coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कास्की–२ का बागी उम्मेदवार महादेव गुरुङ भन्छन्ः पार्टीले कारवाहि गरे खुसी हुन्छु

महादेव गुरुङ

सत्ता गठबन्धन विरुद्ध विद्रोह गर्दै कास्की–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका महादेव गुरुङले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता लिएनन्। कांग्रेसका पुराना नेता गुरुङलाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवाले समेत दवाव दिएका थिए। तर, देउवाको निर्देशन र दवाव समेत अटेर गर्दै उम्मेद्वारी फिर्ता नलिएको गुरुङले बताए।

सत्ता गठबन्धन पद, पैसा र प्रधानमन्त्रीको कुर्सिका लागि रहेको भन्दै उम्मेदवारी फिर्ता नलिएको गुरुङले बताए। सत्ता गठबन्धनको भागबण्डामा कास्की–२ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। त्यहाँ एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन्। एमालेकी विद्या भट्टराई पनि त्यही मैदानमा छिन्। कास्की–२ मा कांग्रेस उम्मेदवार खोज्नेका लागि आफु रहेको उनको भनाई छ। उम्मेदवारी फिर्ता नलिएका उनले पोखरा–४ रामकृष्णटोलमा सम्पर्क कार्यालय समेत खोलेका छन्।  

‘म प्रजातन्त्रका लागि लडेको व्यक्ति हुँ । मुलुक र जनताका लागि लडेको ५२ वर्ष भयो। प्रजातन्त्र आएपछि मान्छेको मानवअधिकार सुनिश्चित भएको ठानेको थिए, तर, अझै सकिएको रहेनछ,’ उनले भने, ‘हिजो गरेको संघर्ष अझै सकिएको छैन।’ उनले अहिले पार्टी सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग लडेको बताए। आफुले जनताका लागि संघर्ष गर्ने निर्णय गरेरै उम्मेदवारी दिएको उनले बताए। ‘जनता न्याय खोज्न अड्डा अदालत जान्छन, अब राजनीतिक नेता न्याय खोज्न अड्डा अदलात जाने कुरा भएन। म जनता समक्ष न्याय माग्न जान लागेको हुँ,’ उनले भने, ‘मलाई त्यहाँ कांग्रेस भनेर चिन्छन। अब जनताले निर्णय र न्याय गर्नेछन्।’

गुरुङको बुझाईमा  सत्ता गठबन्धन मुलुकलाई मजबुत बनाउन, जनताको मानवअधिकार सुनिश्चित गर्नका लागि हुनुपर्ने थियो। तर, देउवा र प्रचण्डको स्वार्थका लागि मात्र भएको उनको आरोप छ। ‘आलोपालो प्रधानमन्त्री बन्ने देउवा र प्रचण्डको स्वार्थका लागि गठबन्धन गरिएको रहेछ। प्रधानमन्त्री पदका लागि गठबन्धन गरिएको रहेछ। म जस्तो इमान्दार कार्यकर्ताले सहन सक्ने अवस्था रहेन,’ उनले भने, ‘त्यसैले उम्मेदवारी फिर्ता नलिएर चुनावमा होमिएको हुँ।’  

‘आफुले उम्मेदवारी फिर्ता नलिएपछि सभापति देउवाले फोन गरेर तपाइँलाई न्याय हुन्छ राम्रो हुन्छ उम्मेदवारी फिर्ता लिनुस भन्नुभएको थियो, तर, मैले मानिन,’ गुरुङले दउेवालाई दिएको जवाफ बारे भने, ‘तपाईले कार्यकर्ताप्रति न्याय गर्नेमा विश्वास छैन। हिजो पनि न्याय नगरेको र अब पनि नगर्ने भएकोले न्याय खोज्नका लागि जनता समक्ष जाने हो भनेर जवाफ दिए।’  

पार्टी सभापति शेरबहादुर देउवालाई आफुले जवाफ दिँदै पार्टीले कारवाहि गरेमा म खुसी हुन्छु समेत भनेको उनले बताए। ‘शेरबहादुरलाई धन्यवाद दिँदै तपाईको दासत्वबाट मुक्त भए भनेर कमेन्ट गरेको छु,’ उनले भने। गुरुङले गठबन्धन हुँदा कास्की–२ मा कांग्रेसको अर्काे उम्मेदवार नभएकोले निर्वाचनम मत पाउन समस्या नरहेको बताए। ‘कांग्रेसको उम्मेदवार नभएकोले रुख चिन्ह् छैन, रुख चिन्ह भएको भए मलाई समस्या हुन्थ्यो। त्यसैले अब गठबन्धनका उम्मेदवारलाई रोज्ने की मलाई रोज्ने भन्ने हो। मतदाताले मलाई रोज्नेमा म ढुक्क छु,’ उनले भने।

गुरुङ साविक भदौरेतामागिमा जन्मेका हुन्। यो अहिले पोखरा महानगरपालिका–२३ मा पर्छ। भदौरेतामागीमा जन्मेपनि पोखरा–१५ मा बसेर राजनीति गरेको उनले सुनाए। गुरुङ २०४९ मा कास्की जिल्ला विकास समितिका सभापति भएका थिए। २०५६ को निर्वाचनमा कास्की–२ बाट उम्मेदवार बनेर निर्वाचन जित्दै उनी पर्यटन राज्यमन्त्री समेत बनेका थिए। उनी तरुण दलका केन्द्रीय अध्यक्ष समेत भएका व्यक्ति हुन्।  

प्रकाशित: २७ आश्विन २०७९ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App