१६ चैत्र २०८० शुक्रबार
राजनीति

नागरिकता विधेयक रोक्नु संविधानमाथिको आक्रमण हो: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण भएको बताएका छन्। आफ्नै देशमा नागरिक भएर बाच्न पाउने संवैधानिक अधिकारबाट लाखौं नेपालीलाई बञ्चित गराउन नागरिकता विधेयक रोकिएको भन्दै उनले राष्ट्रपतिको कदमलाइ गैरसंवैधानिकको संज्ञा दिएका हुन्।

रिर्पोटस क्लब नेपाल लुम्बिनीको पाँचौ स्थापना दिवश तथा सम्मान कार्यक्रमलाइ बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले संविधानको पालना र संरक्षण गर्नुपर्ने पदाधिकारीहरुबाटै संविधान माथि अतिक्रमण गरीएको बताए। संविधान माथिको अतिक्रमणले सुशासन कायममा समेत जटिलता थपिएको बताए। पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाइ नै वर्तमान सरकारले विधेयकको रुपमा ल्याएको उल्लेख गर्दै संविधान कार्यान्वयन र सुशासनकालागि नागरिकता विधेयक अनिवार्य रहेकोमा जोड दिए। नेपाली आमाबुवाका कुनैपनि सन्तान नागरिकताबाट बञ्चित हुने छैनन् भन्ने संविधानको धारामै उल्लेख भएकाले सोही अनुरुप नागरिकता विधेयक ल्याइएको उनले बताए।

नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय मानवअधिकारको बडापत्रमा संसारको कुनैपनि राष्ट्रमा एउटा पनि नागरिक राज्यविहीन हुन हुँदैन भन्ने उल्लेख रहेको स्मरण गराउँदै गृहमन्त्री खाँणले प्रश्न गरे ‘अन्तराष्ट्रिय बडापत्रमा नेपालले दस्तखत गर्ने तर लाखौं लाख नेपालीलाई आफ्नै देशमा अनागरिक भएर बाच्नु पर्ने? आफ्नै मुलुकमा नागरिकले नागरिकको अधिकार नपाउने? यसको जिम्मेवारी र जवाफदेहिता सबैमा हुनु पर्छ की पर्दैन?’ गृहमन्त्री खाँणले भने। देश, जनता र संविधानको पालनाकालागि दिल र दिमागबाट संवेदनशील र जिम्मेवार बन्न आग्रह पनि  गरे।

नागरिकताविहीन हुँदा मोवाइलको सिमकार्ड किन्न,बैंकमा खाता खोल्न,पुस्तेनी सम्पत्तीको प्रयोग गर्नबाट समेत नेपालीहरु बञ्चित हुनु परेको बताए। ‘दारुण र हृदय बिदारक अवस्था भोग्न बाध्य लाखाैं नेपालीलाई अनागरिक बनाउनेहरुको जनता प्रति कुनै उत्तरदायित्व छैन? यो कदम विधिको शासनको खिलाफमा होइन? संविधान माथिको अतिक्रमण होइन,गैरसंवैधानिक होइन? गृहमन्त्री खाँणले राष्ट्रपति र प्रतिपक्षप्रति बारम्बार प्रश्न गरे।

गृहमन्त्री खाँणले मंसिर ४ को निर्वाचन स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित  रुपमा सम्पन्न गर्ने बताए। खर्चमा मितव्ययिता अपनाउन एकै पटक निर्वाचन सम्पन्न गर्न लागीएको जानकारी दिए। गृहमन्त्री खाँणले आम नागरिकलाइ सम्मान र मुस्कानसहितको सेवा प्रवाह गर्न मातहतका निकायलाइ निर्देशन पनि दिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव चन्द्रप्रकाश खनाल बलदेव,लुम्बिनी प्रदेशका आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्मा, रिर्पोटर्स क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमला,आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका सचिव कोमलप्रसाद धमला,राससका पुर्वअध्यक्ष बालकृष्ण चापागाँई,पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का,क्लबका अध्यक्ष रामकुमार क्षेत्री लगायले बोलेका थिए। 

प्रकाशित: १० आश्विन २०७९ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App