८ वैशाख २०८१ शनिबार
राजनीति

अधिवेशन सकिएपछि पठाइएका दुई विधेयक प्रमाणीकरण

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राष्ट्रपति विद्यादेवी भण्डारी विवादित छिन्। यससम्बन्धी मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन छ। तर प्रतिनिधिसभाको कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीसमक्ष पुगेका दुई विधेयक भने आइतबार प्रमाणीकरण भएका छन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्यपछि सभामुखले प्रमाणित गरी पठाएका दुई विधेयक प्रमाणीकरण गरेकी हुन्।

उनले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्। नागरिकता विधेयक भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो, त्यसलाई प्रमाणीकरण नगरीकन त्यही समयमा पठाइएका विधेयकहरूमध्ये तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९, स्ट्यान्डर्ड नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, योगमाया आयुर्वेदिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २८ गते प्रमाणीकरण भएका थिए।

सोज १ देखि प्रतिनिधिसभाको कार्यकाल अन्त्य भएकाले प्रमाणीकरण गर्न पठाएका विधेयक निष्क्रिय हुने कतिपय संविधानविद्को भनाइ छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका पछाडि नागरिकता विधेयक निष्क्रिय भएको व्याख्या पनि गरिएको थियो। संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भए वा त्यसको कार्यकाल समाप्त भए त्यस्तो विधेयक निष्क्रिय हुने व्यवस्था गरेको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App