१७ माघ २०७९ मंगलबार
राजनीति

गगनको ह्याट्रिकमा राजन चुनौती

गगनकुमार थापा र राजन भट्टराई।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्रीका रूपमा उपत्यकाबाहिरको पहिलो कार्यक्रममा सहभागी हुन धादिङ जाने क्रममा गगनकुमार थापाले भनेका थिए, ‘अब हामी (नेविसंघ) ले गणतन्त्रको पक्षमा बोल्नुपर्छ। माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनुअघि नै हामीले गणतन्त्रको माग उठाएनौं भने कांग्रेस पछि पर्नेछ।’

नेविसंघका अध्यक्ष गुरुराज घिमिरेसहितका नेताहरू संलग्न उक्त टोलीमा रहेकामध्ये कसैले थापाको भनाइको पक्ष र कसैले विपक्षमा यात्राभरि मत प्रकट गरिरहे। धादिङबाट फर्केपछि थापा र घिमिरेले राजाको प्रतिगमनविरुद्ध सडक आन्दोलनमा राजतन्त्रका विषयमा प्रश्न उठाउँदै गणतन्त्रको पक्षमा वकालत गर्न थाले। राजतन्त्रविरुद्धको आवाजलाई बुलन्द बनाएसँगै तत्कालीन सरकारले थापालाई राजद्रोह मुद्दा मात्र चलाएन, कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई ‘दरबारिया’ को संज्ञा दिए। त्यससँगै राष्ट्रिय राजनीतिमा चर्चामा पुगेका थापा अहिले कांग्रेस महामन्त्रीको जिम्मेवारीमा छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौं ४ बाट कांग्रेसबाट उम्मेदवार बनेका छन्।

पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सदस्य बनेका थापा २०७० र २०७४ मा काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन्। प्रत्यक्षतर्फ तेस्रोपटक जित निकालेर मुलुकको प्रधानमन्त्री बन्ने बताउँदै आएका थापालाई एमाले नेता राजन भट्टराई चुनौती बनेका छन्। अबको १० वर्षसम्म राजनीतिमा रहने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिने बताएका थापाले क्षेत्रगत विकास मात्र होइन, राष्ट्रिय राजनीतिका विषयमा पनि आफ्ना धारणा राख्दै आएका छन्।

तर उनका चिरप्रतिद्वन्द्वी भट्टराई अघिल्ला निर्वाचन परिणाम उल्ट्याउन आक्रामक ढंगले प्रस्तुत भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भट्टराई थापाका कमजोरी ओल्याउँदै आफ्नो मत सुरक्षित गर्न लागिपरेका छन्। कांग्रेस र एमालेभित्र भविष्य भएका नेताको छवि बनाएका दुवैले मंसिर ४ गते हुने निर्वाचनलाई आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

काठमाडौं ४ मा राजनीतिक दल र स्वतन्त्र  गरी ३४ उम्मेदवार मैदानमा छन्, त्यो पनि अधिकांश २५ देखि ५० वर्ष उमेर समूहका। थापा र भट्टराई क्रमशः ४६ र ५४ वर्षका हुन्। स्वतन्त्र उम्मेदवारहरू थापा र भट्टराईका लागि सबैभन्दा बढी चुनौती बनेका छन्।

२०७४ सालमा एमाले र माओवादीको गठबन्धन हुँदा पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका थापा अहिले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरूको समर्थन र चुनावी तालमेलले आफ्ना लागि अवस्था थप सहज बनेको बताउँछन्। तर उनका मुख्य प्रतिस्पर्धी भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको बलमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन परिणामबाट पनि उत्साहित भट्टराईले यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले यस क्षेत्रमा विकास निर्माण गर्नुको साटो गफ मात्र गरेको आरोप लगाएका छन्। कपन क्षेत्रका सडकको मुद्दालाई अघि सार्दै उनले आफूले चुनाव जितेकै दिनबाट समस्या समाधानमा लागिपर्ने भन्दै मत मागिरहेका छन्। थापाले पनि त्यहाँको समस्या समाधान गर्न प्राधिकरण बनाउने भन्दै आएका छन्। कपन क्षेत्रका सडकलाई दुवै उम्मेदवारले मुख्य चुनावी अजेन्डा बनाएका छन्। उनीहरूले राष्ट्रिय राजनीतिमा पनि आआफ्नो धारणा राख्दै आएका छन्।

चुनावी मैदानमा दलबाट पुरानै अनुहार भएकाले स्वतन्त्र उम्मेदवारले टक्कर दिने शिवेन्द्र केसी बताउँछन्। केसी स्वयं स्वतन्त्र उम्मेदवार हुन्। २०७४ कै उम्मेदवार मैदानमा भएकाले स्वतन्त्रका लागि अनुकूल अवस्था बनिरहेको केसीले बताए।

दुवै सशंकित

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामले थापा र भट्टराईलाई आशा र डर दुवै उस्तै छ। काठमाडौं महानगरका वडातर्फ कांग्रेस बलियो देखिन्छ। यस क्षेत्रमा पर्ने बुढानीलकण्ठतिरका वडाको तथ्यांकले भट्टराईलाई बलियो देखाउँछ। तर स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले दिएको चुनौतीले दुवै उम्मेदवारलाई सशंकित बनाएको छ। अहिले पनि स्वतन्त्र उम्मेदवारले लिने मतले परिणामलाई फरक पार्ने त होइन भन्ने आशंका दुवै उम्मेदवारमा देखिएको छ। स्थानीय निर्वाचनको मतलाई आधार लिने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवारको अवस्था केही बलियो देखिन्छ।

काठमाडौं ४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ। दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई यस क्षेत्रबाट प्रदेशसभामा एउटा सिट दिएकाले उक्त दलको मत पनि थापालाई थपिनेछ। स्थानीय तहमा नेकपा एसले पाएको मत २ हजार ६८८ छ। माओवादी केन्द्रले ८७३ मत पाएको थियो। यो क्षेत्रमा सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६४५ पुग्छ। २०७४ को निर्वाचनमा थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० र विवेकशील साझाकी सुवुना बस्नेतले ३ हजार ४० मतल्याएकी थिइन्।

आआफ्नै दाबी

काठमाडौं ४ भित्र सडक निर्माण, ढल व्यवस्थापन, पार्क, प्राकृतिक सम्पदा संरक्षण, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, हेरिटेज वाक्लगायत काम थापाकै सक्रियतामा सम्भव भएको कांग्रेस पक्षको दाबी छ। नौ महिना स्वास्थ्यमन्त्री हुँदा आफूले नीतिगत तथा पूर्वाधारका विकासको आधार तयार गरेको दाबी पनि थापाले गर्दै आएका छन्। दुईपटक सांसद् हुँदा बुढानीलकण्ठमा पूर्वाधार तथा सहरीकरण विकासका लागि योगदान गरेको उनी बताउँछन्। आउने दिनमा स्वास्थ्य प्रणाली तथा पूर्वाधारको क्षेत्र सम्पन्न बनाउन थप काम गर्न बाँकी रहेकाले आफू उम्मेदवार बनेको उनले बताए।

‘बुढानीलकण्ठ क्षेत्रमा बाढी नियन्त्रक परियोजना सुरु गरी त्यसलाई सम्पन्न गर्न बाँकी छ। त्यसलाई आगामी दिनमा निरन्तरता दिइनेछ। साथै स्वास्थ्य प्रणाली सुधारका काम गरिनेछ,’ थापाले भने।

गत स्थानीय निर्वाचनपछि एमालेले यो क्षेत्रमा राम्रो प्रभाव जमाएको छ। स्थानीय तहमा पार्टीले जनताको जीवनसँग गाँसिएका विषयमा गरेको योगदान हिजोभन्दा राम्रो काम भएको भट्टराईको दाबी छ। राजनीतिकभन्दा विकासनिर्माणका अजेन्डालाई यो निर्वाचनमा अगाडि सारेर जनताको जीवनमा परिवर्तन ल्याउन मुख्य रूपमा केन्द्रित हुने भट्टराई बताउँछन्। ‘समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन आउने दिनमा काम गर्नेछु। विकासमा पनि पूर्वाधार र सामाजिक क्षेत्र, सेवाको क्षेत्रको विकास तथा सुशासन तथा रोजगारीमा केन्द्रित हुनेछौं,’ उनले भने।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ४ मा थापा र भट्टराईबाहेक राप्रपाबाट ठाकुरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीबाट नुमनाथ प्याकुरेल, हाम्रो नेपाली पार्टीबाट अर्थनशमशेर राणा, पुनर्जागरण पार्टी नेपालबाट श्यामबाबु गौतम उम्मेदवार छन्। त्यसैगरी नेपालका लागि नेपाली पार्टीबाट दीपककुमार पोखरेल, मितेरी पार्टी नेपालबाट राजेश भारती, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी लेलिनवादीबाट लीलामाया पौडेल, मंगोल नेसनल अर्गनाइजेसनबाट लालकुमारी थापा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीबाट चेतबहादुर आले, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिर्वतन मसिहा पार्टीबाट नेपाल ध्रुवराज अधिकारी, जनसमाजवादी पार्टीबाट खुर हरि पुडासैनी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरूण श्रेष्ठ पनि उक्त क्षेत्रमा उम्मेदवार छन्।

त्यस्तै रवीन्द्र थापा, महेश्वर केसी, नवराज थापा, रुद्रप्रसाद पौडेल, कृष्णकुमार तामाङ, श्यामराज भेटवाल, दिनेश चौलागाई, रवीन्द्र देव ढकाल, हेमबहादुर बोम्जन, शिवेन्द्र केसी, मनोजकुमार सापकोटा, काजीबहादुर सापकोटा, थर्कबहादुर बस्नेत, विनोदबाबु प्रधान, रोहित डंगोल, रोशन बर्मा, अर्जुनकुमार प्रसार्इं पनि उम्मेदवार छन्।

को हुन् गगन थापा?

२०३३ सालमा जन्मेका गगन थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय भए। त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य भएर उनी केन्द्रीय राजनीतिमा सहभागी भएका हुन्। उनी उपाध्यक्ष हुँदै २०५९ देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री बनेका थिए। समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर थापा अन्तर्राष्ट्रिय राजनीतिक विषयमा विभिन्न प्रतिष्ठित विश्वविद्यालयबाट प्रशिक्षित छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा २०७३ मा स्वास्थमन्त्री बनेका थिए थापा। नौ महिना स्वास्थ्यमन्त्रीका रूपमा बिताउँदा उनले केही नीतिगत सुधार तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीका माग सम्बोधनमा पहल गरेका थिए। संसद्का समितिमा रहेर पनि उनले नीतिगत सुधारका काम गरेका छन्। दोस्रो सविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापतिको नेतृत्वमा रहँदा उनले प्रभावशाली भूमिका निर्वाह गरेका थिए।

को हुन् राजन भट्टराई?

२०२५ सालमा सिन्धुपाल्चोककोे सिन्धुकोटमा जन्मेका राजन भट्टराई २०४० मा तत्कालीन माले हुँदै कम्युनिस्ट राजनीतिमा लागेका हुन्। उनले त्यतिबेला काठमाडौंको पूर्वी क्षेत्रको भूमिगत काममा पार्टीलाई सहयोग गरेका थिए। २०३९ मा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटी सदस्य भएका थिए। २०५३ देखि २०५८ सालसम्म नेकपा एमालेको विदेश विभाग सचिवको जिम्मेवारीमा बसेका भट्टराईले बेलायतको युनिभर्सिटी अफ लन्डनबाट २०५८ सालमा ‘इन्टरनेसनल रिलेसन तथा डिप्लोम्याटिक प्राक्टिस’ विषयमा एमए गरेका हुन्। उनले ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ अन्तर्गत ‘भारत र चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०७९ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App