coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय निर्वाचन, सुनसान छन् गाउँका चौतारा

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल सहरका चोक तथा चिया पसलमा तातेका बेला गाउँबस्तीका चौतारा तथा चिया पसल भने सुनसान छन्। गाउँघरका नेताहरू आफू समर्थकको टिकटका लागि सहर छिरेका छन् भने किसान खेतीपातीकै धन्दामा लागेकाले गाउँका चोकचौतारा सुनसान  बनेका हुन्।  

चुनाव आउँदै गरेको रेडियोमा समाचार सुनेको बताउँदै गौरीगंगा–७, मटकौना गाउँका भगवानदीन जोगी थारूले भने, ‘चुनाव आउँदै छ भन्ने त सुनेँ तर कहिले हो थाहा छैन।’ गाउँमा पनि अन्य कुराको चर्चा हुने गरे पनि चुनावबारे भने कोहीले केही चर्चा नगर्ने गरेको उनले बताए।

‘चुनावबारे अहिलेसम्म केही चर्चा नै हुन सकेको छैन,’ उनले भने, ‘गाउँमा त्यस्ता ठूला नेता नभएकै कारण पनि हुन सक्छ, चुनावको चर्चा नभएको।’ फुर्सद हुनेबित्तिकै चौतारामा बस्ने र सुखदुःखका कुराकानी गर्ने गरेको भए पनि पछिल्ला दिनमा केही गाउँले रोजगारीका लागि भारत छिरेको र भएका केही किसान खेतबारी तथा पशुचौपायाकै लालनपालनमा लागेकाले अहिले यहाँका चौतारा सुनसान देखिएको उनले बताए।

‘अस्ति अस्तिसम्म त यो चौतारो भरिभराउ हुन्थ्यो, सुखदुःखका गफगाफ हुन्थे,’ उनले भने, ‘बर्खे खेती सकेर भारत छिरेकाहरू पनि फर्केका छैनन्, भएका किसानहरू पनि खेतबारीकै काममा व्यस्त रहेकाले चोकचौतारा तथा पसलमा जमघट घटेको हो।’  

भगवानदीन मात्रै होइन, सोही गाउँका लीलाधर जैसी पनि अस्तिसम्म फुर्सदिला भएकै कारण गाउँको चौतारामा बस्न र गफिन आउँथे। तर, केही दिनयता उनले गाउँमै काम पाएपछि भने उनी पनि चौतारा नगएको साता बित्न थालिसक्यो।

 ‘खेतीपाती सकेर फुर्सदिलो थिएँ र पो चौतारामा गफिन जान्थेँ,’ उनले भने, ‘केही दिनयता भने काम पाएको छु र त्यता जानै भ्याउँदिनँ।’ लीलाधर काठको काम गर्ने सिकर्मी हुन्। उनी बाह्रै महिना सिकर्मीको काम पाउँदैनन्। दसैंतिहार आउनुअघि भने उनी हरेक वर्ष सिकर्मीको काम पाउँछन्। आफूले पनि रेडियोमार्फत चुनाव आउन थालेको भन्ने सुनेको बताउँदै उनले भने, ‘अस्ति वैशाखमै चुनावमा भोट हालेको हुँ, फेरि कस्तो चुनाव आएछ बुभ्नै सकिएन।’ चुनावबारे समाचारमा सुने पनि आफूले यसपालि पनि भोटै हाल्ने त होला भन्दै उनले प्रतिक्रिया दिए, ‘हामीले सधैं भोटै हाल्ने त हो नि, हाम्रा दुःख कहिल्यै नेताले सुन्दैनन्, हामीले जे काम गरिखाने हो, त्यही गर्दै आएका छौं, केही परिवर्तन भएको छैन।’

गाउँको विकासमा पनि खासै परिवर्तन नआएको बताउँदै उनले भने, ‘बढैपुरबाट मटकौना आउने बाटो जस्तो थियो उस्तै छ, अहिलेसम्म कालोपत्रे भएको छैन अनि के भनेर यी नेतालाई भोट खसाल्ने। हाम्रो भोट खाली नेतालाई दान गर्नु मात्रै रहेछ।’  

बाह्रै महिना गाउँमै बसिरहने किसानलाई पनि यतिबेला चुनावको चियोचर्चो गर्ने फुर्सद छैन। उनीहरू अहिले कोही करेसाबारीमा व्यस्त छन् भने कोही धान गोडमेलमै छन्। धानका गरामा आएको घाँस उखेल्नमै व्यस्त रहेको बताउँदै अर्का किसान जगनारायण चौधरीले भने, ‘हामीलाई चुनावको चियोचर्चो गर्ने र चौतारामा बसेर गफिने फुर्सदै छैन।’ फुर्सद पाउनेबित्तिकै आफूहरू खेतबारीमा उम्रिएको घाँसपात उखेल्ने र बाँकी समय जंगल जाने च्याउँ खोज्ने तथा पशु चौपायाको स्याहार सुसार गर्ने गरेको उनले सुनाए। ‘चौतारामा बसेर गफिनु भन्दा त गाईगोरु चराउन जंगल जाने र त्यहाँ जंगली तरकारी खोज्नु वेश हुन्छ,’ जगनारायणले भने। भगवानदीन, लीलाधर र जगनारायण एक प्रतिनिधि पात्र मात्रै हुन्।

उनीहरूजस्ता वास्तविक किसानलाई अहिले आउँदो मंसिरको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले छोएकै छैन। न त उनीहरूले आफ्नो नेता कस्तो हुने भन्ने परिकल्पना नै गर्न सकेका छन्। उनीहरूलाई छ त केवल आफ्नो खेतबारी तथा जहान परिवारको लालनपालनको चिन्ता मात्रै।

 गाउँघरमा रहेका केही टाठाबाठा नेता तथा कार्यकर्ता भने चुनावको मिति तय भएसँगै कोही धनगढी त कोही काठमाडौं गएर आफूअनुकूलका नेताको टिकट लविङमा लागेको स्थानीय बताउँछन्।  

तर, गाउँका चौतारा सुनसान भएका बेला सहरबजारका चिया पसलमा भने चहलपहल बढेको नेपाली कांग्रेस प्रदेश प्रतिनिधि धनगढीका नारायणप्रसाद सत्याल बताउँछन्। उनले भने, ‘अहिले नेता तथा कार्यकर्ता टिकट लिनका लागि काठमाडौं धाउँदै छन्।’

प्रकाशित: १४ आश्विन २०७९ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App