coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन: महासचिव गुरुङ

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका महसचिव देव गुरुङ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर प्रणाली (सिस्टम)माथि नै आक्रमण गरेको टिप्पणी गरेका छन्। 

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टममाथि आक्रमण गरेको आरोप लगाएका हुन्। प्रजातन्त्रमा कुनै पनि विषयमा मतभेद र विमत्ती हुनसक्ने भएपनि विधि र प्रक्रिया पूरा गर्नु सबैको दायित्व भएको बताउँदै उनले भने, ‘तर विडम्बना ! राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन। यसले सिस्टममाथि अट्याक गरेको छ।’ सिस्टममाथि अट्याक गर्ने कुरा पश्चगामी चिन्तन भएको उनको टिप्पणी थियो। राष्ट्रपतिसहित सबैजना विधि र प्रक्रियामा चल्नैपर्छ’–उनले भने।

पूर्व कानून्मन्त्रीसमेत रहेका माओवादी महासचिव गुरुङले राष्ट्रपतिको पछिल्लो कार्यले शक्ति पृथकीकरणको सिद्धान्तमाथि पनि प्रश्न खडा गरेको बताए। संसदले पारित गरेका विषय राष्ट्रपतिले डेढलक गर्ने, प्रमाणीकरण नगर्ने नगर्दा व्यवस्थापिकाको औचित्यमाथि प्रश्न खडा हुने बताए। उनले आगामी दिनमा पनि राष्ट्रपतिले अहिले जसरी नै डेढलक गर्दिए के हुन्छ भन्ने प्रश्न गर्दै थपे, ‘अहिले व्यवस्थापिका (संसद)ले पारित गरेको विषय प्रमाणीकरण गर्दिन भन्नुभयो। भोलि मन्त्री परिषदले गरेका निर्णय पनि डेढलक भयो भने के गर्ने? त्यसपछि सरकार कसरी सञ्चालन गर्ने ?।’ राष्ट्रपतिको अहिलेको निर्णयले भविष्यमापनि खतरा आउनसक्ने तर्फ संकेत गर्ने उनले बताए। आज नागरिकता विधेयक रोक्ने राष्ट्रपतिले भोलि चुनाव पछिको सपथ ग्रहण गर्न जाँदा चुनाव ठीक ढंगले भएन। चित्तबुझ्दो भएन त्यसैले म सपथ खुवाउँदिन भन्नुभयो भने के हुन्छ ? ’–उनले भने।

महासचिव गुरुङले नेपालमा सामन्तवाद पूर्ण रुपमा समाप्त भइनसकेको बताए। भौतिक रुपले सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि चिन्तन, सोंच र संस्कारको दृष्टिकोणले सामन्तवाद पूर्ण रुपले बिस्थापित भइसकेको छैन’–उनले भने। राजनीतिक संरचनामा सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि संस्कार, संस्कृति, चिन्तन र सोंचमा भने पूर्ण रुपमा बिस्थापित भइनसकेको उनको भनाई थियो।

महासचिव गुरुङले एमाले अध्यक्ष केपी ओली घोर पश्चगामी नेता भएको टिप्पणी गरे। पश्चगामी सोंचकै कारण ओलीले दुई÷दुई पटक संसद विघटन गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको उनको आरोप थियो। ‘अग्रगामी त परको कुरा। संघीय लोकतान्त्रिक गणतन्त्रको यथास्थितिमा रहने पनि चिन्तन ओलीमा देखा परेन। सोहि सोचका कारण संसद पटक/पटक विघटन गर्ने। संसद ९ महिनासम्म चल्न नदिने। संविधानलाई तोडमरोड गर्ने चिन्तन देखाप¥यो।’ उनले भने।  

ओलीको पश्चगामी सोचलाई परास्त गर्न वाम लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरिएको उनको प्रष्टोक्ती थियो। उनले आगामी चुनाव संघीय लोकतान्त्रिक गणतन्त्र कि पश्चगामी सोच बीचको भिडन्त हुने बताए।

 

प्रकाशित: १५ आश्विन २०७९ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App