coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

ताप्लेजुङमा निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवार तथा दलहरुका आमसभाहरु सुरु भएका छन्।

सत्तारुढ गठबन्धनले पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बुबाट र नेकपा (एमाले) ले फक्ताङ्लुङ गाउँपालिकाको सिँवा बजारबाट आमसभा सुरु गरेका छन्। सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले थेचम्बुमा आयोजित सभालाई सम्बोधन गरेका थिए।

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

उता, नेकपा एमालेले सिँवा बजारमा आयोजना गरेको कार्यक्रमका प्रतिनिधिसभाका उम्मेदवार तथा पार्टी सचिव योगेशकुमार भट्टराई, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तिलकुमार मेन्याङ्वो तथा प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार गोपाल थोप्राले चुनावी प्रतिबद्धता व्यक्त गरेका छन्। भेलालाई केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका सदस्यहरुले समेत सम्बोधन गरेको एमालेले जनाएको छ।

उता जनता समाजवादीले सिरिजङ्गा गाउँपालिकाको तेल्लोकबाट चुनावी अभियान सुरु गरेको छ। जसपाबाट प्रतिनिधिसभाका उम्मेदवार चन्द्र मादेनको नेतृत्वमा प्रदेश निर्वाचन क्षेत्र नं १ का उम्मेदवार युगराज गुरुङ, जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार कीर्तिमान मादेन सहितका नेताहरु तेल्लोक पुगेका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत अभियान सुरु गरेको छ। राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका उम्मेदवार इन्द्र थलङले फक्ताङ्लुङ गाउँपालिकाको अभियान सकेर अन्यत्र केन्द्रित हुने तयारी सुनाए। प्रदेशसभाका स्वतन्त्र उम्मेदवार तथा नेपाली काँग्रेसका प्रदेश सदस्य मीना गुरुङले फक्ताङ्लुङ गाउँपालिकाकाको लिङखिमबाट अभियान सुरु गरेको बताइन्।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका सञ्जुहाङ पालुङ्वाले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनावी अभियानको घोषणा गरेका थिए। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित ११ जना, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ८ जना र निर्वाचन क्षेत्र नं २ मा ७ जना प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App