१६ चैत्र २०८० शुक्रबार
राजनीति

सप्तरी २: दुई दलका दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

आ-आफ्नो पक्षमा मत माग्दै उपेन्द्र यादव, सिके राउत र जयप्रकाश ठाकुर।

दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोड-घटाउ गर्न उम्मेदवार र विश्लेषकहरु जति व्यस्त देखिन्छन्, मतदाता भने त्यती उत्साहित देखिदैनन्।

यस क्षेत्रका निर्णायक मतदाताहरु मौन छन्। यस क्षेत्रका मतदाताहरु मत माग्न आउने तीनै जना मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई हुन्छ-हुन्छ भनिरहेका छन्। मत माग्न आउने उम्मेदवारहरुलाई मतदाताहरु आश्वासन दिँदै फर्काइरहेका छन्। तर मतदान गर्ने उम्मेदवारलाई मतदाताहरुले यसपाली मनभित्रै राख्दा यस क्षेत्रको चुनावी परिणामको आंकलन जटिल बनेको छ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरी २ मा सीके राउत नयाँ अनुहार हुन्। उनी यस क्षेत्रमा पहिलो पटक चुनाव लड्दै छन्। जयप्रकाश ठाकुर भने यस क्षेत्रका लागि पुरानै नाम हो। उनी ०७४ को संसदीय निर्वाचनमा उपेन्द्र यादवसँग पराजित भएका थिए। ठाकुरसँगै सिके राउत प्रतिस्पर्धामा उत्रीएपछि उपेन्द्रलाई यस क्षेत्रमा जित दोहर्‍याउन सकस परेको छ। तर, मधेस आन्दोलनको लिगेसी, नीतिगत अधिकारको सुरक्षा, भौतिक विकासले उनको वजन भारी बनाएको छ। उनी निर्वाचित यो क्षेत्रमा विकासले तुलनात्मक रुपमा फड्को मारेको आमजन बताउँछन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन्। १६ वटा वडा रहेको राजविराज नगरपालिका जसपाले जितेको छ भने आठ वटा वडा रहेको तिलाठी गाउँपालिका काँग्रेसले जितेको छ। लोसपाले दुई वटा गाउँपालिका जितेको छ। सात वटा वडा भएको छिनमस्ता गाउँपालिका र छ वटा वडा भएको महादेवा गाउँपालिका लोसपाले जितेको छ।

सो क्षेत्रमा जम्मा ३७ वटा वडा छन्। त्यहाँको स्थानीय तहको चुनावमा सबभन्दा बढी मत जसपाले प्राप्त गरेको छ भने सबभन्दा कम मत नेकपा एकीकृत समाजवादी पार्टीले प्राप्त गरेको छ। सो क्षेत्रमा १३ वटा वडामा जीतसहित जसपाले १५ हजार ४७८ मत ल्याएको छ भने दुई वटा वडासहित काँग्रेसले १३ हजार ३८५ मत ल्याएको छ। ६ वटा वडासहित लोसपाले १३ हजार ६४८ ल्याउँदा सात वटा वडासहित माओवादीले ७ हजार ७७६, तीन वटा वडासहित एमालेले ३ हजार ७९३, तीनवटा वडासहित जनमत पार्टीले ३ हजार २७१, दुई वटा वडासहित नेकपा (एस) ले दुई हजार १८३ मत ल्याएको छ।

जसपा–एमाले गठबन्धनको मत जोड्दा १९ हजार २७१ मत मात्र पुग्छ तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, काँग्रेस, लोसपा र नेकपा (एस) को मत जोड्दा ३६ हजार ९९२ मत पुग्छ। लगभग जसपा–एमाले गठबन्धनभन्दा दोब्बर बढी मत सत्ता गठबन्धनले स्थानीय तहमा ल्याएको छ। जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनबीच दोब्बर मतले फरक हुँदा पनि जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफूले नै जित्ने दाबी गरिरहेका छन्।

०७४ को प्रतिनिधिसभा चुनावमा सप्तरी–२ बाट नै उपेन्द्र यादव विजयी बनेका थिए। उनले २१ हजार ६२० मत ल्याएका थिए। त्यतिबेला यादवले तत्कालीन राजपासँग तालमेल गरेका थिए। सो तालमेलबाट असन्तुष्ट बनेका जयप्रकाश त्यतिबेला बागी उम्मेदवारी दिएका थिए। उनी ९ हजार ४५९ मत ल्याएर तेस्रो स्थान ल्याएका थिए। माओवादी केन्द्रबाट उम्मेदवार उमेश यादवले ११ हजार ५८० मत ल्याएर दोस्रो भएका थिए। यस चुनावमा सत्ता गठबन्धनबाट उमेश यस क्षेत्रको प्रदेशसभा सदस्य उम्मेदवार हुन्।

उपेन्द्र यादवले पाँच वर्षको अवधिमा यस क्षेत्रमा जति काम गरे त्यति काम विगतमा कहिल्यै पनि नभएको यस क्षेत्रका अधिकांश मतदाताको मत छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको पूर्वाधार संरचना निर्माण, नर्सिङ कलेज, कृषि विश्व विद्यालय, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत थुप्रै काम यस अवधिमा भएको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा मात्र नभइ सडक पूर्वाधारको क्षेत्रमा पनि उल्लेख्य काम भएको स्थानीय बताउँछन्। उपेन्द्रसँग रहेको मधेस र मधेसीलाई पहिचान दिलाउने आन्दोलन हाँकेको लिगेसी बाँकी उम्मेदवारमाथि हावी देखिन्छ।

सिके राउत र जयप्रकाशसँग मधेसको अधिकार सुनिश्चित गराउन आन्दोलन हाँकेको लिगेसी छैन। सिके राउत जनमत पार्टीमार्फत् मूलधारको राजनीतिमा अवतरित भएपछि किसानको माग सम्बोधनका लागि केही दिन सडक आन्दोलन गरे। भ्रष्टाचार गरेको भन्दै जनकपुरधाममा खानेपानी तथा सरसफाई कार्यालयका प्रमुखलाई अर्धनग्न गरेर बजार घुमाएका थिए। त्यसयता जनमतले जसपा र मधेस केन्द्रित दलका नेताबारे जनतामा भ्रम फैलाएर मधेसमा आफ्नो पकड बलियो बनाउने कसरतमा जुटेको यस क्षेत्रका बुद्धिजीवीहरु बताउँछन्।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सिके राउतको जनमत पार्टीले आशातित सफलता पाउन नसकेपछि अहिले प्रतिनिधिसभाको निर्वाचनमा स्थापित हुन सक्रियताका साथ जुटेका छन्। आर्थिक, सामाजिक एवम् राजनीतिक क्षेत्रमा मधेसी समुदायको उत्थान र हक स्थापित गराउन जनमत पार्टी नै मुख्य दलको रुपमा अग्रसर रहने वचनबद्धता दिँदै मत मागिरहेका छन्। राउत अहिलेसम्म कुनै सार्वजनिक पदमा नपुगेका कारण छवि धमिलिएको छैन। उनको छवि विद्वान व्यक्तिको छ। तर, पहिलोपल्ट चुनावी मैदानमा उत्रेका राउतका अगाडि जसपाको बलियो संगठन, व्यक्तित्व र चेहरा (फेस) चुनौतीको पहाड बनेर उभिएको छ। अर्कोतर्फ, एकल पार्टी मतको हिसाबले जसपा सबैभन्दा बलियो देखिन्छ।

सिकेका लागि मात्र नभइ सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरका लागि पनि उही चुनौती छ। गठबन्धन दलको सम्पूर्ण मत ठाकुरको पक्षमा पोखिने सम्भावना न्यून देखिन्छ। कारण हो, व्यक्तित्व र उनको पार्टी संगठनको कमजोर प्रभाव। ठाकुर राजनीतिक व्यक्ति भन्दा व्यवसायीक र व्यपारिक व्यक्तिका रुपमा बढ्ता चिनिन्छन्।

प्रकाशित: १६ कार्तिक २०७९ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App