७ वैशाख २०८१ शुक्रबार
राजनीति

समग्र देश विकासका लागि एमालेले जित्न आवश्यक: ओली

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको सरकार बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए। बैतडीको पाटनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै मंसिर ४ गतेपछि संघ र प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरे। विकास र समृद्धि गर्न सक्ने पार्टी भएको भन्दै उनले समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यक रहेको समेत बताए।  

एमाले जिल्ला कमिटी बैतडीको आयोजनामा पाटनको खुल्ला मञ्चमा चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भारतसँग सिमाना जोडिएको झुलाघाट नाकामा पक्की पुल बन्ने र यहाँका फस्फोराइट खानी लगायतका खनिज पदार्थको उत्खन्न गरिने बताएका छन्। 

पूर्वप्रधानमन्त्री ओलीले महाकाली करिडोर पनि तयार गर्ने बताए। बैतडीमा रहेको भिमदत्त पोलिटेक्निकल कलेज र गोकुलेश्वरमा रहेको गोकुलेश्वर कृषि क्याम्पसको स्तरोन्नति गर्ने जानकारी दिए। यहाँका जनताको उत्साह र माया प्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष ओलीले बैतडीको विकासका लागि प्रतिवद्ध रहेको बताए।  

संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरे। दार्चुलाको चुनावीसभालाई  सम्बोधन गरेर ओली पाटन पुगेका हुन्। चुनावी देश दौडाहको सुरुवात गर्न सुदूरपश्चिम प्रदेश पुगेका ओली शुक्रबार कञ्चनपुरको चुनावीसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको  छ।

प्रकाशित: १८ कार्तिक २०७९ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App