२२ मंसिर २०७९ बिहीबार
राजनीति

प्रदेश कमिटी सदस्यद्धय कार्की र खत्री एमाले छाेडेर माओवादीमा प्रवेश

नेकपा एमालेका नेता मनलाल खत्री र रामलाल कार्कीले एमाले छोडेका छन्। प्रदेश कमिटी सदस्य रहेका दुबै जनाले नेकपा एमाले छोडेर माओवादी रोजेका हुन्। दुवै जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट पार्टी प्रवेशको टिका लगाएका छन्।

कार्की र खत्रीलाई प्रचण्डले आफ्नै निजी निवासमा अविर खादा लगाएर पार्टी प्रवेश गराएका छन्। कार्की र खत्रीको प्रवेशले बाजुराका माओवादी नेताहरु हौसिएका छन्। लामो समय राजनीतिमा सक्रिय खत्री र कार्की सूरुमा नेकपा एमालेबाटै राजनीति सुरु गरेका हुन्।  

खत्री बीचमा माओवादीले सुरु गरेको जनयुद्धमा लागे। माओवादीको माओवादीको जिल्ला संयोजक, अध्यक्ष र केन्द्रीय सदस्य समेत बने। पछि माओवादी विभाजनमा प्रचण्ड छोडेर वैद्यतिर लागे र जिल्लाको नेतृत्व लिए। फेरि माओवादीमै फर्किए र २०७४ सालमा माओवादीबाट जगन्नाथ गाउँपालिकाको अध्यक्षमा लडेर पराजित समेत बने।  

नेकपा विभाजन पछि पुन ः एमाले रोजेका खत्रीले फेरि माओवादीमै लाग्ने निर्णय गरेका छन्। राजनीति जीवन नै अस्थिर रहेका खत्रीले खासै जनस्तरमा प्रभाव राख्ने गरेका छैनन्। राजनीतिक अडान र अस्तित्व नभएपछि जनताले साथ दिन समेत छोडेका छन्।  

जनताको साथ कम हँुदै गएपछि एमालेमा समेत व्यक्तिगत भविष्य नदेखेर माओवादीमै केही स्वार्थका लागि जोडिएको हुन सक्ने अनुमान गरिएको छ। यस्तै रामलाल कार्की पनि २०७४ सालको स्थानीय चुनावमा एमालेलाई हराउन कस्सिएर लागेको आरोप खेपेका पात्र हुन्।  

एमालेको अञ्चल कमिटी सदस्यसम्म भएका र हाल प्रदेश कमिटी सदस्य रहेका कार्कीलाई बीचमा एमालेले भूमि समस्या समाधान आयोगको अध्यक्ष बनाएको थियो। आफू अनुकुल राजनीतिक निर्णय लिने कार्कीको पनि जनस्तरमा जनमत खस्किएको अवस्था छ। दुवै जनाको प्रवेशले एमालेलाई घाटा र माओवादीलाई नाफा हुने अवस्था नरहेको देखिन्छ।

प्रकाशित: १३ आश्विन २०७९ १६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App