८ वैशाख २०८१ शनिबार
राजनीति

कैलाली-१ बाट निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी लड्ने

आगामी आमनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा निलम्वित सांसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई अघि सार्ने भएको छ।  

पार्टीको अध्यक्ष समेत रहेकी श्रेष्ठ २०७४ को आमनिर्वाचनमा आफ्ना श्रीमान चौधरी विजयी भएको क्षेत्रबाटै चुनावी मैदानमा होमिने तयारीमा छन। चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अत्याधिक मत सहित विजयी भएका थिए। उनले तत्कालीन अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट ३४ हजार ३४१ मत ल्याएका थिए। अन्य सबै प्रतिस्पर्धीको मत जोडे पनि उनको बराबर पुग्दैन थियो।

पार्टी प्रवक्ता दामोदर पण्डितले श्रेष्ठको उम्मेदवारी निश्चित भएको बताए। उनले श्रेष्ठको विकल्पका बारेमा पार्टीमा कुनै छलफल नै नभएको जानकारी दिए। ‘अरुका बारेमा सोचेका पनि छैनौं’ उनले भने,‘पार्टी अध्यक्ष नै हाम्रो उम्मेदवार हो।’

उनले कैलालीका अन्य चार निर्वाचन क्षेत्रमा समेत उम्मेदवारको लगभग टुंगो लागेको बताए। उनका अनुसार क्षेत्र नं. २ मा अरुण चौधरी, क्षेत्र नं. ३ मा गंगा चौधरी, क्षेत्र नं. ४ मा कैया चौधरी र क्षेत्र नं. ५ मा लक्ष्मण थारु रहेका छन। उनले असोज १६ गते पछि मात्रै पार्टीले आधिकारिक निर्णय गर्ने बताए।  

‘अहिलेसम्म यिनै नाममा सहमति भएको छ’ उनले भने–‘क्षेत्र नं. १ बाहेकमा कुनै परिस्थितिमा फेरबदल पनि हुनसक्छ।’ पार्टीले प्रतिनिधि सभाको उम्मेदवारको लगभग टुंगो लगाए पनि प्रदेशको उम्मेदवारका हकमा भने कुनै सहमति जुटाउन सकेको छैन। प्रदेशमा लड्ने आकांक्षी धेरै भएपछि पार्टीले कसैको नाममा सहमति जुटाउन नसकेको स्रोतले बताएको छ।  

प्रवक्ता पण्डितले प्रदेशका हकमा कुनै सहमति नभएको बताए। उनले छलफलकै क्रममा रहेकाले असोज १६ गते भित्र नाम टुंगो लाग्ने जानकारी दिए। ‘प्रदेशको उम्मेदवारका हकमा अहिले कसैको नाममा सहमति भएको छैन’ उनले भने, ‘हामी छलफलमै छौं।’ पार्टीले कैलालीको क्षेत्र नं. १, २ र ३ मा प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट जित्ने दावी गरेको छ। उसले क्षेत्र नं. ४ र ५ मा प्रतिनिधित्व मात्रै हुने आँकलन गरेको छ।  

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकामा जित हात पारेपछि पार्टीको दावी सत्यता नजिक रहेको विश्लेषण गरिन थालिएको छ। पार्टीले टीकापुर नगरपालिकाको प्रमुख लगायत अधिकांश वडाध्यक्ष र भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडाध्यक्ष जितेको छ। त्यस्तै जानकी र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडाध्यक्ष जितेको छ।  

पार्टीले थारु समुदायको हकअधिकारलाई प्रमुख मुद्दा बनाएको छ। उसले टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा जेल जीवन बिताईरहेका निलम्वित साँसद चौधरीको मुद्दालाई समेत अघि सारेको छ।  

स्थानीय निर्वाचनमा यिनै मुद्दाका आधारमा पार्टीले थारु समुदायको मत एकलौटी पाएको हो।  यहाँ थारु समुदायको मतदाता संख्या लगभग अन्य समुदायको बराबरी छ।  

मंसिर ४ गते सम्पन्न हुने आमनिर्वाचनमा भने पार्टीले थारु समुदायको मात्रै नभई केही पहाडी समुदायको समेत मत पाउने अनुमान गरिन्छ। पछिल्लो समय विभिन्न राजनीतिक दलमा आवद्ध केही पहाडीया समुदायका नेताहरु सो पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित: ७ आश्विन २०७९ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App