६ वैशाख २०८१ बिहीबार
राजनीति

कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस नेता पुष्करनाथ ओझाको घोषणा

आफ्ना समर्थकका साथ उम्मेदवारी घोषणा गर्दै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा (कालो भादगाउले टोपीमा)।

सुदूरपश्चिम प्रदेशमा सबैको चासोको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधि सभाको निर्वाचनमा लड्ने भएका छन्। जनतामाझ लोकप्रिय छवी बनाएका ओझाले शुक्रबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै ओझाले आफूले धनगढीका जनता र स्वयम् आफ्नो आत्म सम्मानका लागि निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन्।  

‘पैसाको झोला ल्याएर धनगढीमा चुनाव जित्न सकिन्छ भन्ने प्रवृत्तिका विरुद्ध मेरो उम्मेदवारी हो,’ उनले भने, ‘जनता विकाऊ माल हैनन्, भनेर प्रष्ट पार्न मैले चुनाव लड्नै पर्छ।’ यस निर्वाचन क्षेत्रका सबै दलका ‘ग्रास रुट’का नेता कार्यकर्तासँग छलफल गरेर उनीहरुको समर्थनमा आफूले यो निर्णय लिएको ओझाले बताए। कैलाली क्षेत्र नम्बर ५ मा  नेपाली काँग्रेस निर्माण गर्ने नेताहरुमा आफूमात्रै जिवित रहेको उल्लेख गर्दै उनले भने,‘नेपाली काँग्रेसका सबैले मलाई मत दिनेछन्।’ अन्य दलका कार्यकर्ताले पनि यसपटक मलाई नै समर्थन गर्ने भएको बताउँदै उनले भने,‘म यसपटक सधैँको भन्दा बढी मतले निर्वाचित हुनेमा ढुक्क छु।’ जनता र कार्यकर्ताको भावना अनुसार राजनीतिक दलले भूमिका निर्वाह गर्न नसकेका कारण उत्पन्न वितृष्णाले अहिले हरेक ठाउँमा कार्यकर्ताले दलका उम्मेदवारलाई मात्र मत हाल्ने अवस्था नरहेको उनले बताए।  

पत्रकारको प्रश्नको जवाफमा खल्तीका उम्मेदवार बनाउने प्रवृत्तिका विरुद्ध यो पटक लडार्इं रहेको उनले बताए। आफूभन्दा जनताको लागि इमान्दारी पूर्वक राम्रो काम गर्न सक्ने सक्षम नेता भए आफू ‘व्याक’ हुने बताउँदै उनले भने,‘तर, अहिले त्यस्तो नेता कोही पनि मैले देखेको छैन।’ अन्य सहरजस्तै धनगढीलाई सुन्दर सहर बनाउने आफ्नो चाहना रहेको पनि उनले बताए। आफू दुई वर्षदेखि स्वतन्त्र नागरिकका रुपमा रहेको उनले बताए। ‘दलीय व्यवस्थाका लागि लडेको म, आज आफै दलविहीन भई स्वतन्त्र उम्मेदवार हुने रहर हैन,’ उनले भने,‘तर, बाध्यता र परिस्थितिले स्वतन्त्र उम्मेदवार बनाइदियो।’ उनले निर्वाचन जितेपछि पाँच वर्षसम्म आफू स्वतन्त्र नै रहने बताएका उनले अहिलेकै कुनै पनि दलहरुमा आफू समाहित नहुने भनाई उनको थियो।  तर, देशमा नयाँ परिस्थिति बनेर कुनै नयाँ शक्ति निर्माण गर्नु परेमा भने आफ्ना मतदातासँग छलफल गर्ने उनले बताए।  

२०३४ सालमा कक्षा ८ मा त्रिनगर माध्यमिक विद्यालय धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका पुष्करनाथ २०५६ मा निर्वाचित भएका थिए। निर्वाचितपछि उनी त्यही बेला सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए। २०७० मा काँग्रेस सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचन जितेपछि डडेल्धुरा रोजेर धनगढी छोडेका थिए। देउवाले छोडेको धनगढीमा भएको उपनिर्वाचनमा पुष्करनाथ विजयी भएका थिए।  

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसकातर्फबाट नेतृ आरजु राणा देउवालाई असहयोग गरेको आरोप लागेका कारण काँग्रेसबाट ओझालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको थियो।  

सत्ता गठबन्धनबाट नेपाली काँग्रेसको भागमा परेको कैलाली क्षेत्र नम्बर ५ मा ओझाले उम्मेदवारी घोषणा गरेसँगै यहाँको चुनावी सरगर्मी बढेको छ। ओझालाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ।

प्रकाशित: २१ आश्विन २०७९ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App