९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा निर्वाचनका लागि करिब एकहजार कर्मचारी परिचालन गरिने

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ताप्लेजुङमा सुरक्षाकर्मीबाहेक करिव एकहजार जनशक्ति परिचालन हुने भएका छन्।  

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ७५ मतदान स्थलका १ सय २३ मतदान केन्द्रका लागि ९ सय ८५ जना कर्मचारी परिचालन गर्न लागिएको हो। जिल्ला निर्वाचन समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई १ हजार ४ सय ८९ जना कर्मचारीको विवरण बुझाएको थियो। सोहि विवरणमा केन्द्रित रहेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन(जनशक्ति व्यवस्थापन)निर्देशिका २०७९ मा उल्लेख भएको व्यवस्था अनुसार करिब एकहजार जना जनशक्ति परिचालन गर्नेगरी प्रारम्भिक तयारी गरेको बुझिएको छ।  

२ सय ५० जना सम्म मतदाता भएको मतदान केन्द्रमा स्वयंसेवक सहित ९ जना सम्म जनशक्ति परिचालन गर्न सकिने छ। २ सय ५० जना सम्म मतदाता भएको मतदान केन्द्रमा एक–एक जना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तथा चारजना सहायक कर्मचारी परिचालन गर्न सकिने छ। सहायक निर्वाचन अधिकृतले मतदातालाई मतपत्र दिने कार्यको सहजीकरण समेत गर्न सक्ने भएका छन्। सहायक कर्मचारीमध्ये एकजनाले मतदाता नामावली रुजु गर्ने र तीनजनाले मतदातालाई मतपत्र दिने कार्यको जिम्मेवारी लिनुपर्ने हुन्छ। यस्तो मतदान केन्द्रमा एकजना सहयोगी कर्मचारी तथा मतदान गरेका मतदाताको तथ्याङ्क राख्न र मतदाताको नङ्गमा मसी लगाउन एकजना महिला र मतदाताको लाइन व्यवस्थापन र अन्य सहयोगका लागि थप एकजना गरी दुईजना स्वयंसेवकको व्यवस्था मतदान अधिकृतले गर्न पाउने भएका छन्।  

२ सय ५१ देखि ५ सय सम्म मतदाता भएको मतदान केन्द्रमा १० जना सम्म र सो भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा स्वयंसेवक सहित ११ जना सम्म कर्मचारी जनशक्ति व्यवस्थापन गर्न सकिने भएको छ। २ सय ५१ देखि ५ सय सम्म मतदाता भएको मतदान केन्द्रमा एक–एक जना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत ५ जना सहायक कर्मचारी,एकजना सहयोगी कर्मचारी र तीनजना स्वयंसेवक परिचालन गर्न सकिने भएको छ। खटिने पाँच जना सहायक कर्मचारीमध्ये एकजनाले मतदाता नामावली रुजु गर्ने छन् भने चारजनाले मतदातालाई मतपत्र दिने कार्य गर्ने भएका छन्। यस्ता  मतदान केन्द्रमा मतदान गरेका मतदाताको तथ्याङ्क राख्न र मतदाताको नङ्गमा मसी लगाउन एकजना महिला सहित दुईजना तथा मतदाताको लाइन व्यवस्थापन र अन्य सहयोगका लागि थप एकजना गरी तीनजना स्वयंसेवकको व्यवस्था मतदान अधिकृतले गर्न पाउने भएका छन्।  

५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ५ सय सम्म मतदाता भएको मतदान केन्द्रमा झैं उल्लेखित संख्याकै कर्मचारी परिचालन हुने छन् भने यो बाहेक सम्वन्धित मतदान अधिकृतले कार्यबोझका आधारमा एकजना स्वयंसेवक थप गरेर कार्य सम्पादन गर्न पाउने व्यवस्था छ।

प्रकाशित: १३ कार्तिक २०७९ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App