाउने काम भइरहेको पन्तको भनाइ छ।  

पर्वतका ६१ वडामा मोटरबाटोबाट पुग्न सकिन्छ।  स्थानीय समाजसेवी लोकनाथ आचार्य कच्ची बाटोको सञ्जालले वडावडा जोडिए पनि बर्खामा मोटर चल्न कठिन हुने बताए।  उनले भने, ‘गाउँमा बाटो पु¥याएर जनतालाई खुसी बनाए पनि प्रकृतिको विनाश भएको छ।  जहाँ पाए त्यहीं बाटो बनेका कारण बाढीपहिरोले बर्खामा लाखौं धनजनको क्षति गएको छ।  बाटो खनिएपछि धेरै पानीका स्रोत सुकेका छन्। ’

अजेन्डाले आकर्षण गर्ला ?

कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशी एमालेका पदम गिरीसँग प्रतिस्पर्धा गर्दैछन्।  जोशीले लोकतान्त्रिक संविधानलाई जनस्तरमा पु¥याएर जनतालाई सार्वभौमसत्ता सम्पन्न, संविधानलाई दिगो र मुलुकलाई समृद्ध बनाउने जस्ता विषयलाई अजेन्डाका रूपमा अगाडि सारेका छन्।  निरंकुश र प्रतिगमन कार्यविरुद्ध प्रजातान्त्रिक शक्ति एक भएर अगाडि बढ्ने, संविधान र संसद्लाई जीवन्त राख्न योगदान गर्ने, बनेका पूर्वाधारलाई निरन्तरता दिने उनका अजेन्डा छन्।  कच्ची बाटो व्यवस्थित गर्ने, विकास र समृद्धिलाई सँगै जोड्न कृषि उत्पादनबाट जिल्ला धनी बनाउने, कृषिलाई उत्पादन र रोजगारसँग जोड्ने र युवा बेरोजगार समस्या समाधानका लागि काम गर्ने बताए।  

गाउँमा बाटोघाटो र बिजुली पुगेको छ तर युवा त्यसमा जोडिएर उपयोग गर्न सकिरहेका छैनन्।  कृषि वा अन्य आर्यआर्जनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले सुनाए।  उत्पादन र रोजगारका प्रशस्त सम्भावना रहेकाले खाडी देशहरूमा कमाउने पैसा यहीं कमाउन सकिने आधार तय गर्न आवश्यक देखिएको र त्यसका लागि ठोस काम गर्ने योजना रहेको उनले सुनाए।  

धार्मिक पर्यटनको सम्भावना रहेकाले त्यसको विकास गर्ने उनका अजेन्डा छन्।  प्राकृतिक स्रोत उपयोग गरी युवालाई रोजगार दिने उनले बताए।  हिजो यो क्षेत्रमा पूर्वाधार निर्माणमा काम धेरै काम गरेकाले जनताले अहिलेको अजेन्डामा पनि विश्वास गर्ने र मत दिने उनको विश्वास छ।  समृद्ध र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्न केन्द्रित हुने उनले बताए।  

हिजो एमाले र माओवादीको गठबन्धनसँग आफू एक्लै लडेको र अहिले प्रजातन्त्र र लोकतन्त्र संरक्षण गर्न गठबन्धनको साथमा र मजबुत राष्ट्रिय राजनीतिक मुद्दाका साथ अगाडि बढेको जोशी बताउँछन्।  उनका अनुसार यो क्षेत्रमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ तर जनताले आफूहरूमाथि गुनासो गरिरहेका छन्।  

लोकप्रिय नारा दिएर काम नगरेका नेताहरूका कारण अरू पनि अहिले आम मतदातामाझ बद्नाम हुने अवस्था रहेको उनले बताए।  ‘धेरैजसोले जनताका भावना र मुद्दा सम्बोधन नगरेका कारण सबै नेता उस्तै त हुन् नि भन्ने हामीमाथि परेको हो’, उनले भने।  

यो क्षेत्रमा तीनपटक जित हासिल गरेका जोशीलाई पराजित गर्दै एमालेका पदम गिरी ०७४ को प्रतिनिधिसभामा निर्वाचित भएका थिए।  उनी दोहोरिने प्रयास गर्दै छन्।  जोशीको हिजोको विरासत र गठबन्धनको साथले पनि गिरीलाई कठिन पर्ने देखिन्छ।  स्थानीय तह निर्वाचनमा टिकट वितरणको असन्तुष्टिले कांग्रेसका कार्यकर्ताबाटै जोशीमाथि अन्तरघात भएपछि विगतमा यो क्षेत्रबाट आउट भएको उनीनिकट बताउँछन्।  

गिरीले जनताका हित र आवश्यकताका आधारमा नीतिनियम बनाउने, ०७४ सालमा सारेका अधुरा योजना अगाडि बढाउने, विद्यालय र कच्ची बाटोहरूको स्तरोन्नति गर्ने, कृषिजन्य स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने गुणस्तरीय शिक्षाका लागि पहल गर्ने योजना छ।  आफ्नो कार्यकालमा धेरै नीति निर्माण गर्नेदेखि पूर्वाधार निर्माणसम्मका काम गरेको उनको दाबी छ।  ‘हिजो हामीले काम गरेकाले जनता प्रतिफल पाउने अवस्थामा छन्’, उनले भने।  

पर्वत जिल्लामा प्रतिनिधिसभाका लागि दल र स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका छन्।  एमालेका गिरी र नेपाली कांग्रेसका जोशीको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपा नेपालका ठाकुरप्रसाद भुसाल, राप्रपाका दीपकबहादुर मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर थापा, नेपाल सुशासन पार्टीका भगवती पौडेल, स्वतन्त्रतर्फ सीता शर्मा र सावित्री शर्मा तथा मंगोल नेसनल अर्गनाइजेसनका चन्द्रबहादुर पाइजा प्रतिस्पर्धामा छन्।  दुईवटा प्रदेशमा दुईजना स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।  प्रदेशमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिन्छ। 

प्रकाशित: २२ कार्तिक २०७९ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App