coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘अख्तियारको पुच्छर काटिएको छ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अहिलेको समयमा अख्तियारको पुच्छर काटिएको टिप्पणी गरेका छन्। उनले कमजोर भएको अख्तियार बलियो हुन सके मात्र भ्रष्टाचार नियन्त्रणमा धेरै सुधारका काम गर्न सकिने पनि बताए।  

मानवअधिकार पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको ‘भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे नीतिगत संवाद’ कार्यक्रममा उपाध्यायले अहिले न्यायपालिका र व्यवस्थापिका कार्यपालिकाको कब्जामा रहेको बताए। कार्यपालिकाले ‘राज्य कब्जा’ गरेको उनको भनाइ थियो। देश अप्ठेरोमा पर्ने मुख्य कारण भ्रष्टाचार नै भएको उनले बताए। उनले राज्य कब्जाका कारण संवैधानिक निकायहरूमा गतिलो मान्छे नियुक्ति गर्नै गाह्रो भएको बताए। ‘राज्य कब्जाको अवस्थामा छ। व्यवस्थापिका र न्यायपालिका कब्जामा छन्। यो नै नेपालमा भ्रष्टाचारको उदाहरण हो’, उपाध्यायले भने, ‘राज्यका निकायहरू नै नियन्त्रणमा लिने काम भइरहेको छ।’

अवस्थामा छ। व्यवस्थापिका र न्यायपालिका कब्जामा छन्। यो नै नेपालमा भ्रष्टाचारको उदाहरण हो। राज्यका निकायहरूलाई नै नियन्त्रणमा लिने काम भइरहेको छ। – सूर्यनाथ उपाध्याय पूर्वप्रमुख आयुक्त, अख्तियार

उनले भ्रष्टाचारका कारण मुलुकमा भद्रगोल सिर्जना भएको र संविधान नै नटेर्ने अवस्था आउन लागेको बताए। उनले भने, ‘संवैधानिक परिषद्ले नियुक्ति गर्ने ठाउँमा नै सेटिङ हुने गरेको छ। तेरो मान्छे राखेर सेटिङ कसरी मिलाउने भन्ने छ। देश अप्ठेरोमा पर्ने कारण भ्रष्टाचार नै हो।’ उनले इच्छाशक्ति कमीका कारण अख्तियारले काम गर्न नसकेको टिप्पणी गरे।  

कार्यक्रममा भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्र नेपाल भए पनि कार्यान्वयन पक्ष निकै कमजोर रहेको विज्ञहरूले बताए। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले देशमा सरकारले नै ‘डकैती’ गरेको बताए। सत्तामा जाने नेताहरूले गैरकानुनी काम गरिरहेको भन्दै पूर्वन्यायाधीश उनले त्यसलाई डकैतीको संज्ञा दिए। उनले आफू विशेष अदालतमा हुँदा थुप्रै जिम्मेवार व्यक्ति मुद्दामा सफाइ दिन भन्दै आउने गरेको प्रसंग सुनाए। उनले अहिलेको चुनाव पद्धतिले पनि भ्रष्टाचार बढेको बताए।  

देशमा सरकारले नै डकैती गरिरहेको छ। सत्तामा जाने नेताहरूले गैरकानुनी काम गरिरहेका छन्। त्यो नै डकैती हो। म विशेष अदालतमा हुँदा थुप्रै जिम्मेवार व्यक्ति मुद्दामा सफाइ माग्न आउँथे। – गौरीबहादुर कार्की पूर्वन्यायाधीश

कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले मान्छेमा इमानदारी हराउँदा भ्रष्टाचार बढेको बताए। उनले चुनाव जित्नकै लागि धेरै रकम खर्च गर्दा पनि भ्रष्टाचार बढेको बताए। ‘देशमा हरेक चिजमा कमिसन छ। सय रूपैयाँको रिचार्ज कार्डमा पनि २ रूपैयाँ कमिसन छ। मैले मन्त्री हुँदा यस्तै खालका कमिसन राज्यकोषमा ल्याउने तयारी गरेको थिएँ। काम गर्न दिएनन्,’ उनले भने। सार्वजनिक खरिद ऐनको कमजोरीमा टेकेरै देशमा भ्रष्टाचार हुने गरेको उनले बताए। ‘बेइमानी गर्ने सबैलाई कानुनी कठघरामा ल्याउनैपर्छ’, उनले भने।

प्रकाशित: ९ आश्विन २०७९ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App