१६ चैत्र २०८० शुक्रबार
राजनीति

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाएका छन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी छनोटका क्रममा संस्थापन पक्षले एकलौटी गर्न लागेको भन्दै सार्वजनिक सभादेखि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको इतर पक्षले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने जनाएको छ। काठमाडौंको ठमेलमा सोमबार भएको भेलाले सभापति देउवामाथि दबाब बढाउन बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको हो। मंगलबार दबाबका लागि चियापानसहितको कार्यक्रम राख्ने घोषणा गरिए पनि लगत्तै स्थगित भएको छ।

सभापति देउवाले संस्थापन इतरका नेताहरूलाई ४० प्रतिशत सिट छुट्याउनुपर्ने इतर पक्षले बताउँदै आएका छन्। आफूहरूको माग सम्बोधन नगरिए अवस्था गम्भीर हुने पनि संस्थापन इतरका तल्लो तहका नेताहरूले बताउँदै आएका छन्। सभापति देउवासहितका पार्टी पदाधिकारीहरू सिट बाँडफाँटका लागि भएको छलफलमा जुटिरहेका छन्। सभापति देउवाले माओवादी केन्द्रसहितका सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग चुनावी तालमेल गरेर आफूलाई पार्टीभित्र बलशाली बनाउन लागेको भन्दै इतर पक्ष असन्तुष्ट छ।  

आगामी निर्वाचनपछि सभापति देउवाले पत्नी आरजूलाई पार्टी र सरकारको नेतृत्व हस्तान्तरण गर्न लागेको बुझाइ इतर पक्षको छ। त्यसलाई रोक्न सभापति देउवाले माओवादी केन्द्रसहित पाँच दलसँग गर्ने चुनावी तालमेललाई अस्वीकार गर्ने रणनीति उनीहरूको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग इतर पक्षका विभिन्न तहका नेताले विभिन्न चरणमा छलफल गरेका छन्। सभापति देउवाले गठबन्धनलाई छाड्ने प्रदेश र प्रतिनिधिसभाको सिटमध्ये आधामा एमाले उम्मेदवारलाई समर्थन गर्ने र बाँकी आधामा बिपी कांग्रेसका नाममा उम्मेदवारी दिने इतर पक्षको रणनीति रहेको निकटहरूको दाबी छ। तर संस्थापन पक्षले सभापति देउवालाई दबाबमा पारेर आफ्नो पक्षमा माहोल बनाउन खोजेको भनेर पनि विश्लेषण छ।  

‘त्यसलाई विभिन्न शक्तिले पार्टी विभाजनका लागि पनि उक्साएको हुन सक्छ,’ संस्थापन इतर एक नेताले भने, ‘अहिले सभापतिलाई धम्क्याउनेबाहेक कसैले पार्टी विभाजन गर्ने वा पार्टी निर्णयभन्दा बाहिर जाने अवस्था छैन।’ प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी नपाउने केही नेताको असन्तुष्टिका रूपमा संस्थापन पक्षले पछिल्लो भेला र कार्यक्रमलाई बुझ्दै आएको छ। ‘यति ठूलो पार्टीमा सबैले अवसर पाउने अवस्था छैन,’ ती नेताले भने, ‘एउटाले अवसर पाउँदा अर्को छुट्छ, मैले पाए मात्र ठिक भन्नु गलत परिपाटी हो। त्यो सम्भव छैन।’ तर इतर पक्षका नेताहरूले गुटका आधारमा नभएर पार्टीमा गरेको योगदानलाई केन्द्रमा राखेर उम्मेदवार छनोट नभएको गुनासो गर्दै आएका छन्। न्यायोचित रूपमा उम्मेदवार छनोट हुनुपर्ने इतर पक्षका नेताहरूले दाबी गर्दै आएका छन्।

प्रकाशित: ११ आश्विन २०७९ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App