coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जिएसआईलाई सम्बोधन परराष्ट्र नीतिविपरीत

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ। कुनै पनि सुरक्षा छातामा संलग्न नहुने नेपालको परराष्ट्र नीतिविपरीत राष्ट्रपतिले उक्त सम्मेलनलाई सम्बोधन गरेको भन्दै असन्तुष्टि जनाइएको हो।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिविपरीत जिएसआई सम्मे–लनलाई सम्बोधन गर्नुलाई कूटनीतिक मामिलाका कतिपय जानकारले अपरिपक्व निर्णय भनेका छन्। यसले नेपालले अवलम्बन गर्दै आइरहेको असंलग्न परराष्ट्र नीतिको उल्लंघन भएको उनीहरूको ठहर छ। राष्ट्रपति भण्डारीले सम्बोधन गरेर पठाएको रेकर्डेड भिडियो बुधबार जिएसआई सम्मेलनमा प्रसारण गरिएको थियो।

सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई प्रस्ताव आएपछि सरकारले उक्त कार्यक्रम चिनियाँ सुरक्षा छातासँग जोडिएकाले नेपालको परराष्ट्र नीति प्रतिकूल हुने भन्दै नजान सुझाव दिएको थियो। तर राष्ट्रपति भण्डारीले भने सरकारी अधिकारीहरूको आग्रहको बेवास्ता गर्दै जिएसआई सम्मेलनलाई रेकर्डेड भिडियो मार्फत सम्बोधन गरेकी थिइन्।

भण्डारीको भिडियो सम्बोधनमा भने नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने र यस्ता गठबन्धनको विपक्षमा रहेको बताइएको छ। उनले नेपालले असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गरेको उल्लेख गर्दै त्यसबारे प्रस्ट पारेकी छन्। राष्ट्रपति भण्डारी भर्चुअल रूपमा सहभागी भएको उक्त कार्यक्रमबारे परराष्ट्र मन्त्रालयसहितका सरकारी निकायले औपचारिक रूपमा भने कुनै जानकारी गराएका छैनन्।

सामान्यतया राष्ट्रप्रमुखले सम्बोधन गरेका कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयले औपचारिक रूपमा जानकारी गराउने प्रचलन भए पनि त्यस्तो गरिएको छैन। राष्ट्रपतिको सम्बोधनबारे परराष्ट्र मन्त्रालयलगायत निकायले औपचारिक जानकारी नगराउनुले पनि अन्य सरकारी निकाय राष्ट्रपतिले चिनियाँ सुरक्षा छातासम्बन्धी कार्यक्रममा सहभागी भएको विषयमा असन्तुष्ट रहेको संकेत गर्छ।

पछिल्लो समय संसद्बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सरकार र राष्ट्रपतिबीचमा ‘टसल’ बढिरहेको छ। त्यही बीचमा राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्रनीतिविपरीत सरकारको सुझावलाई समेत बेवास्ता गर्दै उक्त कार्यक्रममा सहभागी भएको विषयले राष्ट्रपति र सरकारबीचको द्वन्द्वलाई अझ बढाउने काम गरेको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App