coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनको मुखमा एमाले परित्याग गर्दै पुराना नेता

नेकपा एमाले छोडेर आएकालाई नेकपा एसमा स्वागत गर्दै सत्ता गठबन्धनको उम्मेदवार श्रेष्ठ।

कात्तिक १९ गते नेकपा (एमाले)का जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरिसहित २९० भन्दा बढी एमालेका नेता/कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न बाध्य बनेका छन्।

नेकपा एसमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरिसहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायत छन्। यस्तै १९ गते नै परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरेका छन्।

पूर्ववडा सदस्य समेत रहेका कुर्मीलाई लोसपाका मधेश प्रदेश अध्यक्ष एंव पूर्वमन्त्री जितेन्द्र सोनलले कुर्मीलाई टिका र माला लगाएर पार्टी प्रवेश गराए। कत्तिक १५ गते नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्व सदस्य देवराज घिमिरेलगायत ७६ जना एमाले परित्याग गरेको घोषणा गरे।

उनीहरुले बारा ३ बाट प्रतिनिधिसभामा ज्वालाकुमारी साह र प्रदेश सभातर्फ बारा ३ को २ मा महम्मद समिरलाई उम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गर्नु परेको गुनासो गरे। कात्तिक १० गते संविधान सभा सदस्य तथा एमाले मधेस प्रदेश कार्य समिति सदस्य जय प्रकाश यादव नेकपा एसमा प्रवेश गराइएको छ।

नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यादवसहित  तीन दर्जन भन्दा बढी नेता/कार्यकर्ताहरुलाई टीका  र माला लगाएर पार्टीमा प्रवेश गराए। कात्तिक महिनामा मात्रै निर्वाचन क्षेत्र नम्बर ३ र ४ का एमालेका स्थानीय स्तरको नेता एमाले परित्याग गरी अन्य पार्टीमा गएको वा स्वतन्त्र रुपले बसेको उदाहरण मात्रै हो।

यसको साथ-साथै नेकपा एमाले वर्षाै बसेका कार्यकर्ताहरु पनि दिनहुँ जसो एमाले छाड्न क्रम जारी राखेका छन्। पुराना र पार्टीमा लगानी गरेको भन्दा अन्य पार्टीबाट आएकालाई उम्मेदवार बनाएको कार्यप्रति असन्तुष्टि जनाउँदै एमालेका स्थानीय नेता कार्यकर्ताहरु दिनदिनै पार्टी परित्याग गर्ने कार्य सुरु गरेका छन्।

एमाले नेतृत्वले माओवादी केन्द्रबाट आएकी ज्वालाकुमारी साहलाई निर्वाचन क्षेत्र नम्बर ३ र लोसपाबाट आएका एकबाल मियाँलाई निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। पार्टीले नवप्रवेशीहरुलाई उम्मेदवार बनाएर पुराना कार्यकर्ताहरुको अपमान गरेको भन्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा एमाले परित्याग गर्नेको संख्या बढ्दै गएको गुनासो गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा एमालेका पुराना स्थानीय नेता/कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै एमाले छोड्दै गएपछि उम्मेदवार साह र मियाँलाई समस्या परेको छ। एमालेका पुराना र सक्रिय कार्यकर्ता रुपमा पार्टीको काममा खटिएको देखा पर्ने मोहन लामिछानेले एमाले बारामा पुराना र पार्टीप्रति इमन्दार कार्यकर्ताहरुको मान सम्मान घटाउने कार्य गरिएको बुझेर धेरै साथीहरुले एमाले छोडन सुरु गरेको दुखेसो गरेका छन्।

माओवादी केन्द्रबाट आएका ज्वालाकुमारी साहलाई प्रतिनिधि सभा  र माओवादीबाट नै आएका अर्का जनआधार नै नभएका महम्द समिरलाई  ३ को ख बाट प्रदेश सभा सदस्यको  उम्मेदवार बनाएको कार्यप्रति क्षेत्रका अधिकांश नेता कार्यकर्ता असन्तुष्टि बनेको लामिछानेले गुनासो गरे।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेबाट प्रतिनिधिसभाको लागि सिफारिस भएकालाई उम्मेदवार नबनाएर लोसपाबाट आएका एकबाल मियाँलाई उम्मेदवार बनाइएको प्रति क्षेत्रका पुराना कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि रहेको उनले बताए। असन्तुष्टिकै कारणले धेरै संख्यामा ३ र ४ मा एमालेका पुराना नेता, कार्यकर्ताहरुले एमालेलाई परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको अवस्था आएको उनले बताए।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेका अध्यान्न पाण्डेले थोरै मतले जसपाका रामबाबु यादवसँग पराजित भएका लामिछानेले सुनाए। त्यसैगरी ४ मा पनि एमालेबाट उम्मेदवार बनेका देवनारायण चौधरीले राजपाको एकबाल मियाँसँग थोरै मतले पराजित बनेका उनले बताए।

३ र ४ मा प्रतिनिधिसभामा पराजित बनेपछि पाण्डे र चौधरीले दिन रात गरेको मिहिनेले स्थानीय हतहरुमा एमालेका धेरै उम्मेदवारहरुले वडादेखि पालिका प्रमुखसम्मा विजयी भएको अवस्थामा एमाले नेतृत्वले त्यसको मूल्यांकन नगरेको देखेर पुराना कार्यकर्ताहरु निराश बनेको उनले बताए। नव प्रवेशीलाई उम्मेदवार नबनाएर पुरानालाई टिकट दिएको भए यी दुवै क्षेत्रमा एमालेले सजिलैसँग विजयी हुने उनले दाबी गरे।

त्यस्तै प्रभु साहले एमालेलाई दिएको धोकाको बारेमा समाजिक सञ्जालमा लेख्दा एमाले जिल्ला नेतृत्वले मलाई समेत स्पष्टीकरण सोधेको कार्यले जिल्ला नेतृत्व पुराना कार्यकर्ताको मानसम्मान गर्नुको साट्टो अपमानित गर्ने कार्य गर्नेमा लागेको लामीछानेले बताए।

एमाले बाराका अध्यक्ष तथा कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले गत स्थानीय तहको निर्वाचनको बेलामा टिकट नपाएर असन्तुष्ट बनेका केही साथीहरुले चुनावको मुखमा पार्टी छोड्ने कार्य गरेको बताए।

पहिलादेखि नै असन्तुष्ट रहेकाहरुले पार्टी छोड्दा खासै फरक नपर्ने दाबी अध्यक्ष साहले गरे। अहिले पनि निर्वाचन क्षेत्र नम्बर १ मा एमाले जितिरहेको र निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा सत्त गठबन्धनको उम्मेदवार लालबुब सिंह र किसान क्षेष्ठसँग प्रतिस्पर्धा रहेको साहले दाबी गरे।

प्रकाशित: २० कार्तिक २०७९ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App