४ वैशाख २०८१ मंगलबार
राजनीति

चुनाव नलड्ने भट्टराईको घोषणा

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्।

सोमबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन्। गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,' भट्टराईले लेखेका छन्,'आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।'

प्रत्यक्ष चुनाव नलडे पनि उनले पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन्। 'चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु,' भट्टराईले जनाएका छन्।

भट्टराई गत २०७४ को निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

भट्टराईले लेखेको स्टाटस यस्तो छ–

‘प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयदेखि आभार ब्यक्त गर्दछु ।

आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु । २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु । म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु । मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहाँका साथमा हुनेछु ।

आसन्न  वडादशैं, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !’

प्रकाशित: १७ आश्विन २०७९ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App