६ वैशाख २०८१ बिहीबार
राजनीति

उम्मेदवार नेकपा एसको भागमा परेको खबरपछि तरंगियो राजनीति, तीन दलले दिए बेग्लै राय

जसपा फेरी पनि ‘एक्लै’

प्रतिनिधिसभाको उम्मेदवारमा गठबन्धनतर्फबाट काँग्रेस वा माओवादी भाग लाग्ने अनुमान विपरीत ताप्लेजुङ नेकपा (एकीकृत समाजवादी)को भागबण्डामा परेको खबर सार्वजनिक भएसँगै यहाँको राजनीति तरंगिएको छ।

स्वयं गठबन्धन दलहरु काँग्रेस, माओवादी र नेकपा एसले सार्वजनिक भएका खबर लगत्तै नयाँ निर्णय हुनुपर्ने राय पेश गरेका छन्। तीन दलको बैठकले प्रतिनिधिसभामा नेपाली काँग्रेस, प्रदेशसभा १(क) मा नेकपा माओवादी केन्द्र र प्रदेशसभा १(ख) मा नेपाली काँग्रेसका उम्मेदवार हुनुपर्ने गरी माग गर्ने निर्णय लिएको छ।

राय पेश गर्ने निर्णयमा काँग्रेसका जिल्ला उपसभापति डिल्लीरमण बराल, सचिव नन्दकुमार ओझा र क्षेत्र १(ख) का क्षेत्रीय सभापति खगेनसिंह हाङगाम, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) र जिल्ला संयोजक बिष्णुकुमार हाङ्वाङ (बिरु) र नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामा र मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष समेत रहेका नेता दुर्गाहाङ् श्रेङचोङ्वाङको हस्ताक्षर रहेको छ।

सो राय पेश गर्ने निर्णयमा जिल्ला समन्वय समितिको निर्वाचनका बेला उल्लेखित राय अनुसारको निर्णय भएको उल्लेख गरिएको छ। गत स्थानीय तहको निर्वाचनमा जिसस प्रमुख माओवादी केन्द्रले र उपप्रमुख नेकपा एसले पाउने पूर्व सहमति भएपनि माओवादी केन्द्रको आन्तरिक टकरावले जिसस प्रमुख नेकपा एस र उपप्रमुख नेपाली काँग्रेसको भागबण्डा लागे अनुसार उक्त पार्टीकै उम्मेदवार विजयी भएका छन्।

गठबन्धन दलको शीर्ष नेतृत्वले ताप्लेजुङमा प्रतिनिधिसभामा नेकपा एसको भाग लाग्नेगरी सहमति जुटाएको खबर सार्वजनिक भएलगत्तै गठबन्धनका तीनदलको उक्त राय सार्वजनिक भएको हो। नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य हाङ्वाङले भने आफूहरुले उल्लेखित अनुसारको राय केन्द्रीय तहको सिट बाँडफाँड समितिलाई पेश गरेको जानकारी दिए।

जसपा फेरी पनि ‘एक्लै’

केन्द्रमा पाँच दलीय गठबन्धन रहेको अवस्थामा ताप्लेजुङमा भने गठबन्धनका मुख्य दलहरु काँग्रेस, माओवादी र नेकपा एससँगै हुँदा जनता समाजवादी पार्टी भने फेरी स्थानीय तहजस्तै गठबन्धनको घेराबाट बाहिर हुने संकेत देखिएको छ।

गठबन्धनको बैठकमा जसपाको उपस्थिति देखिएको छैन। गत स्थानीय तहको निर्वाचनका बेला पनि यहाँ जसपा गठबन्धन बाहिर रहेको थियो भने काँग्रेस, माओवादी र नेकपा एस भने सँगै थिए। यसबारेमा दलहरुले केही प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: १२ आश्विन २०७९ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App