coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

५६ सय ३६ उम्मेदवार मैदानमा

उम्मेदवारी फिर्ता र खारेज भएका ३ सय ७६ जना चुनावी मैदानबाट बाहिरिए

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ। आयोगले बुधबार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।  

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २ हजार ४१२ जना उम्मेदवारी कायम भएको छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने ३३० सिटका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएको अन्तिम नामावली प्रकाशन गरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि २ हजार ९४३ पुरुष, २८० महिला र १ अन्य गरी २ हजार ४१२ उम्मेदवार छन्।

त्यस्तै प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा सदस्यका लागि प्रदेश १ मा ५१०, मधेस प्रदेशमा १ हजार ७, वाग्मती प्रदेशमा ६६८, गण्डकी प्रदेशमा २३५, लुम्बिनी प्रदेशमा ४९५, कर्णाली प्रदेशमा ११६ र सुदूरपश्चिम प्रदेशमा १९३ जनासहित ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ।  

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेको आयोगले जनाएको छ। ‘यो बुधबार साँझ ८ बजेसम्म यकिन गरिएको देशभरको प्रारम्भिक विवरण हो,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘यसमा केही घटबढ हुन सक्छ।’

काठमाडौं १ मा १० महिलासहित ३२ जना उम्मेदवार छन्। त्यस्तै काठमाडौं–४, धनुषा–३ र मोरङ–३ मा ३१ जना उम्मेदवार कायम भएका छन्। काठमाडौं क्षेत्र २ मा पाँच महिलासहित ३० जना उम्मेदवार छन्। सबैभन्दा कम हुम्ला र मनाङमा ३–३ जना उम्मेदवार छन्।  

आयोगका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिएकामध्ये ३७६ जनाको उम्मेदवारी फिर्ता तथा खारेजी भएको छ। राजनीतिक दल र स्वतन्त्रबाट गरी प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ जनाको उम्मेदवारी फिर्ता तथा खारेजी भएको आयोग प्रवक्ता पौडेलले बताए। प्रतिनिधिसभातर्फ दुई हजार ५३१ जना र प्रदेशसभातर्फ तीन हजार ४८१ जनाको उम्मेदवारी परेको थियो। अन्तिम नामावली प्रकाशनपछि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन चिह्न पाएका छन्।  

प्रवक्ता पौडेलले बिहीबारबाट मतपत्र छाप्ने काम सुरू हुने बताए। ‘निर्वाचन चिह्न प्रदान गरिएको छ। अब बिहीबारदेखि मतपत्र छपाइ सुरू हुनेछ,’ उनले भने, ‘उम्मेदवारको निर्वाचन चिह्नका आधारमा जिल्लागत मतपत्र छापिनेछ।’

कस–कसले फिर्ता लिए उम्मेदवारी ?

विभिन्न राजनीतिक दलका बागी र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको जनाउँदै केहीको उम्मेदवारी खारेज गरेको थियो। मनाङमा नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। मनाङ (क) मा माओवादी केन्द्रका उम्मेदवार कपिल लामा र (ख)मा स्वतन्त्र उम्मेदवार कर्मादोर्जे लामा गुरुङले मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए। दीपक मनाङेलाई समर्थन गर्नेगरी गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन्।  

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन्। चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। एमाले केन्द्रीय कार्यालयले न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाएको थियो।  

न्यौपानेले उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनविरुद्ध बागी उठेका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेका छन्। एमालेले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका एकजनाको उम्मेदवारी फिर्ता लिएर अन्य शक्तिसँग तालमेल गरेको छ। एमालेले नेपाली कांग्रेस बिपी, विद्रोही कांग्रेस, राप्रपा र हृदयेश त्रिपाठीसँग सहकार्य गरेको छ। एमाले केन्द्रीय सदस्य रमेश बडालका अनुसार डडेलधुरामा नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्दै चक्रबादुर स्नेहीको उम्मेदवारी फिर्ता लिइएको छ। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिइएको छ। एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा निर्वाचन तालमेल भएको छ। त्यहाँ राप्रपाका पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन्। त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको (क) मा एमालेका धनबहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्। सोही निर्वाचन क्षेत्रको (२) मा राप्रपाका मोहन पोखरेलले उम्मेदवारी फिर्ता लिएर एमालेका रामकुमार अधिकारीलाई समर्थन गरेका छन्। धादिङ २ मा कांग्रेस उम्मेदवार रामनाथ अधिकारीविरुद्ध बागी बनेका रमेश धमलाले उम्मेदवारी फिर्ता लिएका छन्।  

नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट विभिन्न स्थानमा बागी बनेका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीले कारबाही गर्ने चेतावनी दिएपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका योगेन्द्र बस्नेत, देवशंकर पौडेल, शिव लामिछाने र विष्णु गिरीसहितका २२ जना चुनावी मैदानबाट पछि हटेका हुन्।  

कास्की–३ मा नेकप एमालेबाट बागी बनेका जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन्। एमाले उम्मेदवार दामोदर पौडेल वैरागीविरुद्ध बास्तोलाले उम्मेदवारी दिएका थिए। बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीविरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता कृष्णशंकर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। बागलुङबाट पाँचजनाले उम्मेदवारी फिर्ता लिएका छन्।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका इम्दाद हुँसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन्। सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण आधिकारिक उम्मेदवार छन्। लमजुङमा दुई स्वतन्त्रसहित चारजनाले उम्मेदवारी फिर्ता लिएका छन्। लम्जुङबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश जोशी र माओवादी समाजवादीका विना गोतामेले गठबन्धनलाई समर्थन गर्ने भन्दै मनोनयन फिर्ता लिएका छन्। त्यस्तै लम्जुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी नेपाली कांग्रेस (बिपी) की अस्मिता गुरुङले गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएकी छन्। त्यहाँ नेपाली पार्टीका विमल घिमिरेले एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।  

गोरखामा सातजनाले उम्मेदवारी फिर्ता लिएका छन्। गोरखाको क्षेत्र नम्बर २ मा माधवी भट्ट पराजुलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन््। गोरखा निर्वाचने क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारी दिएका हरिशरण आचार्य, जुद्धविलास भण्डारी र बेलबहादुर बस्नेत र गोरखाा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट उम्मेदवारी दिएका पूर्णबहादुर दाहालले उम्मेदवारी फिर्ता लिएका छन्। त्यस्तै कञ्चनपुरमा सात, अर्घाखाँची र गुल्मीमा चार–चार, धनकुटामा तीन, पाल्पा र ताप्लेजुङमा दुई–दुई तथा रोल्पा र बैतडीमा एक–एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित: २७ आश्विन २०७९ ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App