८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले नव प्रवेशीलाई प्राथमिकता दिएपछि पुराना नेता असन्तुष्ट

कपिलवस्तुमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले पार्टीमा नव प्रवेशीहरुलाई प्राथमिकता दिएको छ। एमाले कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन्।

तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एमालेले सबै क्षेत्रमा उम्मेदवार खडा गरेको छ। प्रतिनिधि सभाको ३ क्षेत्र मध्ये २ वटामा एमालेले नव प्रबेशीलाई प्राथमिकता दिदै उम्मेदवार बनाएको छ। यस्तै प्रदेश सभाको ६ सिट रहेको जिललमा ४ स्थानमा एमालेले नव प्रवेशीलाई नै टिकट दिएको हो।

प्रतिनिधि सभा–२ मो बृजेशकुमार गुप्ता एमालेका उम्मेदवार छन् भने प्रतिनिधि सभा–३ पनि मधेस केन्द्रीत दलकै पृष्ठभूमि भएका मंगलप्रसाद गुप्ता उम्मेदवार छन्। बुजेशकुमार गुप्ता २०५६ सालमा राप्रपाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

त्यसपछि २ पटक तमलोपाबाट संसदमा चुनिएका थिए। २०७४ सालमा स्वतन्त्र समूह भन्दै सूर्य चुनाव चिन्हबाट सांसदमा निर्वाचित भएका थिए। गत फागुनमा गुप्ता एमालेमा प्रवेश गरेका हुन्। यस्तै मंगलप्रसाद गुप्ता भने २०४८ सालमा काँग्रेसबाट सांसदमा चुनाव लडेका थिए।

त्यसयता तमलोपा जनता समाजवादी पार्टी हुँदै अहिले फेरी एमालेमा प्रवेश गरी चुनामवा होमिएका छन्। अभागी नेताकारुपमा रहेको मंगलप्रसादले अहिलेसम्म च्ुनाव जित्न सकेका छैनन्। प्रतिनिधि सभा–१ मा मात्र एमालेका पुराना नेता बलराम अधिकारी उम्मेदवार रहेका छन्। अधिकारी एमाले कपिलवस्तुका संस्थापक नेता हुन्।

दुई कार्यकाल एमाले जिल्लाको नेतृत्व गरेका उनी हाल केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज छन्। ०७० मा संविधान सभा सदस्य रहेका उनी शिक्षण पेशाको जागीर छाडेर पूर्णकालिन राजनीतिमा होमिएका थिए। ६ प्रदेशसभा मध्ये दुई क्षेत्रमा मात्र एमालेका पुराना नेताले टिकट पाएका छन्।

प्रतिनिधि सभा–१ को प्रदेश सभा ‘क’ का उम्मेदवार विष्णु पन्थी र प्रतिनिधि सभा–३ को प्रदेश सभा ‘क’ का उम्मेदवार अर्जुन केसी पुराना एमाले हुन्। पन्थी अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष समेत भएका नेता हुन्। विद्यार्थी राजनीतिबाट स्थापित पन्थी केन्द्रीय लेखा आयोगका उपाध्यक्ष छन्।

एमाले राजनीतिमा सक्रिय उनी पञ्चायतकालबाटै राजनीतिमा होमिएका थिए। पन्थी ०७४ पनि यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए। केसी पनि एमाले पृष्ठभूमिकै हुन्। केही वर्ष अगाडिसम्म एमालेको सक्रिय कार्यकर्ता रहेका केसी ०७४ मा प्रदेश सभामा निर्वाचन भएका थिए।

हाल उनी पार्टीका जिल्ला उप–सचिव रहेका छन्। पन्थी र केसी बाहेक ४ क्षेत्रका उम्मेदवार एमालेमा हालै आएका प्रवेश गरेका नेता हुन्। प्रतिनिधि–१ को प्रदेश सभा ‘ख’का उम्मेदवार मधुसुदनशरण चौधरी मधेस केन्द्रीत दलबाट एमालेमा आएका हुन्। मनोनय पत्र दाखिला गर्ने दुई साता अघि मात्र लोसपा त्यागेर एमालेमा प्रवेश गरेका चौधरीले एमालेबाट टिकट पाएका हुन्।

प्रतिनिधि सभा–२ को प्रदेश सभा ‘क’ का उम्मेदवार राप्रपा, काँग्रेस हुँदै हालै एमाले भित्रिएर नवराज लामिछानेले टिकट पाएका हुन्। प्रदेश सभा ‘ख’का उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तव पनि मधेस केन्द्रीत पृष्ठभूमिका नेता हुन्। श्रीवास्तव पनि २०७४ सालमा स्वतन्त्र समूह भन्दै सूर्य चिन्ह लिएर प्रदेश सभामा निर्वाचित भएका थिए।

श्रीवास्तव पनि सांसद गुप्तासँगै गत फागुनमा एमालेमा प्रवेश गरेका थिए। प्रतिनिधिसभा–३ को प्रदेश सभा ‘ख’का उम्मेदवार रजाउर्रहमान खाँ पनि एमालेका नयाँ अनुहार हुन्। चुनाव जित्ने भन्दै पुराना भन्दा नयाँलाई प्राथमिकतामा राखेपछि एमालेका पुराना कार्यकर्ताहरु भित्र-भित्रै रुष्ठ बनेका छन्।

आन्तरिक पार्टीभित्र खुलेरै विरोध गरेपनि औपचारिक रुपमा बाहिर असन्तुष्टि जायर भएको छैन। यद्यपि पुराना नेताहरुले एमालेमा भित्रदो विकृति प्रति चुनाव लगत्तै खुलेरै बोल्ने बताउँछन्। पार्टीमा नव प्रवेशीहरु कै वर्चश्व देखिनु पार्टी, क्रान्ति प्रति धोका हुनु हो’ एक एमाले नेताले भने। कम्युनिष्टको व्यवहार, आचारण नभएका नेतालाई टिकट दिएर जिताउँदा श्रमिक जनताको पक्षमा नतिजा राम्रो नआउने उनको तर्क छ।

जिल्लामा एमालेका संस्थापक मध्येका एक बाबुराम खनालले टिकट नै पाएनन्। विद्युत प्राधिकरणको सरकारी जागिर छाडेर क्रान्तिमा होमिएका खनाले टिकट नपाएका हुन्। उनको स्थानमा धर्मबहादुरलाल श्रीवास्तवले टिकट पाए। वर्षौदेखि पार्टीमा लागेका खनालले यसपटक पनि टिकट नपाउँदा निराश बनेका छन्।

एमालेभित्र जनता माझ लोकप्रिय नेता रुपेश श्रेष्ठले पनि टिकट पाएनन्। यसैको असन्तुष्टि स्वरुप श्रेष्ठले असोज २३ गते बागी उम्मेदवारी दिएका थिए। पार्टी नेताको दबाव स्वरुप उनले उम्मेदवारी फिर्ता लिन बाध्य भए। यो स्थानमा एमालेले लामिछानेलाई उठाएको छ।

प्रकाशित: ५ कार्तिक २०७९ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App