६ वैशाख २०८१ बिहीबार
राजनीति

इलाममा झलनाथ खनालविरुद्ध काँग्रेसका बागी उम्मेदवार

विक्रम पाण्डे र झलनाथ खनाल।

नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालविरुद्ध नेपाली काँग्रेस नेताले बागी उम्मेदवारी दिएका छन्। इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा खनाल गठबन्धनका साझा उम्मेदवार छन्।  

खनालविरुद्ध काँग्रेसका अगुवा नेता विक्रम पाण्डेले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी फिर्ताको समय (आज (बुधबार दिउँसो १ बजे) सकिँदा पाण्डेले आफ्नो उम्मेदवारी कायमै राखेका छन्। पाण्डे काँग्रेसको पकड भएको क्षेत्र बागबिरेका पुराना नेता हुन्। अहिले पार्टीको क्षेत्रीय प्रतिनिधि रहेका पाण्डेले यसअघि पार्टीभित्र तल्लो तहदेखि क्षेत्रीय र जिल्ला समितिमा समेत जिम्मेवारी पूरा गरिसकेका छन्। उनी पटक–पटक काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत भइसकेका व्यक्ति हुन्। उनले इलाममा दुग्ध वितरण आयोजनाको दूध संकलन केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  किसानलाई आयोजनाले दूधको मूल्य ज्यादै कम दिएका बेला मूल्य बढाउन किसान आन्दोलनको नेतृत्व गरी सफल भएको स्मरण स्थानीयले गरेका छन्।

पाण्डेको उम्मेदवारीले क्षेत्र नम्बर १ को सत्ता गठबन्धनभित्र ‘हलचल’ पैदा गरेको छ। पाण्डेले गठबन्धनभित्र इलाम क्षेत्र १ नेकपा (एस)को भागमा पर्ने बित्तिकैदेखि आफू उम्मेदवार बन्नेगरी चुनावी तयारी गरेका थिए। ‘यो अप्राकृतिक गठबन्धनको कुनै अर्थ नभएकाले मैले पहिल्यैदेखि यसको विरोध गरेको थिएँ, चुनावको तयारी पनि गरेको थिएँ,’ उनले नागरिकन्युजसँग भने, ‘अहिले आएर काँग्रेस पार्टीको झन्डा र चुनाव चिह्नकै बेइज्जत हुनेगरी उम्मेदवारी भागवन्डा गरिएकाले मैले बाध्य भएर काँग्रेस बचाउने बाटो तय गरेको हुँ।’  

पाण्डेले देशको प्रधानमन्त्रीसमेत भइसकेका खनालले करिब तीन दशकसम्म यहाँको नेतृत्व गर्दा नागरिकको अवस्था सुधार हुन नसकेको बताए। ‘खनालको काम हामीले तीन दशकदेखि हेरेका छौं, हिजोसम्म उनको काम चित्त नबुुझाएर विरोध जनाउँदै जनता सचेत गर्न हिँडेको त्यही काँग्रेस आज उनै खनाललाई पुनः भोट जिताऔं भन्दै काँधमा बोकेर हिँड्नुपरेको छ, मैले त्यसो गर्न सकिनँ,’ पाण्डेले भने, ‘कांग्रेसको इतिहास, वर्तमान र भविष्य बचाउनुपर्छ भन्ने काँग्रेस साथीहरू अहिले पनि मसँगै हुनुहुुन्छ।’ उनले आफूलाई उम्मेदवारी फिर्ता नलिन र जिताउने विश्वास दिलाउँदै जिल्लास्थित काँग्रेसका अगुवा नेता र युवाहरूले सम्पर्क गरिरहेको बताए। ‘काँग्रेस बचाउनुपर्छ भन्ने साथीहरू धेरै हुनुहुन्छ,’ उनले भने, ‘र, उहाँहरूको साथले नै म भोट जित्छु भन्ने विश्वास पनि छ।’

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा समेत इलाम क्षेत्र १ को मुख्य पालिका सूर्याेदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको प्रमुख पद नेकपा (एस)कै भागमा परेका थिए। दुवै पालिकाको प्रमुख पद गठबन्धनबाट नेकपा (एस)को भागमै परेपछि काँग्रेसजन त्यतिबेलै असन्तुष्ट थिए। तीमध्ये सूर्याेदयको प्रमुख पद नेकपा (एस)ले जोगायो भने माइजोगमाईको अध्यक्ष पदमा पराजित भयो।  

माइजोगमाईको अध्यक्ष पदमा गठबन्धन पराजित हुँदा आक्रोशित नेता खनालले काँग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको सार्वजनिक अभिव्यक्ति दिए। उनले ‘काँग्रेसका मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट नदिइ एमालेका उम्मेदवारलाई जिताएको’ गम्भीर आरोपसमेत लगाएका थिए। उनको अभिव्यक्तिपछि काँग्रेसका जिल्ला समितिकै कतिपय नेता र कार्यकर्ताले खनालको चर्काे विरोध जनाए। उनीहरूले आइन्दा खनाललाई कुनै पनि अवस्थामा समर्थन नगर्नेसमेत सामाजिक सञ्जालमै लेखेका थिए।  

त्यतिमात्र होइन, खनालको दल नेकपा (एस)ले जिल्ला समन्वय समिति र सूर्याेदय नगरपालिकाको कार्यपालिका गठनमा तत्कालीन सत्ता गठबन्धन भत्कायो। गठबन्धनबाट अलग भएर नेकपा (एस)ले जिसस र सूर्याेदयको कार्यपालिका गठनमा एमालेसँग तालमेल ग¥यो। यो गठबन्धनका सबै उम्मेदवार विजयी पनि भए। त्यसपछि काँग्रेसभित्र खनालप्रतिको असन्तुष्टि अझ चुलिएको छ।  

‘हिजोको खनालको काम र काँग्रेससँग गरेको गठबन्धन, त्यसपछि दिएको धोका सम्झिँदा सच्चा काँग्रेसले खनाललाई भोट हाल्ने आधार छैन,’ बागी उम्मेदवार पाण्डे भन्छन्, ‘अर्काे कुरा खनाल यो क्षेत्रका पाहुना उम्मेदवार पनि हुन्। अहिलेसम्म यो क्षेत्रबाट जितेर जानेहरू यही क्षेत्रका उम्मेदवार थिएनन्, पाहुना नै थिए।’ खनालको जन्मघर इलामको साखेजुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ। २०५६ सालमा यही क्षेत्रबाट एमालेका उम्मेदवार खनाललाई हराएका काँग्रेसका बेनुपराज प्रसाईंको घर पनि क्षेत्र २ मै पर्छ।  

सूर्याेदय नगर  काँग्रेसका एक नेताले पाण्डेको विश्वास र तर्क सही भएपनि पार्टीको निर्णय मान्नैपर्ने दबाब आफूहरूलाई रहेको बताए। ‘हामीले गत स्थानीय निर्वाचनमै पनि बाध्यताले मात्रै अर्काे दललाई नेतृत्व दिन सहमति दिएका थियौं,’ ती नेताले गुनासो पोखे, ‘अब त आफूले परिचय दिँदा पनि पार्टी नेपाली कांग्रेस–चुनाव चिह्न कलम भन्ने अवस्था आइसकेको छ।’

इलाम क्षेत्र १ मा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत प्रतिस्पर्धी उम्मेदवारका रूपमा छन्। यो क्षेत्रबाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको उम्मेदवारी छ।

प्रकाशित: २६ आश्विन २०७९ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App