नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन्।
सोमबार गठबन्धनले आयोजना गरेको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन्। उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए।
उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिवद्धतासमेत जनाए। अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए। वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि उनले दाबी गरे। उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे।
प्रकाशित: ७ कार्तिक २०७९ ०८:०९ सोमबार