६ वैशाख २०८१ बिहीबार
राजनीति

नागरिकता विधेयक प्रमाणीकरण भएको भए नेपाली उद्योगी व्यापारी नाङ्लो पसलेमा परिणत हुन्थे: प्रेम सुवाल

नेपालगन्जमा शनिबार आयोजित कार्यक्रममा नेमकिपा नेता प्रेम सुवाल लगायत।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गर्दै आगामी निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको चुनावी सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल मजदुर किसान पार्टी बाँकेको शनिबार नेपालगन्जमा दोस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले पाँच दलीय गठबन्धन सरकारमा बसेर हुने चुनाव निष्पक्ष नहुने जिकिर गरे। सरकारी पदको दुरुपयोग गरी हुने निर्वाचनको निष्पक्ष माथी उनको शंका छ।

निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउने पार्टीका उम्मेदवारी खारेज हुने व्यवस्था गर्नुपर्ने माग गरे। ‘तीन प्रतिशत मत नआएकालाई राष्ट्रिय पार्टीमा मान्यता नदिने होइन, सरकारमा गएर घोषणापत्र अनुसार काम नगर्ने पार्टीलाई पछिल्ला चुनावमा भाग लिन नपाउने व्यवस्था गरिनुपर्छ,’ सुवालले भने।

उनले नेपाली जनताले विरोध गरेकै कारण नागरिकता संशोधन विधेयकमा राष्ट्रपतिबाट प्रमाणीकरण नभएको बताए। ‘राष्ट्रपतिको यो कदमको विरोध गर्ने उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधान न्यायाधीश लगायत देशभक्त होइनन्, बरु नेपाललाई सिक्किम जस्तै बनाउन चाहने देशद्रोही हुन्, राष्ट्रपतिको अनुपस्थितिमा मात्र उपराष्ट्रपतिको भूमिका रहने हो,’ सुवालले थपे ‘नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण भएको भए अबको एक/दुई चुनावपछि ट्रम्प र वाइडेनका छोरा छोरी र नाती नातिना नेपालको प्रधानमन्त्री र मन्त्री हुने बाटो खुल्थ्यो र नेपाली उद्योगी व्यापारी नाङ्लो पसलेमा परिणत हुन्थे।’

यस्तै पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले नेमकिपा क्रान्तिकारी भूमिसुधारको पक्षमा रहेको उल्लेख गर्दै पुस्तौंदेखि जमिन जोत्दै आएका किसानलाई जग्गाको स्वामित्व प्रदान गर्दा कृषि उत्पादकत्व बढ्ने बताए।

प्रकाशित: ८ आश्विन २०७९ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App