१६ चैत्र २०८० शुक्रबार
राजनीति

डराएकै हुन् महरा?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारीस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘रेस’ बाट बाहिरिए।

अघिल्लो पटक निर्वाचन लडेको क्षेत्रबाट पुनः निर्वाचन लड्न नखोजेर महराले दुईथरी सन्देश दिए। पहिलो – एमाले महासचिव शंकर पोख्रेलसंगको ‘जुधाई’ महंगो बन्ने खतरादेखि महराले उन्मुक्ती चाहे। अनि दोस्रो – आफू धेरै ठाउँबाट सिफारीस भएका कारण ‘तानातान’ मा पर्न नचाहेर समानुपातिक सुचीमा पर्न चाहेको उनी आफैले बोले। तथापी अहिले महरा निर्वाचन लड्न नखोज्नुको एक मात्रै कारण भने ‘निर्वाचन हार्न सक्ने’ त्रासदी नै रहेको चर्चा बाक्लिएको छ।  

२६ भदौमा नागरिकसंगको संक्षिप्त भेटमा महराले आफू निर्वाचन लड्न चाहेको र दाङ–२ बाटै निर्वाचन लड्ने घोषणा गरेका थिए। यो घोषणा गर्दा महरामा निर्वाचन लड्ने ठूलो शाहस देखिएको थियो। यती सम्मकी उनले आफूले प्राप्त गर्न सक्ने मत र जीत्न सक्ने आधारहरु समेत केलाएर बसिसकेका थिए।  

माओवादी स्रोतका अनुसार अर्को दिन बिहानै महराको यात्रा काठमाडौँ तय भयो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले महरालाई फोन गरेर तत्काल काठमाडौँ फर्कन भनेका थिए। ‘मिलाउनु पर्ने भयो, तपाई तुरुन्त काठमाडौँ आउनुस् भनेर अध्यक्षले बोलाउनु भयो,’ स्रोतले भन्यो ‘अनि हतारमा काठमाडौँ जानु भयो।’ उम्मेदवारी छलफलका लागि काठमाडौँ पुगेका महराको नाम समानुपातिकको बन्द सुचीमा समावेश भयो ,अर्थात उनले प्रत्यक्ष चुनावको रेस छोडिदिए।  

क्षेत्र नम्बर २ मा आफ्नो सहज जीत खोजिरहेका एमाले महासचिव शंकर पोख्रेलले ‘महरा–तगारो’ पञ्छाउन खोजिरहेका थिए। गठबन्धनका तर्फबाट साझा उम्मेदवार महरा बन्दा आफूलाई घाटा लाग्न सक्ने ठूलो जोखिम देखि पोख्रेल अबुझ थिएनन्। अनि त पोख्रेलले महरालाई रोक्नका निम्ती माओवादी भित्र लबिङ थालिरहेका थिए। पोख्रेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मार्फत महरालाई निर्वाचनमा नभिड्न सन्देश दिईरहेका थिए। ‘मुख्यमन्त्रीलाई शंकर जिले महरालाई नउठाईदिनु पर्यो,मिलेर जानु पर्यो भन्नु भएको रहेछ,’ महराले भनेका थिए ‘तर मलाई सिधै उहाँ (पोख्रेल) ले भन्ने हिम्मत गर्नुभएको त छैन।’

त्यसोत, महरा स्वयं निर्वाचन देखि झस्कीएका भने थिए नै। उनले सुरुमा आफू समानुपातिक उम्मेदवार नै बन्ने भन्दै पार्टी अध्यक्ष दाहालसंग भनेका थिए। तर दाहालले ‘तपाई जत्तिको मान्छे नलडेर को लड्छ त पार्टीबाट चुनाव ?’ भनेका थिए। अनि महरा चुनाव लड्ने मनस्थिती मा पुगेका थिए। सुरु देखिनै आफू समानुपातिक सुचीमा पर्ने योजनाले महराका लागि चुनाव जित्न सक्ने आधारहरु ‘कमजोर’ देखिईरहेका थिए या त यसलाई उनको ‘डर’ को संकेतका रुपमा बुझ्न गाह्रो पर्दैन।  

०७४ को निर्वाचनमा एमालेसंगको तालमेलको बलमा प्रतिनिधिसभा सदस्य चुनिएका महराको प्रतिनिधिसभा यात्रा सुखद बनेन। प्रतिनिधिसभा सभामुखको ‘ओहदा’ मा पुगेका महरा यौन दुराचार जस्तो गम्भिर मुद्धामा मुछिए। संसद सचिवालयकी एक कर्मचारीले महरा बिरुद्ध बलात्कार मुद्धा दर्ता गरेपछि महराको सभामुख पद मात्रै खोसिएन उनको राजनीतिक यात्रा एकाएक ओरालो लाग्यो। भलै महराले यो मुद्धामा सफाई पाए। तथापी यो मुद्धाले महराको सकृय राजनीति ‘शिथिल’ बन्दै गयो।

कार्यकर्ता पंक्ती सामु ‘निराश’ देखिने महराले आफूलाई पहिला जस्तो ‘भद्र’ नेताका रुपमा प्रस्तुत गर्न सहज मान्दै मानेनन्। उनको राजनीतिक यात्रालाई ठूलो धक्का लगाएको यो मुद्धा देखि शिथिल बनेका महरा आगामी निर्वाचनमा भिड्ने वा नभिड्ने भन्नेमा अनिश्चित देखिए। ‘त्यो घटना पछि आफ्नो पक्षमा जनमत रहने वा नरहने भन्नेमा ठूलो द्धिविधा थप्यो,’ एक नेता भन्छन् ‘यसर्थ निर्वाचनमा मतदाता सामु फेस गर्दा हारिने त्रासदी भएको पनि हो।’

तथापी महराले आफ्नो जनमत बुझ्ने माध्यम गत स्थानीय तहको निर्वाचनलाई बनाए। आफ्नो क्षेत्र दाङ २ मा रहेको ठूलो स्थानीय तह घोराही उपमहानगरको जनमत बुझ्न खोजेका उनले यहाँको मेयर पदको उम्मेदवार आफू निकटस्त नेता माओवादीका हेमराज शर्मालाई बनाए। उनले प्राप्त गर्ने जनमतका आधारमा आफ्नो उम्मेदवारी रहने वा नरहने भन्ने बिषयको निक्र्यौल गर्नेमा महरा थिए। यो स्थानीय तहमा आफू निकटस्थ शर्मा पराजित बने, त्यो पनि वर्तमान गठबन्धन कायमै रहेको अवस्थामा।  

यो उपमहानगरको जनमतले गठबन्धन कार्यान्वयन फितलो भएको महशुस महराले पक्कै गरेको हुनुपर्छ। आफ्नो पार्टीको मतले मात्रै जीत्न सक्ने सम्भावना नरहने तर कांग्रेसका मतदाताहरुले माओवादीलाई मत हाल्न नमान्ने सन्देश दिएको स्थानीय तहको निर्वाचन पछि अब हुने निर्वाचनमा पनि उहि स्थिती दोहोरिने खतरा देखि महरा सचेत बने। तर महराले भने गठबन्धन कार्यान्वयनमा कांग्रेस भित्र मात्रै समस्या नभई आफ्नै पार्टी माओवादी भित्र पनि समस्या रहेको बुझेका छन्। ‘समस्या कांग्रेस भित्र मात्रै हैन, हाम्रै भित्र पनि समस्या छन्,’ महराले भनेका थिए ‘गठबन्धन प्रतिको बलियो धारणा बनाउनका लागि सबै लाग्नु पर्ने देखिन्छ।’

एकाएक निर्वाचनबाट भाग्दा कार्यकर्ता पंक्तीमा राम्रो सन्देश नजाने देखेका महराले आफू निर्वाचन लड्ने उद्घोष भने गरेकै थिए। रोल्पा, दाङ १ र दाङ २ बाट उम्मेदवार सिफारीस परेका महराले आफ्नो रोजाई दाङ २ नै रहेको बताएका समेत थिए। आफूलाई तीन स्थानबाट नाम आफ्नो नाम आफै सिफारीस गर्न लगाएका महराले यसलाई आफू समानुपातिक उम्मेदवार बन्ने सहज बाटोका रुपमा प्रयोग गरिदिए। उनले आफू तानातानमा पर्दा राम्रो नहुने भन्दै समानुपातिक रोज्नु परेको बताएका थिए। त्यासते, दाङ २ बाहेक अन्यत्र गएको भए ‘पाहुना’ नेता भनेर अघिल्लो निर्वाचनमा ‘ट्याग’ भिरेका महरालाई यो ट्याग लागिरहने रहने थियो।  

फलतः दाङ २ मा सहज नदेखेपछि महरा समानुपातिक सुचीमा समावेश भएको यथार्थतालाई नकार्न सकिन्न। अघिल्लो पटकको सभामुखको कार्यकालका क्रममा लागेको गम्भिर अपराधको मुद्धाले गुमाईदिएको लोकप्रियता अनि गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा बेहोर्नु परेको गठबन्धनको पराजयले महरालाई आगामी निर्वाचनमा आफ्नो जीतको ‘पक्का पक्की’ देख्न सहज बनेन। फलतः प्रतिनिधिसभा सदस्यका लागि आफ्नो ‘सेफ–ल्याण्डिङ’ महराले समानुपातिक उम्मेदवार बाट खोजे।

प्रकाशित: १० आश्विन २०७९ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App