८ वैशाख २०८१ शनिबार
राजनीति

प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ। समानुपातिक निर्वाचनतर्फ ४ करोड मतपत्र छापेको आयोगले प्रत्यक्षतर्फ पनि त्यत्तिकै संख्यामा मतपत्र छाप्न थालेको हो।

प्रत्यक्षतर्फका उम्मेदवारलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको आयोगले बिहीबारदेखि मतपत्र छाप्न सुरु गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए। उनका अनुसार आयोगले प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रका लागि ४९५ प्रकारका मतपत्र छाप्नेछ। प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि फरकफरक डिजाइनमा ४ करोड मतपत्र छापिने आयोगले जनाएको छ।

आयोगले कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छाप्ने जनाएको छ। यस आधारमा १ करोड ९७ लाख ८७ हजार ४ सय २७ मतपत्र छाप्नुपर्छ। प्रदेश र प्रतिनिधिसभाका लागि यसको दोब्बर मतपत्र छाप्नुपर्ने हुन्छ। मंसिर ४ मा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जनाले मतदान गर्न पाउनेछन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार संख्याका आधारमा मतपत्र छापिनेछ।

प्रवक्ता पौडेलले प्रतिनिधिसभा समानुपातिकतर्फका लागि एकै आकार र प्रकारका मतपत्र र प्रदेशसभा समानुपातिकतर्फ छुट्टाछुट्टै सात प्रकारका मतपत्र छापिएको छ। निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि पनि समानुपातिकतर्फ मतदानको व्यवस्था गरिएकाले थप मतपत्र छाप्नुपर्ने भएको छ।

नेपाली सेनाको सुरक्षामा भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ भइरहेको छ। आयोगले बुधबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको थियो। जसअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिटका लागि राजनीतिक दलका र स्वतन्त्र गरी दुई हजार ४१२ जना उम्मेदवार छन्।

त्यस्तै प्रदेशसभाका ३३० सिटका लागि प्रत्यक्षतर्फ तीन हजार २२४ उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यका लागि दुई हजार ९४३ पुरुष, २८० महिला र १ अन्य उम्मेदवार छन्। प्रदेशसभाका लागि प्रदेश १ मा ५१०, मधेस प्रदेशमा एक हजार ७, वाग्मती प्रदेशमा ६६८, गण्डकी प्रदेशमा २३५, लुम्बिनी प्रदेशमा ४९५, कर्णाली प्रदेशमा ११६ र सुदूरपश्चिम प्रदेशमा १९३ जनासहित तीन हजार २२४ उम्मेदवार छन्।

आयोगले कात्तिकभित्र मतपत्र छपाइ सिध्याएर ढुवानी गर्ने जनाएको छ। ‘सुरुमा विकट निर्वाचन क्षेत्रका मतपत्रलाई प्राथमिकतामा राखेर मतपत्र छपाइ भइरहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘कात्तिकको पहिलो साताबाट समानुपातिकतर्फको मतपत्र ढुवानी सुरू हुनेछ।’

आयोगले निर्वाचनका लागि ५०३ प्रकारका मतपत्रको डिजाइन गरेको छ। जसअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा १६५ प्रकारका मतपत्र, प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा ३३० प्रकारको मतपत्र, सात प्रदेशका लागि समानुपातिकतर्फ सात प्रकारका र प्रतिनिधिसभा समानुपातिकका लागि एक प्रकारको मतपत्र छन्।

प्रतिनिधिसभामा २७५ सदस्यमध्ये १६५ प्रत्यक्ष र ११० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। सातवटा प्रदेशसभाका ५५० सदस्यमध्ये प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन्।निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल र सोअन्तर्गत २२ हजार २२७ मतदानकेन्द्र कायम गरिएको छ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ अन्तिम सातादेखि मतपत्र छपाइ सुरू गरेको हो। पहिलो चरणमा आयोगले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छापेको थियो।

प्रदेशसभा समानुपातिक मतपत्रमा प्रदेश १ मा ५५ दलका निर्वाचन चिह्न, मधेस प्रदेशमा ५९ दलका निर्वाच चिह्न, वाग्मती प्रदेशमा ५८ दलका निर्वाचन चिह्न, गण्डकीमा ५२ दलका निर्वाचन चिह्न, लुम्बिनीमा ५४ दलका निर्वाचन चिह्न, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलका निर्वाच चिन्ह रहने छन्।

प्रकाशित: २८ आश्विन २०७९ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App