७ वैशाख २०८१ शुक्रबार
राजनीति

दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन्।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा (एमाले) र गठबन्धनका दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन्।

विसं. २०७४ को सम्पन्न निर्वाचनमा तीन प्रदेशसभामा एमाले र एक प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो। प्रदेशसभाको उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेलाई यसपटक निर्वाचनमा पाँचदलीय गठबन्धन चुनौती बन्ने देखिएको छ।

एमालेलाई यो चुनौती जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवै क्षेत्रमा पर्ने देखिन्छ। क्षेत्र नं १ मा पर्ने छवटा स्थानीय तहमध्ये तीन स्थानीय तहमा एमालेले जित हात पारेको छ। अन्य दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेस विजयी भएको छ। स्थानीय तहको मत नतिजालाई केलाउने हो भने यहाँ गठबन्धनभन्दा एमाले करिब नौ हजार तीन सय ९८ मतले पछि देखिन्छ।

संघीय प्रतिनिधिसभाको लागि एमालेबाट रवीन्द्रराज शर्मा र संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाको उम्मेदवारी छ। पाँच दलका साझा उम्मेदवार रहेकाले आफूले जित्ने समाजवादीका उम्मेदवार थापाले जिकिर गर्दै आएका छन्। उसो त एमालेका उम्मेदवार शर्माले एमालेको जनाधार बलियो रहेकाले यो पटक पनि आफू निर्वाचित हुने दाबी गरेका छन्।

तीन दशक एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका गठबन्धनका साझा उम्मेदवार थापा र एमालेका शर्माबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ। नारायण नगरपालिकामा एमालेभन्दा पाँचदलीय गठबन्धन पछि रहेको छ। स्थानीय तहको मतपरिणामलाई हेर्दा यहाँ एमालेले पाँच हजार चार सय ३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले पाँच हजार तीन सय ८२ मत प्राप्त गरेको छ।

नौमूले गाउँपालिकामा एमालेभन्दा गठबन्धनका दल झण्डै चार हजार मतले अघि छन्। नौमूलेमा सामाजवादी–माओवादी गठबन्धनमा तीन हजार दुई सय मत र काँग्रेसको दुई हजार पाँच सय ४४ मत रहेको छ भने एमालेको एक हजार नौ सय २० मत रहेको छ। भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत पाँच हजार ७६ देखिन्छ। एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा एक हजार नौ सय ३३ मत प्राप्त गरेको छ।

गुराँस गाउँपालिकामा गठबन्धनका दलले चार हजार पाँच सय आठ मत रहेको छ भने एमालेको चार हजार छ सय ८१ रहेको छ। डुङ्गेश्वर गाउँपालिकामा एमालेले तीन हजार चार सय छ मत रहेको छ भने गठबन्धन दलहरूको तीन हजार तीन सय ३६ मत रहेको छ। ती स्थानीय तह क्षेत्र नं १ को ९१० प्रदेशमा पर्छन्। यो प्रदेशमा गठबन्धन दलका पूर्णबहादुर चालिसे र एमालेका धर्मराज रेग्मीले उम्मेदवारी दिएका छन्। यसमा गठबन्धनका चालिसे बलियो देखिएका छन्।

स्थानीय तह निर्वाचनमा महावु गाउँपालिकामा कांग्रेसले दुई हजार नौ सय ७९, समाजवादीले दुई हजार दुई सय ६८ र एमालेले दुई हजार पाँच सय १९ मत प्राप्त गरेको छ। क्षेत्र नं १ को (२) प्रदेशमा ती स्थानीय तह पर्छन्। यो प्रदेशसभाका लागि एमालेबाट प्रेमबहादुर थापा र गठबन्धनबाट कृष्णकुमार बिसीले उम्मेदवारी दिएका छन्।

क्षेत्र नं २ मा पाँच स्थानीय तह पर्दछन्। चार स्थानीय तहमा काँग्रेसले जितेको छ भने आठबीस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ। विसं २०६४ बाट संघीय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँचदलीय गठबन्धन भारी पर्ने देखिन्छ।

स्थानीय निर्वाचनमा दलहरूले पाएका मत केदाउँदा एमाले गठबन्धनका दलभन्दा तीन हजार आठ सय पाँच मतले पछि देखिन्छ। गठबन्धन दलबाट कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलले संघीय प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्।

स्थानीय तहको निर्वाचनमा चामुण्डा विन्द्रासैनी नगरपालिकामा गठबन्धनका दलले चार हजार चार सय पाँच मत प्राप्त गरेका छन् भने एमालेले तीन हजार नौ सय ९२ मत प्राप्त गरेको छ। दुल्लु नगरपालिकामा गठबन्धनका दलले सात हजार नौ सय एक मत प्राप्त गरेका छन् एमालेले सात हजार एक सय ६० मत पाएको छ।

भैरवी गाउँपालिकामा गठबन्धनका दलको अलग–अलग मतको नतिजालाई हेर्दा कांग्रेस र माओवादीभन्दा एमाले एक हजार चार सय १० मतले पछि देखिन्छ। काँग्रेसले स्थानीय तहका निर्वाचनमा तीन हजार नौ सय ७६ मत प्राप्त गरेको छ। माओवादीले एक हजार तीन सय ९३ मत प्राप्त गरेको छ। एमालेले तीन हजार नौ सय ६० मत प्राप्त गरेको देखिन्छ। क्षेत्र नं २ (१)  प्रदेशसभाका लागि गठबन्धन दलबाट घनश्याम भण्डारी र एमालेका तिलक रिजालले उम्मेदवारी दिएका छन्।

यस्तै ठाँटिकाध गाउँपालिकामा काँग्रेसका उम्मेदवारले दुई हजार पाँच सय ७१, माओवादी केन्द्रले एक हजार छ सय १७ मत प्राप्त गरेको छ भने एमालेले दुई हजार छ सय ९५ मत प्राप्त गरेको छ। स्थानीय तह निर्वाचनमा एमालेले जित हात पारेको छ। क्षेत्र नं २ को (२) प्रदेशमा यी स्थानीय निकाय पर्छन्। यो प्रदेशसभाका लागि एमालेका विनोदकुमार शाह र गठबन्धन दलबाट योगेन्द्र शाहीले उम्मेदवारी दिएका छन्।

विश्लेषक पिताम्बर ढकाल स्थानीय तहको मतसंख्यालाई मात्र प्रतिनिधि तथा प्रदेशसभा सदस्य जितको आधार बनाउने हो त्यसले परिणाम फरक आउने देखिन्छ। 'यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ', उनले भने, 'सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।'

बुद्धिजीवी छवि सुवेदीले वाम–लोकतान्त्रिक गठबन्धन विगतको गठबन्धनभन्दा सैद्धान्तिक हिसाबले फरक हुँदा केही अन्तराल देखिएको बताए। 'गठबन्धनभित्र इमान्दारिता नभए त्यसको परिणाम फरक आउने यद्यपि २५ प्रतिशतले बदमासी गरे पनि जित गठबन्धनको पोल्टामा पर्ने अनुमान गर्न सकिन्छ', उनले भने।

जिल्लामा लामो समय समाज सेवामा समय दिँदै आएका थिरबहादुर कार्कीले अहिलेको चुनाव रोचक हुने बताए। उनले विगतको निरन्तरतालाई क्रमभंग गरेर यसपालि दैलेखको नतिजा फरक आउने प्रतिक्रिया दिए। उनका अनुसार स्थानीय तहमा पार्टीले प्राप्त गरेको मतसंख्या जितको प्रमुख आधार बन्न सक्दैन। रासस

प्रकाशित: २० कार्तिक २०७९ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App