४ वैशाख २०८१ मंगलबार
राजनीति

कैलाली १ मा थारु मत विभाजन भए जित्ने आशमा एमाले

नेकपा (एमाले) थारु एजेण्डा बोकेको नागरिक उन्मुक्ति पार्टी र थारु हेभिवेट खोजेको काँग्रेसलाई मत विभाजन भए कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको उम्मेदवार जित्ने आशमा छ।

नागरिक उन्मुक्तिबाट निलम्बित सांसद रेशमलाल चौधरी पत्नी रञ्जिता श्रेष्ठ चुनाव लड्ने निश्चित छ भने काँग्रेसले थारु हेभिवेट खोजेपछि पूर्वमन्त्री रामजनम चौधरी र सभासद बुद्धिसागर चौधरी मध्ये एकले टिकट पाउने देखिन्छ। दुवैतर्फ थारु समुदायको मत विभाजन हुने आशले एमाले उत्साहित भएको देखिन्छ। उसले भोट विभाजन भयो भने आफ्नो उम्मेदवार जित्ने आश गरेको छ।

नेकपा एमाले टीकापुर नगर कमिटी अध्यक्ष ध्रुव खत्रीले थारु उम्मेदवार धेरै भए थारु समुदायको भोट विभाजन हुने र जित्न सहज हुने बताए। उनले एमालेको जित्ने आधार यति मात्रै नभइ राष्ट्रिय माहौल नै आफ्नो पार्टीको पक्षमा देखिएको दाबी गरे। उनले राष्ट्रिय एजेण्डा बोकेको ठूलो पार्टी भएकाले पनि जित निश्चित रहेको बताए। ‘थारु उम्मेदवार धेरै भए सहज हुन्छ भन्ने हो’ उनले भने, ‘तर देशैभरको माहौल हाम्रो पक्षमा छ।’

उनले जातीय नाराले प्रभाव पारे मात्रै आफ्नो पार्टीको उम्मेदवारलाई जितका लागि केही असहज हुने बताए। एमालेले टीकापुर नगरपालिकाका यसअघिका प्रमुख तपेन्द्र रावल, पूर्व सञ्चारकर्मी सम थापा र शिलु खतिवडाको नाम उम्मेदवार सिफारिस गरेको छ। केन्द्रले तीन जना मध्ये एकलाई अघि सार्ने बताइएको छ।

स्रोतका अनुसार खतिवडाको नाम केन्द्रको निर्देशन अनुसार प्रकृया पर्‍याउनका लागि मात्रै सिफारिस गरिएको हो। उम्मेदवारका रुपमा रावल र थापा मध्ये एक मैदानमा उत्रिने सम्भावना छ। यसअघि पाँच वर्ष टीकापुर नगरपालिकाको कमाण्ड सम्हालेका रावल प्रति मतदाता त्यत्ति उत्साहित छैनन्। नगरपालिकामा खाशै उपलब्धीमूलक काम गर्न नसकेको जनगुनासो व्यापक छ।

स्रोतका अनुसार उनले प्रमुख भएर काम गर्न नसकेकै कारण स्थानीय तहको निर्वाचनमा पार्टीले नदोहोर्‍याएको हो। ‘जितेका धेरैजसो ठाउँमा मेयर दोहोरिएका छन्’ स्रोतले भन्यो–‘तर रावलका हकमा काम गर्न नसकेको मूल्यांकन छ।’ तर रावलले आफू जित्ने दाबी गरे। उनले नगर प्रमुखको अनुभवले समेत आफूलाई पार्टीले उम्मेदवारका रुपमा अघि सार्ने बताए।

उनले नगर प्रमुख भएर उत्साहका साथ आफ्नो कार्यकाल सम्पन्न गरेको दाबी गरे। ‘उत्साहका साथ काम गरेको अनुभव छ’ उनले भने, ‘केन्द्रले जे निर्णय गर्नेछ, राम्रो गर्नेछ।’ उनले नागरिक उन्मुक्ति सैद्धान्तिक आधार नभएको जातीय पार्टी भएकोले जनमासमा पार्टी प्रति सकारात्मक सन्देश प्रवाह नभएको बताए।

त्यस्तै उम्मेदवारका लागि सिफारिस भएका थापाले चुनावी मैदानमा उत्रिन तयारी अवस्थामा रहेको बताए। उनले २०७४ को आमनिर्वाचनमा रेशमलाल चौधरीले पाएको मत भन्दा स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्तिबाट जितेका वडाध्यक्षले पाएको भोट घटेको बताए। ‘रेशमले ३४ हजार भोट पाएको हो तर अहिले वडाध्यक्षको भोट जोड्दा १७ हजार मात्रै हुन्छ’ उनले भने, ‘जातीय नाराले हामीलाई कुनै फरक पर्दैन।’

उनले आफूले टिकट पाउने र जित्ने सम्भावना बलियो रहेको बताउँदै राष्ट्रिय राजनीतिको माहौल पनि एमाले तर्फ मोडिएको बताए। २०५१ को मध्यावर्ती निर्वाचनमा एमालेका हिमाञ्चलराज भट्टराई विजयी भएका थिए। २०५५ को स्थानीय निर्वाचनमा टीकापुर नगरपालिकाको प्रमुखमा एमालेकै रत्नप्रसाद सन्ज्याल र उपप्रमुखमा लालबहादुर चौधरी विजयी भएका थिए।

सो निर्वाचनमा धेरैजसो वडाध्यक्ष समेत एमालेले नै जितेको थियो। तर त्यसपछिका निर्वाचनमा भने एमालेको जनधार खस्किएको देखिन्छ। थारु समुदायमा त एमालेको उपस्थिति निकै कमजोर भएको छ। उपप्रमुख चौधरीलाई एमालेले पटकपटक अघि सार्न खोजे पनि उनी तयार भएनन्। त्यस यता एमाले र थारु समुदायबीचको दूरी टाढा भएको स्रोतको भनाइ छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा रावलले जितेपछि एमाले उत्साहित भएको थियो। तर उनले अपेक्षा गरे अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रै तीव्र आलोचना भएपछि एमालेले आफू कमजोर रहेको मूल्यांकन गरेको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारले संगठित सदस्य बाहेकको मत आकर्षित गर्न नसकेपछि एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समेत त्यस्तै अवस्था दोहोरिने आशंका गरेको छ।

प्रकाशित: १० आश्विन २०७९ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App