coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रचण्डले भने: हामीले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हौँ

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे।  

‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ। हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन’, उनले भने ‘स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरिमा फस्ने कुरा रही नै राख्छ।’

अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गरे। उनले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरुदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गरे। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरकोे भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने उनकाे दाबी छ। उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौँ, निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिवद्धता जनाए।  

उनले भने, ‘ओनसरी घर्तीलाई यहाँबाट निर्वाचित गराउनुस्। उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईहरुको अगाडि पठाउनेछौँ।’ उनले भने, ‘मैले अहिले विभिन्न ठाउँमा निर्वाचन लड्दै गर्दा निर्वाचनको चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु, हँसिया हतौडाले रुखमा कसरी भोट हाल्ने? रुखले कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुनेको छु। हामीले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हौँ। २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिष्ट पार्टी र काँग्रेसको झण्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ। त्यतिबेला रुख र हँसिया हतौडा एक भएकै हो। जतिबेला शान्ति सम्झौता ग¥यौं, त्यसमा ७ राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला र बिद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो र गिरिजाबाबुले हँसिया हतौडामा छाप लगाए बराबर हो। त्यतिबेला सात दलको नेता माधवकुमार नेपाल हो। अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन्। ति नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए।’

प्रकाशित: ३० आश्विन २०७९ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App