७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस

कांग्रेसभित्रको आन्तरिक झगडाले गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा अन्योल उत्पन्न भएको छ। कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण त्यसको असर गठबन्धनमा परेको हो। गठबन्धनभित्रका दलहरूले पहिला कांग्रेसको घरझगडा मिलाएर मात्रै गठबन्धनको सिट टुंग्याउन आग्रह गरेका छन्।  

कांग्रेसभित्र आन्तरिक झगडा बढ्न थालेपछि गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले कांग्रेसकै आन्तरिक विवाद र झगडा मिलाउन आग्रह गरेको छ। त्यति मात्र होइन, सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटमा कांग्रेस र माओवादी मात्रै हाबी भएर आफ्नै बिर्ताजस्तो गरेकोमा असन्तुष्टिसमेत व्यक्त गरेका छन्। ‘सिट बाँडफाँट गर्दा कांग्रेसले देश नै कांग्रेसको बिर्ता हो भन्नेजस्तो गरेको देखिन्छ,’ गठबन्धनको बैठकमा अध्यक्ष नेपालकोे असन्तुष्टि उद्धृत गर्दै स्रोतले भन्यो।  

थोरै मत अपुग भए पनि संसदीय निर्वाचनमा पराजित हुनुपर्छ भन्ने कुरालाई हेक्का राख्न आग्रह गर्दै नेपालले सिट बाँडफाँटमा आफ्नै बिर्ताजस्तो गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। ‘माधव नेपालजीले बैठकमै सिट बाँडफाँट गर्दा सबै पक्षलाई ध्यान दिन आग्रह गर्नुभएको थियो। उहाँले सिट कसैको बिर्ता नभई गठबन्धनमा आबद्ध सबै पार्टीको आवश्यकता भएको बताउनुभयो,’  

गठबन्धन बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार सिट बाँडफाँटमा धेरै स्थानमा कांग्रेस–माओवादी हाबी भएको र माओवादीले नेकपा एसलाई छाड्नुपर्ने स्थानमा पनि जिद्दी गरेपछि नेपालले त्यस्तो धारणा राखेका हुन्। अध्यक्ष नेपालले पार्टीको एक कार्यक्रममा पनि यस्तो असन्तुष्टि व्यक्त गरेका थिए।  

‘गठबन्धनका साथीहरूले सिट बाँडफाँट गर्दा आफ्नै बिर्ताजस्तो गरेका छन्। आफूहरू कहाँ थियौं भनेर पहिला हेक्का राख्नुपर्ने हुन्छ तर पनि गठबन्धन आवश्यकता हो भन्ने बुझ्नुपर्छ,’ उनले पार्टी कार्यकर्ताहरूसँग भनेका थिए।  

कांग्रेसले आन्तरिक विवाद मिलाउनुपर्छ। सिट कसैको बिर्ता नभई गठबन्धनमा आबद्ध सबै दलको आवश्यकता हो। माधवकुमार नेपाल अध्यक्ष, नेकपा एस

गठबन्धनभित्र नेकपा एस मात्रै असन्तुष्ट छैन। कांग्रेस र माओवादी दुवैले पेलेका कारण नेकपा एस असन्तुष्ट भइरहँदा भनेजति सिट नपाइने देखेपछि जसपा पनि चिढिएको छ। जसपाले त्यसबारे बैठकमै असन्तुष्टि जनाइसकेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकमा १०/१२ सिटका लागि हो भने गठबन्धन नै गर्नुनपर्ने बताउँदै त्यति सिट एक्लैले पनि ल्याउने सामथ्र्य राख्ने बताइसकेका छन्। ‘हामीलाई १० सिट दिने वा १२ सिट दिने कुरा हुँदैछ। यसो गर्नुभन्दा एकल ढंगले निर्वाचनमा गए राम्रो हुन्छ,’ यादवले भनेका थिए। उनले कांग्रेस र माओवादीले चाहेजति सिट लिने हो भने अरूको आवश्यकता पर्दैन देशभर तपाईंहरू मात्रै मिलेर चुनाव लड्नुस् भनेको पनि स्रोतले जानकारी दिएको छ। तर नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही दिनमा गठबन्धनको सिट बाँडफाँट भइसक्ने बताए। ‘बाहिर हेर्दा विवादजस्तो देखिए पनि गठबन्धनका केही सिटमा समस्या छ तर गठबन्धन सबैको आवश्यकता भएकाले समस्या समाधान हुन्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने।

कांग्रेसभित्र १०० सिट नछाड्न दबाब बढिरहेको छ। तर आन्तरिक झगडा चर्केको देखेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्। निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आएका दाहालले चितवनमा आयोजित एक कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका थिए। यद्यपि, उनले आफ्ूले यो मुलुकको आर्थिक क्रान्तिको नेतृत्व गर्न चाहेको विषय भने छुटाएका छैनन्। गठबन्धनभित्र माओवादीलाई पनि समस्या देखिएको छ। वामदेव गौतमले दाबी गरेको प्युठानमा राष्ट्रिय जनमोर्चाले दाबी गरेको छ। माओवादीकै भागबाट गौतमलाई एक सिट दिनुपर्ने अवस्था रहेको बताइएको छ। त्यसैगरी डा. बाबुराम भट्टराईलाई पनि पनि गोरखामा एक सिट दिनुपर्ने देखिएको छ। त्यहाँ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दाबी गरिरहेका छन्। त्यसैगरी विगतमा माओवादीले एमालेको सहयोगमा जितेको तर हाल कांग्रेसका प्रभावशाली नेताहरू रहेका क्षेत्रमा पनि सिट संख्या टुंग्याउन समस्या उत्पन्न भएको छ।

हामीलाई १०/१२ सिट दिने कुरा हुँदैछ। कांग्रेस र माओवादीले चाहेजति सिट लिने हो भने अरूको आवश्यकता पर्दैन।उपेन्द्र यादव अध्यक्ष, जसपा

गठबन्धन दलभित्र आन्तरिक रूपमा सिट बाँडफाँट हुन सकेको छैन। दलभित्र पनि कहाँ छाड्ने र कहाँ लिने भन्ने स्पष्ट खाका नभएका कारण अन्योल उत्पन्न भएको छ। नेकपा एस कम्तीमा २५ सिट लिनैपर्ने दबाबमा छ। माओवादीले कम्तीमा ५० सिट लिनैपर्ने र कांग्रेसलाई १०० सिट राख्नैपर्ने भएपछि गठबन्धन आन्तरिक लफडमा रुमलिएका छन्। त्यस्तै जसपा १८ देखि २० सिट र जनमोर्चा दुई सिट लिनैपर्ने बाध्यतामा छन्। १६५ भन्दा बढी भएको र कुनै पनि दल आफूले चाहेको भन्दा तल झर्न मानिरहेका छैनन्। ‘आन्तरिक समस्यालाई व्यवस्थापन गर्न नसक्दा पनि यो समस्या आएको हो,’ नेकपा एसका एक नेताले भने। उनका अनुसार कतिपय स्थानमा कांग्रेसले छाड्न तयार भए पनि माओवादी राजी नभएको र माओवादीले लिनुपर्नेभन्दा बढी सिट माग गरिरहेका कारणले पनि समस्या उत्पन्न भएको हो।

विगतको तुलनामा कांग्रेसको अवस्था अलिकति सुधार भएका कारण पहिलाको बढी सिट माग्नु स्वाभाविक रहेको विषयमा नेताहरू सहमत भए पनि एक सिट बढी भएको भन्दै नेकपा एसका अध्यक्ष नेपालले कुरा उठाइरहेका छन्। लामो समयदेखि गठबन्धनको सिट बाँडफाँटमा किचलो उत्पन्न भएपछि नेपालले पार्टीका आन्तरिक भेला र बैठकमा गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका थिए। पार्टीको संगठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै शक्ति बलियो भए मात्र ठुलो स्वर गर्न सकिने बताएका थिए। उनले कांग्रेस र एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै उनीहरूले स्वर ठुलो गरेको बताएका थिए। अध्यक्ष नेपालले अब गठबन्धनको ‘डम्फु बजाउने काम’ छाडेर पार्टीको संगठन सदृढीकरणका काममा जुट्नुपर्नेमा जोड दिए ।

प्रकाशित: ११ आश्विन २०७९ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App