७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौं महानगरले पर्व लक्षित बजार अनुगमन गर्ने

काठमाडौँ महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन गर्ने भएको छ। बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको हो। अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछन्।  

बैठकमा बोल्दै उपप्रमुख डंगोलले, पर्वंमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अबाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व रहेको बताइन्। ‘सूचकका आधारमा अनुगमन गरौँ। पूर्वाधार निर्माण, महानगरमा दर्ता हुने उजुरी तथा गुनासोसँग सम्बन्धित विषय महानगरले गर्नु पर्ने अनुगमनका क्षेत्रहरु धेरै छन्।’ उनले भनिन्।, ‘अहिले हामी दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजारलगायतका क्षेत्रमा केन्द्रीत हुनुपर्छ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, जनताको दैनिकी जीविकासँग सम्बन्धित क्षेत्रमा सरोकारवाला निकायसँगको समन्वयमा अनगुमन गर्नुपर्नेमा जोड दिए। ‘अनुगमनको जिम्मेवारी प्राप्त गरेका निकाय आफू एक्लै सबै क्षेत्रमा पुग्न सम्भव हुँदेन। त्यसैले क्षेत्र निर्धारण र विभाजन गरेर अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ।’ अधिकारीको भने। त्यस क्रममा वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक महेश भट्टराईले, स्थानीय बजार व्यवस्थापनका लागि महानगरको नेतृत्वमा हुने कामलाई विभागले सहयोग गर्ने धारणा राखे। बैठकमा सहभागी वडाध्यक्ष राजेन्द्र मानन्धरले अनुगमनले खाद्यबस्तुमा हुने मिसावट र चर्को मूल्य रोक्न सक्नु पर्ने बताए। 

काठमाडौँ महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौ महानगरपालिका वजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ। स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ। यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ।

प्रकाशित: ६ आश्विन २०७९ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App