७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिले गरेको भुल जीवनभरी पश्चाताप गरेर पनि सुधार्न सक्नु हुन्न: बामदेव गौतम

नेपालगन्जमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बामदेव गौतम। तस्बिर: अर्जुन/नागरिक

‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक बामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठुलो भुल गरेको बताएका छन्। नेपालगन्जमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्वउपप्रधानमन्त्री समेत रहेका नेता गौतमले यो भुललाई राष्ट्रपतिले जीवनभरी पश्चाताप गरेर पनि सुधार्न नसक्ने ठोकुवा गरे।  

‘सर्बोच्च अदातले कारण देखाउ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाउ आदेश सर्वाेच्च अदालतले माग्नुको अर्थ के हो भने राष्ट्रपतिको शिर झुक्यो, जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भुमिका खेलेका छन्,’ उनले भने ।

आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै नगरेको नेता गौतमले जोड दिए। उनले थपे, ‘राष्ट्रपतिले त्यो गर्नै नहुने सोच्नु भयो र गर्नुपर्ने काम गर्नु भएन, आफ्नो कर्तब्य निर्वाह गर्नु भएन, त्यो कर्तब्यलाई संबिधानले किटान गरेको छ ।’  

नागरिकता विधेयकमा राष्ट्रपतिले परम कर्तब्य निर्वाह गर्न नसकेको पुर्वगृहमन्त्री समेत रहेका गौतमले बताए। ‘परम कर्तब्य भनेको त्यो भन्दामाथी अर्को छैन, उहाँले आफै सोचनुपर्छ, उहाँबाट यस्तो भुल भएको छ, जुन भुल त्यो कुर्सीमा बसेको ब्यक्तिले कहिल्यै गर्नु हुन्न,’ उनले भने ‘त्यस्तो भुल भइसकेपछि के गर्नुपर्छ, राष्ट्रपतिले नै गर्नुपर्छ, अझ गर्नु हुदैन भने अझ धेरै भुल गर्दै जानु हुन्छ ।’

एक पटक फर्काएको विधेयक सदनले फेरी राष्ट्रपति समक्ष प्रमाणिकरण गर्न पठाइसकेपछि प्रमाणिकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले जोड दिए। ‘उहाँ (राष्ट्रपति)ले सोच्न पनि सक्नु हुन्न, उहाँले आफ्नो विवेक प्रयोग गर्न पनि पाउनु हुन्न, उहाँले छाप लगाउनै पर्छ, त्यो छाप उहाँको जीवनको सबभन्दा माथिल्लो स्तरको कर्तब्यको पालना हो ।’ राष्ट्रपतिको कुर्सीमा बसेको ब्यक्तीले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा त्यस्तो ठाउँमा राष्ट्रपति चुकेको गौतमको ठहर छ ।

सञ्चारकर्मीको नेता गौतमले प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर जवराविरुद्ध महाअभियोग दर्ता गरेर अपराध गरेको आरोप लगाए। ‘अहिले महाअभियोग लगाउनेहरुले एउटा ब्यक्तिलाई लगेर बीचमा झुण्ड्याइदिनुभयो, न माथी जान सकेको छ, न तल झर्न सकेको छ,’ उनले भने ‘महाअभियोग संबिधान बमोजिम छ, तर महाअभियोग लाग्नको निम्ति लगाइएको हो र ? अरु कुनै उद्देश्यको निम्ति लगाइएको हो ।’  

जतिसुकै पुष्टी भएपनि पक्ष र विपक्षमा मतदान गरेर दुई तिहाई बहुमतले लागेका आरोप पुष्टी नगर्दा सम्म महाअभियोग नलाग्ने पुर्वगृहमन्त्री गौतमको जिकिर छ। महाअभियोग नलाग्दै जवरालाई महाअभियोग जस्तै गरेर सिध्याउने कोसिस भएको बताए।  

अर्को प्रसंगमा राष्ट्रिय सभामा आफ्नो स्तरको कुनैपनि नेता नभएको उनले सुनाए। ‘किनकी म राजनीतिक प्राणी हो, मेरो जीवनको सुरुवात राजनीतिबाटै भयो, मेरो उद्देश्य नेकपालाई पुनःस्थापित गर्ने हो, आजसम्म पनि मैले त्यो काम छोडेको छैन,’ गौतमले भने। आफूले लागे पुगेसम्म विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनःब्यूझाउने बताए। राष्ट्रिय सभामा बसेर नेकपा ब्युझाउन नसकेको बताउँदै भने, ‘राष्ट्रिय सभामा त्यो स्तरको माहोल नै छैन, फेरी पनि लाग्ने हो भने एकता गर्न सम्भव छ।’  

प्रकाशित: ९ आश्विन २०७९ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App